हरिपुर नपाकी तत्कालीन उपमेयरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

हरिपुर नपाकी तत्कालीन उपमेयरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल र वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

तत्कालीन उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृतसँगै वडा नम्बर १ का तत्कालीन अध्यक्ष कुमार लामा, वडा सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, नगरपालिकाका इन्जिनियर रञ्जित साह, सब-इन्जिनियर सञ्जीव चौधरी, नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शमशेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मालाकुमारी देवीविरुद्ध विशेष अदालत काठमाडौंमा आयोगले मुद्दा दायर गरेको हो ।

उनीहरुले आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाको वडा नम्बर १ स्थित लखनदेही खोलामा तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेल, इन्जिनियर साह, सब-इन्जिनियर चौधरीविरुद्ध ८५ लाख १८ हजार ६३२ रुपैयाँ विगो दाबी गरिएको छ ।

यस्तै उपमेयर काफ्ले, सदस्य बलम्पाकी, सदस्य कुमार, वडा अध्यक्ष लामालाई कैद र जरिवानासमेतको सजाय हुन माग दाबी गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष बस्नेत, सचिव घिसिङ र कोषाध्यक्ष देवीविरुद्ध ८५ लाख १८ हजार ६३१ रुपैयाँ विगो दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *