दुर्गा प्रसाईंको बन्दुकले प्रहरी तरंगित, लाइसेन्स देखाउँदा पनि छुटेनन् अंगरक्षक – Nepal Press

दुर्गा प्रसाईंको बन्दुकले प्रहरी तरंगित, लाइसेन्स देखाउँदा पनि छुटेनन् अंगरक्षक

कस्तो अवस्थामा कस्ता हतियार राख्न प्रशासनबाट अनुमति पाइन्छ ?

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकबाट स्वचालित बन्दुक बरामद भएपछि गृह मन्त्रालय र प्रहरी तरंगित बनेका छन् । बन्दुकको बकाइदा लाइसेन्स देखाउँदा पनि पक्राउ परेकाहरुलाई छोडिएको छैन ।

सोमबार हतियारसहित सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए ।

उनीहरुलाई हातहतियार तथा खरखजना ऐन, २०१९ बमोजिम कारबाही गर्न काठमाडौं प्रहरी परिसरले अनुमति लिएको छ । इजाजतप्राप्त हतियार बोकेर हिँड्दा गैरकानूनीरुपमा पक्राउ परेको भन्दै प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

बन्दुकको लाइसेन्स देखाउँदा पनि प्रहरी किन उनीहरुलाई कारबाही गर्न अग्रसर भइरहेको छ त ? काठमाडौंका प्रहरी प्रमुख भुपेन्द्र खत्रीले लाइसेन्सवाहक दीपक भए पनि रामकुमारको साथमा जर्मन स्पोटर््स गन(जीएसजी–५) भेटिएकाले पक्राउ गरिएको बताउँछन् । त्यसो भए दीपक चाहिँ किन पक्राउ परे ?

खत्रीले भने, ‘बन्दुक बरामद भएपछि उनले पनि विवाद गरेकाले पनि नियन्त्रणमा लिइएको हो ।’

प्रसाईं आफैंले सामाजिक सञ्जालमा नै बन्दुकको लाइसेन्स सार्वजनिक गरेका छन् । लाइसेन्समा इजाजतप्राप्त व्यक्तिको नाम दुर्गा प्रसाईं उल्लेख छ भने ‘बाहक’ मा बुद्धशान्ति ३ झापाका दीपक खड्काको नाम छ ।

यस्तै, हातहतियार खरखजाना राख्न पाउने इलाका शीर्षकमा लेखिएको छ, ‘नेपाल राज्यभर जुनसुकै स्थानमा लिएर हिँड्न पाउने र प्रयोग गर्न पाउने । यो अनुमतिपत्रबाट प्रहरी अधिकारीहरु अचम्भित बनेका छन् ।’

काठमाडौंका प्रहरी प्रमुख खत्रीले झापा जिल्ला प्रशासन कार्यालयबाट जारी इजाजत पत्रमा देशभर बोकेर हिँड्न पाउने भन्ने उल्लेख भएको विषय छानबिनको क्रममा रहेको बताए ।

‘यसमा गृह मन्त्रालयले पनि छानबिन गरिरहेको भन्ने सुनेको छु’, एसएसपी खत्रीले भने ।

झापा जिल्ला प्रशासन कार्यालयले प्रसाईले २०७५ सालमा हतियार राख्ने इजाजत लिएको र नियमित नवीकरण गरिरहेको स्पष्ट पारिसकेको छ । जुन बन्दुकका लागि इजाजत दिइएको छ, त्यही नै बरामद भएको हो ।

व्यक्तिको सुरक्षा जोखिमलाई हेरेर जिल्ला प्रशासन कार्यालयहरुले हतियार राख्ने अनुमति दिन सक्छन् । जिल्ला प्रशासन कार्यालयले हातहतियार राख्ने लाइसेन्स, यात्रा इजाजतपत्र (लाइसेन्स), खरिद गर्ने इजाजतपत्र लगायत जारी गर्ने गरेका छन् ।

गृह मन्त्रालयका सुचना अधिकारी एकदेव अधिकारीले एक जिल्लाबाट अनुमति लिएको हतियार अर्को जिल्लामा लिएर जाँदा जिल्ला प्रशासन कार्यालयको स्वीकृति चाहिने बताए । हतियार राख्न र एक जिल्लाका लागि मात्र इजाजतपत्र भएको हातहतियार खरखजनालाई अन्य जिल्ला वा अन्यत्र लैजान यात्रा इजाजतपत्र छुट्टाछुट्टै लिनुपर्ने उनको भनाइ छ ।

अधिकारी भन्छन्, ‘तर, प्रसाईले यात्रा इजाजत पत्र लिएको देखिँदैन ।’

कस्ता हतियार राख्न अनुमति पाइन्छ ?

हातहतियार तथा खरखजाना ऐन २०१९ र त्यसको आडमा बनेको नियमावली २०२८ मा कस्ता हतियार राख्न इजाजत दिइने भन्ने उल्लेख छ ।

नियमावलीको नियम ३ मा १२, १६, २०, ४१० बोरको टोटावान बन्दुक (सर्ट गन), भरुवा बन्दुक, हावादारी बन्दुक र २२ बोरको राइफल र त्यसका खरखजना सुरक्षा वा शिकारको लागि राख्न, लिएर हिँड्न, वा प्रयोग गर्नका लागि इजाजत पत्र लिनुपर्ने भनिएको छ ।

यीबाहेक अन्य कुनै पनि किसिमका बन्दुक, पेस्तोल वा रिवाल्भर र त्यस्ता हतियारका खरखजनाको इजाजत पत्र नदिइने स्पष्ट उल्लेख छ । प्रहरी प्रधान कार्यालयका एक अधिकारी प्रसाईंलाई इजाजत दिइएको राइफल नै इजाजत दिन मिल्ने हो कि होइन भन्ने स्पष्ट नरहेको बताउँछन् ।

‘२२ बोरको राइफलका लागि इजाजत दिने भनिएपनि बरामद भएको राइफल २२ बोरको होइन भन्ने सुनिएको छ । यो त हामी पुलिससँग पनि छैन’, ती अधिकारीले भने । काठमाडौं प्रहरी प्रमुख खत्रीले पनि बरामद हतियार २२ बोरको हो कि होइन भन्ने पनि बुझ्ने काम भइरहेको बताए ।

हातहतियार तथा खरखजना ऐन २०१९ मा इजाजत लिइएका मेसिनगन वा तोप एक जिल्लाबाट अर्को जिल्लामा लैजान नपाइने उल्लेख छ । हातहतियार तथा खरखजाना नियमावली २०२८ अनुसार हावादारी बन्दुकबाहेक एक व्यक्तीलाई बढीमा ३ नालसम्मको, सगोलको एक परिवारलाई बढीमा ६ नालसम्म र कूटनीतिक सुविधा प्राप्त व्यक्तीलाई बढीमा ६ नालसम्म हातहतियार राख्न इजाजत दिइने भनिएको छ ।

तर कुटनीतिक सुविधा प्राप्त बाहेकका व्यक्तिलाई एकपटकमा एक नाल हातहतियारको मात्र इजाजत पत्र दिइने र इजाजतपत्र प्राप्त गरेको ५ वर्ष भुक्तान नभइकन थप हातहतियारको लागि इजाजत दिइने छैन भन्ने उल्लेख छ ।

प्रसाईं भन्छन्ः अनावश्यक दुख दिन खोजे

सरकारले नै इजाजत दिएको बन्दुक बोकेर हिँड्दा पनि प्रहरीले पक्राउ गरेर अनावश्यक दुःख दिएको भन्दै प्रसाईंले आपत्ति जनाएका छन् ।

उनले नेपाल प्रेससँग भने, ‘बकाइदा देशभरी बोकेर हिँड्न मिल्ने भनेर सरकारले नै इजाजत दिएको छ । इजाजतप्राप्त हतियार बोक्नु कसरी गैरकानूनी भयो । यो दुख दिने नियतबाहेक केही होइन ।’

प्रसाईंका अनुसार सरकारबाट इजाजत लिइसकेपछि उनले ६ वर्षअघि जर्मनीबाट दुईवटा बन्दुक खरिद गरेका थिए । ती बन्दुक १० लाख रुपैयाँ गोटामा खरिद गरेको उनको दाबी छ ।

‘प्रचण्डको छोरा प्रकाशले बोक्ने गरेको बन्दुक पनि यही हो,’ प्रसाईंले भने ।

उनले आफूलाई सुरक्षा खतरा भएकाले हतियारधारी अंगरक्षक राखेको बताए ।

‘सरकारविरुद्ध आवाज उठाएर हिँडेको छु, जहाँ जे पनि हुने खतरा छ’, उनले भने, ‘सरकारले सुरक्षा नदिएपछि आफैंले व्यवस्था गर्नु पर्यो कि परेन ?’

 


प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईंको बन्दुकले प्रहरी तरंगित, लाइसेन्स देखाउँदा पनि छुटेनन् अंगरक्षक

  1. यो मानिस धेरै नै अराजक भयो । जसलाई पनि गाली गरेको छ । फलानालाई बाटोमा भेटेमा गोद्नु भनेर खुलेआम भनेको छ । यस्ता अराजकलाई कारवाही गर्न त कानून बनेका हुन् । यसले ओलिलाई बढी तारो बनाएको छ । केहि तर्क छ ? जुनदिन झापाको टिकट यसले पाएन त्यसदिनदेखि यो अराजक हुन थालेको देखिन्छ । छानबिन गर यसले दिल्ली वा लैनचौरबाट महिनावारी बुझेर ओलिलाई गाली गर्ने ठेक्का पारेको छ । केही मानिस भ्रमवस् ऋण मिनाहा हुन्छ भनेर यसको पछि लागेका हुन् र केही काम नभएका आवारा यसले दिएको दाम खाएर दिन बिताउन हिडेका हुन् । यस्ता अराजकको पछि लागेर समय बर्वाद नगरौ । मलाई लाग्छ कुनै हालतमा पनि ऋण मिनाहा हुन सक्दैन । यदि मिनाहा भयो भने त एउटा नजिर नै बस्छ नि । ऋण लिने अनि नतिर्न यस्तै अराजकको पछि लाग्ने । यसरी देश चल्छ ? म त भन्छु यस्तो अराजक कुरा गर्ने जो कोहिलाई पनि राज्यले ठिक पार्नुपर्छ । राज्यले यसलाई यस्ता काम गर्न किन छुट दिईरहेको छ ? त्य‍ो पो अचम्म लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर