हुम्लामा कर्णाली किड्स कप २०८१ हुने – Nepal Press

हुम्लामा कर्णाली किड्स कप २०८१ हुने

सिमकोट । नेपालकै पहिलो पटक १२ वर्ष मुनिका बालबालिकाहरूको फुटबल प्रतियोगिताका रूपमा कर्णाली किड्स कप २०८१ को आयोजना हुने भएको छ ।

लोकतन्त्र दिवस २०८१ को अवसर पारेर आगामी वैशाख ७ देखि ११ गतेसम्म हुम्लाको अदानचुली गाउँपालिकामा उक्त कप सञ्चालन गर्ने आयोजक संस्था रेडियो श्री नगरका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिए ।

बालबालिका माथि हुनै सबै खाले हिंसा अन्त्यको नारासहित रेडियो श्रीनगर, माउण्ट एभरेष्ट स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा प्रतियोगिता शुरु हुन लागेको बताएका महताराका अनुसार आधारभूत तहका बालबालिकाहरूको लागि आयोजना गरिएको यो कप नेपालमै पहिलो हो ।

‘गुणस्तरीय शिक्षा, खेलकुद लगायतका अनेक बहानामा कर्णालीका हिमाली जिल्लाहरूबाट बालबालिकालाई विभिन्न शहरमा ओसारपसार गर्ने क्रम नरोकिएपछि त्यसको सन्देश प्रवाह गर्न र गाउँमै गुणस्तरीय शिक्षासहितको खेलकुद प्रदान गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न हामीले पहिलो पटक कर्णाली किड्स कप २०८१ को आयोजना हुम्लाबाटै गर्न थालेका हौं’ प्रतियोगिता घोषणा कार्यक्रममा महताराले भने, ‘यसले बालबालिकालाई खेलकुदप्रति रुचि जगाउने देखि आफूमाथि हुने हिंसा विरुद्धमा आवाज उठाउन समेत मद्दत गर्नेछ ।’

प्रतियोगिता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बालबालिकाको विकास र खेल क्षेत्रमा कर्णाली किड्स कप कोषे ढुंगा साबित हुने बताए ।

विभिन्न बहानामा हुम्ला र कर्णालीका बालबालिकालाई जिल्ला बाहिर पठाउने काम बढी रहेका बेला गाउँमै राष्ट्रिय स्तरको खेलको आयोजना गर्ने, बालबालिकामाथि हुने सबै खाले हिंसाको अन्त्यको लक्ष्यलाई पुरा गर्न सार्वजनिक अपिल गर्ने काम कर्णाली किड्स कपले गर्ने भएकाले यसको महत्त्व बढी भएको हिमाली नवीन समाजको साथ र सहयोग रहने उल्लेख गरे ।

यसै गरी आयोजक संस्था हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले शहर र जिल्ला सदरमुकाममा युवापुस्तामा केन्द्रित फुटबल खेल यो प्रतियोगिताबाट ग्रामीण भेगमा बालपुस्तामा समेत स्थापित हुने बताए । नेपाली खेल क्षेत्रका लागि कर्णाली किड्स कप निकै नमुना हुने बताएका रावतले प्रतियोगितामा विद्यालयहरूको संस्थागत सहभागिता रहने छ ।

प्रथमलाई ३० हजार नगद

‘खेल गाउँको मान्यता संसारको’ भन्ने उद्घोषका साथ साथ आयोजना गर्न लागिएको कर्णाली किड्स कपले प्रथम पुरस्कार नगद ३० हजार प्रदान गर्ने घोषणा आयोजकले गरेको छ ।

१२ वर्ष मुनिका ५ कक्षासम्म अध्ययन गर्ने बालबालिकाहरु प्रतियोगी खेलाडीका रूपमा सहभागिता जनाउने उक्त प्रतियोगितामा दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार नगद १० हजार नगद प्रदान गरिने छ ।

‘शुरुमा प्रथम पुरस्कार ५० हजार राशिको राख्ने लक्ष्य भए पनि पहिलो पटक प्रतियोगिता आयोजना गरेको र ग्रामीण क्षेत्रमा प्रतियोगिता आयोजना गरेका कारण हामीले पहिलो पुरस्कारको राशि ३० हजार राखेका छौँ’ आयोजक नवराज महताराले थपे विजेता विद्यालयलाई नगदसहित ट्रफी, मेडल, प्रमाण–पत्र र प्रतियोगी बालबालिकालाई शैक्षिक सामाग्री पनि प्रदान गरिने छ ।’

कम्तीमा २० वटा विद्यालयको सहभागिता रहने अनुमान गरिएको कर्णाली किड्स कपमा अदानचुली गाउँपालिका, कर्णाली खेलकुद विकास परिषद, हुम्ला जिल्ला खेलकुद विकास समिति, हिमाली नवीन समाज, आधार विकास नेपाल लगायतका संघसंस्थाहरुले पनि साझेदारी गर्ने आयोजक कालीबहादुर थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर