सेती लोकमार्ग पहिचानका लागि बौनियामा महोत्सव हुँदै
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० हुने भएको छ । चैत ९ गतेदेखि १८ गतेसम्म आयोजना गरिने महोत्सवको तयारी सुरु गरिएको बौनियामा पत्रकार सम्मेलन गर्दै आयोजक बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले जानकारी दिएको छ ।
निर्माणाधीन सेती लोकमार्ग चाँडै निर्माण सम्पन्न गर्न सरोकारवाला निकायहरूलाई दबाब दिन महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष भरत ताम्राकारले जानकारी दिए । २०४२ सालबाट सेती लोकमार्गको अवधारणा अघि सारिएको भए पनि सरकारकाले काम अघि बढाउन सकेको छैन ।
‘यस क्षेत्रको विकासको ठुलो सम्भावनाको ढोका खोल्ने लोकमार्गको निर्माण कछुवा गतिमा भइरहेको छ । हामीले निर्माणमा तीव्रता दिन दबाब दिन महोत्सवको आयोजना गर्न लागेका हौँ’, पत्रकार सम्मेलनमा उनले भने ।
बर्दगोरिया धामलाई चिनाउनु पनि आफूहरूको उद्देश्य रहेको उनले बताए ।
महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरूसहित सुदुरपश्चिमका चर्चित देउडा कलाकारहरूको प्रस्तुति रहने छ । कला संस्कृति र पर्यटनलाई उजागर गर्नका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाका महासचिव लोकु सिंह ठकुरीले बताए ।
महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ थारु गाउँ, देउडा, थारु नाच लगायत विभिन्न संस्कृति झल्किने प्रस्तुतिसँगै ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।
टिकटबाट उठेको प्रति टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई उपलब्ध गराउने आयोजकले जनाएको छ ।