नेकपा एसको अपानिः नयाँ समीकरणपछि मुलुकको राजनीति अचानक बदलियो – Nepal Press

नेकपा एसको अपानिः नयाँ समीकरणपछि मुलुकको राजनीति अचानक बदलियो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रमा तयार भएको नयाँ सत्ता समीकरणले मुलुकको राजनीतिक परिस्थिति अचानक बदलिएको दाबी गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले आइतबार अन्तरपार्टी निर्देशन (अपानि) १३ जारी गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलगायतका दलहरूसँग नयाँ सत्ता समीकरण बनाएपछि मुलुकको तात्कालिक राजनीतिक परिस्थिति अचानक बदलिएको जनाएका छन् ।

नेपाली काङ्ग्रेस सम्बद्ध अर्थमन्त्रीबाट असहयोग भएको, राष्ट्रियसभा निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अन्तर्घात भएको, नेपाली काङ्ग्रेसको महासमिति बैठकमा संविधान विरुद्ध हस्ताक्षर भएकोलगायत कारण देखाउँदै प्रधानमन्त्रीले समीकरण परिवर्तन गरेर चार दलका बिचमा समझदारी गरेपछि मात्रै आफ्नो पार्टीसँग संवाद भएको उनले अपानिमा उल्लेख गरेका छन् ।

‘एकातिर प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने, अर्कोतिर हाम्रो अस्तित्वलाई स्वीकार नगरेको नेकपा एमालेसमेतको नयाँ समीकरणले हामीलाई सरकारमा सहभागी हुन आग्रह गरेको र सरकार सञ्चालनका नीति तथा कार्यक्रमहरूमा हाम्रो पार्टीलाई समानरुपले सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टी सचिवालयले त्यसप्रति सकारात्मक हुँदै वार्ता गर्ने निर्णय गर्‍यो ’ अपानिमा भनिएको छ, ‘वार्ताका क्रममा हामीले उठाएका राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रधानमन्त्रीले सहमति जनाएपछि पार्टीले सरकारमा दुई जना मन्त्री पठाएको छ ।’

अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वाभाविक भए पनि त्यसले अभियान र महाधिवेशन प्रभावित पार्नु हुँदैन भन्ने कुरामा सम्पूर्ण पार्टीपङ्ति स्पष्ट हुन आवश्यक रहेको पनि अपानिमा उल्लेख गरिएको छ ।
हिजो एउटा गठबन्धनमा सरकारमा रहेको र बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा तयार भएको पनि अपानिमा छ ।

‘सारतः हाम्रो पार्टी हिजो एउटा गठबन्धनमा सरकारमा थियो भने आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ’, अपानिमा भनिएको छ, ‘हाम्रा मन्त्रीहरूबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस्, जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियोस् भनेर हामीले प्रयास गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर