प्रधानपञ्च हजुरबुबाको प्रेरणाले बडिगाड हाँकिरहेकी गण्डकी – Nepal Press
उदाहरणीय महिला जनप्रतिनिधि–३

प्रधानपञ्च हजुरबुबाको प्रेरणाले बडिगाड हाँकिरहेकी गण्डकी

पोखरा । २०७४ सालको स्थानीय तह निर्वाचनअघि उम्मेदवारका लागि छलफल चल्दै थियो, बागलुङ कांग्रेसमा । तत्कालीन जिल्ला सहसचिव गण्डकी थापाले बडिगाड गाउँपालिका अध्यक्षको टिकट मागिन् । उनको माग पार्टी पंक्तिका लागि अप्रत्याशित थियो । कसैले उनलाई विश्वास गरेनन् र पत्याउनै सकेनन् । त्यति बेला उनी शिक्षण पेसाको स्थायी जागिरे थिइन् ।

‘मैले पार्टीमा उम्मेदवार बन्ने इच्छा जाहेर गरें । त्यसपछि शिक्षक जस्तो मान्छे यत्तिकै हामीलाई खेल्न टिकट मागेकी हो, कहाँ राजीनामा दिएर आउँछे भनेर नेताहरूले भन्नुभयो’, गण्डकी सम्झिन्छिन् ।

गण्डकीले स्थायी जागिर छोडेर चुनावमा उम्मेदवार बन्छिन् भनेर कांग्रेस नेताहरुले विश्वाससमेत गरेका थिएनन् । तर, गण्डकी भने टिकट सुनिश्चित भए राजीनामा दिने निर्णयमा पुगिसकेकी थिइन् ।

‘नेताहरूले विश्वास गर्नुभएको थिएन । तर, टिकट पाए भने राजीनामा दिएर मैदानमा उत्रिन्छु भनेर मेरो मनले निर्णय गरिसकेको थियो’, उनले भनिन् ।

परिवारबाट ‘ग्रिन सिग्नल’ पाएकी गण्डकी राजीनामा दिन तत्कालीन जिल्ला शिक्षा अधिकारीकहाँ पुगिन् । ‘मान्छेलाई स्थायी बन्न कति मेहनत गर्नुपर्छ । तपाईं स्थायी भइसकेका मान्छे त्यही पनि ११ वर्ष गरिसक्नु भएको छ । राजीनामा दिनुअघि एक पटक सोच्नुस्’, जिशिअले सम्झाउने कोसिस गरे । तर, उम्मेदवार बन्ने निश्चय गरेकी गण्डकी पछि हटिनन् । उनको दृढतासामु जिशिअको केही लागेन, राजीनामा स्वीकृत गर्न बाध्य भए ।

२०५४ सालमा अस्थायी शिक्षकका रूपमा शिक्षण पेसामा प्रवेश गरेकी गण्डकीले २०६३ सालमा स्थायी कोटामा नाम निकालेकी थिइन् । टिकट पाउने आशामा उनले २० वर्षे शिक्षण पेसालाई त्यहीनेर विसर्जन गरिन्, राजनीतिक बाटोमा मोडिइन् ।

‘सामाजिक काम गर्न मन लाग्ने । अब त्यो विद्यालय भनेको त पढाउने र लेखाउनेबाहेक अरू धेरै कुरा नहुने र नितान्त अभिभावक र अभिभावकका छोराछोरीसँग मात्रै बढी सामिप्य हुने भयो । त्यसैले राजनीतिमा आउन मन लाग्यो’, उनी सुनाउँछिन्, ‘अरू बाहिरी क्षेत्रमा काम नहुने भयो । त्यो कारण पनि मेरो लागि त्यो एरिया साँघुरो भयो कि जस्तो फिल गरें ।’

राजीनामा स्वीकृत पत्र लिएर गण्डकी पार्टी कार्यालयमा पुगिन् । पत्र देखाएपछि मात्र साँच्चिकै रहेछ भनेर नेताहरूले विश्वास गरेको उनी बताउँछिन् । तर, टिकट पाउन निकै सकस भएको उनले बताइन् ।

‘त्यो बेला टिकट पाउन निकै सकस भयो । केही दिनसम्म ठूलो बहस भयो, छलफल भयो । यो महिला हो, यसले अध्यक्ष सम्हाल्न सक्छ कि सक्दैन ? यसले जित्छ कि जित्दैन ?’, उनले थपिन्, ‘मैले धेरै लडेर टिकट ल्याउँदै गर्दा दाँतबाट पसिना आएको थियो । पहिला त महिला भनेर विश्वासै गरेनन् । मैले गर्न सक्छु भनेर यत्रो जागिर छोडेर आइसकेपछि तपाईंहरुले टिकट दिनैपर्छ भनेपछि बल्लतल्ल टिकट पाएँ ।’

टिकट पाएपछि कांग्रेसबाट बडिगाड गाउँपालिका अध्यक्ष उम्मेदवार बनेकी गण्डकी सफल भने हुन सकिनन् । उनी उक्त निर्वाचनमा मेहरसिंह पाइजासँग ५२२ मतान्तरले पराजित भइन् । पार्टीकै अन्तरघातले आफू झिनो मतान्तरले पराजित भए गण्डकी दाबी गर्छिन् ।

‘अब यो जागिर छोडेर आएको महिलाले जित्यो भने सधैंभरि हाम्रो लागि अवरोध हुन्छ, महिला अघि बढे भने हाम्रो पालो आउँदैन कि भन्ने कुराले पार्टीभित्रै अन्तघात भयो’, उनले भनिन्, ‘सुरुमा अनुभव पनि भएन । अभिभावक पनि भएनन् । एक्लै चुनाव लडे जस्तो भयो । त्यसकारण हारियो ।’

हारपछि पनि गण्डकी राजनीतिबाट टाढा रहिनन् । उनी अझै राजनीतिकमा क्रियाशील रहिन् । उनले पार्टीको १४औं महाधिवेशनमा ३ पुरुष प्रतिस्पर्धीलाई हराउँदै जिल्ला सचिवमा बाजी मारिन् । जसले उनलाई राजनीतिमा थप क्रियाशील हुन मद्दत पुग्यो ।

उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा फेरि उम्मेदवार बन्ने मनसाय बनाइन् । नभन्दै सत्ता गठबन्धनबाट बडिगाड गाउँपालिका अध्यक्ष कांग्रेसको भागमा पर्‍यो र उनैले टिकट पाइन् । अघिल्लो निर्वाचनभन्दा यसपालि टिकट पाउन सहज भएको गण्डकीले बताइन् ।

‘हिजो त म केही थिएन र पनि लडे भनेपछि अहिले त टिकट दिने ठाउँमा छु । २०७४ सालमा चुनाव हारेको मैले २०७९ मा सजिलै टिकट पाएँ’, उनले भनिन् ।

यसपालि उनले सहजै जीत पनि हासिल गरिन् । उनले अघिल्लो निर्वाचनमा आफूलाई पराजित गरेका मेहरसिंह पाइजाका छोरा राजनलाई एक हजार ५७२ मतान्तरले पराजित गर्दै गाउँपालिका अध्यक्षमा जीतको झण्डा गाडिन् ।

दोस्रो प्रयासमा अध्यक्ष बनेकी गण्डकी इच्छाशक्ति भयो भने कसैले पनि रोक्न नसक्ने बताउँछिन् । ‘महिला पनि कार्यकारिणी पोस्टमा हुन सकियो भने केही गर्न सकिन्छ, निर्णायक तहमा पुग्न सकिन्छ जस्तो लाग्थ्यो आफूलाई’, उनले भनिन्, ‘इच्छाशक्ति भयो भने कसैले पनि रोक्न सक्दैन । न परिवारले रोक्नसक्छ, न समाजले रोक्नसक्छ, न त राजनीतिक दलले ।’

अध्यक्षको रूपमा सल्लाह सबैको लिए पनि निर्णय आफैं गर्ने गरेको गण्डकी बताउँछिन् । उनी भन्छिन्, ‘मेरो कुरा के हो भने मैले सल्लाह सबैको लिनुपर्छ । निर्णय मैले गर्नुपर्छ । कुन सल्लाह ठीक, कुन बेठीक त्यसको मूल्याकंन गरेर निर्णय गर्ने मेरो बानी छ ।’

महिला अरूले गरेको निर्णयलाई नै मान्छन् भन्ने सोच अझै मानसपटलमा रहेको गण्डकी सुनाउँछिन् । ‘सुरुमा त महिलाले केही गर्दैन, निर्णय गर्न सक्ने क्षमता पनि छैन, कसले सिकाउने, अराउने, सल्लाहकार कस्ता आउँछन्, महिला भनेका अरूको खुट्टामा हिँड्छन्, अरूले गरेको निर्णय मान्छन् भन्ने हाम्रो मानसिकता छ । अहिलेसम्म पनि याे गएको छैन’, उनले भनिन् ।

पुनमबाट बनिन् गण्डकी

गुल्मीको तत्कालीन ग्वाघा गाविस- ९ मा जन्मिएकी गण्डकीको पुरानो नाम थियो पुनम । बुवा आमाले छोरीको नाम पुनम राखे पनि हजुरबुवाले नामको अर्थ र सार्थक हुनुपर्ने भन्दै फेरेर गण्डकी राखिदिएका थिए ।

गण्डकीका हजुरबुबा कृष्णबहादुर थापा तत्कालीन ग्वाघा गाविसको १८ वर्षसम्म प्रधान पञ्च भएका थिए । गण्डकीका ससुरा बुबा कृष्णबहादुर अधिकारी पनि प्रधान पञ्च थिए ।

गण्डकी हजुरबुबाको सामाजिक कामले आफू राजनीतिमा आएको बताउँछिन् । ‘हजुरबुवा झोलामा जडीबुटी बोकेर बिरामीको उपचार गर्न गाउँ-गाउँ जानुहुन्थ्यो । अन्न, लत्ताकपडा बोकेर दुःखी र गरिबको घरघरमा पुग्नुहुन्थ्यो’, उनले भनिन्, ‘त्यही देखेर हुर्किएकाले पनि होला, सानैदेखि सामाजिक काम गर्नुपर्छ भन्ने भावना जागेको थियो ।’

शान्तिपुरको उदय उच्च माध्यमिक विद्यालयबाट एसएलसी गरेकी उनी उच्च शिक्षा अध्ययन गर्न काठमाडौं गएकी थिइन् । त्यसलगत्तै वैवाहिक जीवनमा बाँधिन पुगिन् । वैवाहिक जीवनमा बाँधिएर बागलुङको बडिगाड गाउँपालिका- ७ भीमगिठे आएकी उनले उत्तर गङ्गा माध्यमिक विद्यालय बुर्तिबाङबाट उच्च शिक्षा, निशिभुजी जनता क्याम्पसबाट स्नातक र तानसेन बहुमुखी क्याम्पसबाट स्नातकोत्तरको अध्ययन पूरा गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर