शालीनको आत्महत्या दुरुत्साहनको अभियोग लागेका तीन शिक्षकलाई धरौटीमा छाड्ने आदेश – Nepal Press

शालीनको आत्महत्या दुरुत्साहनको अभियोग लागेका तीन शिक्षकलाई धरौटीमा छाड्ने आदेश

चितवन । जिल्लाको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनकी छात्रा शालीन पोखरेलको मृत्युपछि हिरासतमा रहेका तीन जना शिक्षकलाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले शालीन मृत्यु प्रकरणमा पक्राउ परेका विद्यालयका तीन शिक्षकलाई धरौटी जमानीमा छोडेर मुद्दा अघि बढाउन आदेश गरेको हो ।

सोमबारदेखि भएको थुनछेक बहसपछि न्यायाधीश ज्ञवालीले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटालाई तीन लाख, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्राबासका वार्डेन कमलप्रसाद शर्मालाई पाँच-पाँच लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले तीनै जना शिक्षकविरुद्ध शालीनको मृत्युमा आत्महत्या दुरुत्साहनको अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।

गत फागुन १२ गते विद्यालयको होस्टलमा मृत भेटिएकी शालीनका बाबु दीपेन्द्र पोखरेलले भने हत्या अभियोगमा जाहेरी दिएका थिए । चितवन प्रहरीले हत्या अभियोगमा अनुसन्धान गर्दा प्रमाण नपुगेपछि सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको थियो ।

तीनै जना शिक्षक किटानी जाहेरी परेकै दिन फागुन १५ गतेदेखि प्रहरी हिरासतमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर