आज पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै – Nepal Press

आज पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै

पोखरा । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।

आज औपचारिक कार्यक्रमकाबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।

फेवातालको किनार बाराहीघाटमा  पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्याली र प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा डा मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा हर्क गुरुङ मरणोपरान्त सम्मान, सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व प्रेमप्रकाश मल्ललाई सम्मान गरिने कार्यक्रम राखिएको छ ।

त्यसैगरी वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्याण्ड मुख्य गायक (भोक लिस्ट) विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, गायक प्रकाश सपुत, पोखरेली गायक धर्मेन्द्र सेवानका साथै गण्डकी प्रज्ञा प्रतिष्ठान/पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारको साङ्गीतिक प्रस्तुति रहने छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्मा ‘ब्राण्ड’ बनाउन लागिएको बताए ।

महानगर प्रमुख आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिलगायत दिगो पर्यटन विकासमा टेवा पुग्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर