भोजपुर टक्सारका आगलागी प्रभावितलाई राहत
भोजपुर । आगलागीबाट घरबारविहीन बनेका टक्सारका स्थानीयलाई प्रदेश सांसद तथा नेपाली कांग्रेसका भोजपुर सभापति विनोद वान्तवा र भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेसहित वडाबाट राहत सामग्री सहयोग गरिएको छ ।
गत शनिबार नजिकैको जङ्गलमा लागेको डढेलो बस्तीमा आउँदा घरबार गुमाउने भोजपुर नगरपालिका–१२, मालबाँसेका अग्नि प्रभावितलाई सोमबार घटनास्थलमा नै पुगेर राहत सामग्री वितरण गरिएको भोजपुर नगरपालिका–१२ का वडाध्यक्ष देवीप्रसाद कार्कीले जानकारी दिए ।
नगरपालिकाका तर्फबाट पाँच परिवारलाई एक बोराका दरले चामल, एक कार्टुन तेल, साबुन, चिनी र नुन वितरण गरिएको छ । यसैगरी, प्रदेश सांसद वान्तवाका तर्फबाट पनि पाँच बोरा चामल र प्रतिपरिवार एक लिटर तेल वितरण गरिएको छ ।
वडा नं १२ टक्सारले खानेपानीका लागि ड्रम र बसोबासमा समस्या भएका दुई अग्निपीडित परिवारलाई चार बन्डेल जस्तापाता सहयोग गरेको छ । तत्कालका लागि पीडित परिवारलाई राहत दिनका लागि यी सामग्री वितरण गरिएको भोजपुर नगरपालिका प्रमुख आलेले बताए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले पनि आवश्यक सामग्री सहयोग गरेको सभापति तुलबहादुर सुब्बाले जानकारी दिए । आगलागीबाट स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीलगायत परिवारलाई राहत उपलब्ध गराइएको हो । आगलागीबाट सात घर पूर्णरुपमा जलेर नष्ट भएको भए पनि दुई घरमा भने बसोबास थिएन ।
यसैगरी, आगलागीबाट १० वटा गोठसमेत जलेर नष्ट हुँदा एक करोड तीन लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन भएको छ ।