बरेलीको कथा र नेपालीको व्यथा
२०६० साल मंसिरतिर मेरो स्वास्थ्यमा समस्या देखियो । बुवा घरमा नहुँदा आमा, हजुरआमाहरू अझै चिन्तामा पर्नुभयो ।
‘यैलाई निको पार्न देश लैजाऊ, नभया आँखा देख्धाइन’ आमा, हजुर आमाहरूले भनेको धमिलो याद छ मलाई ।
भारतको उत्तर प्रदेश बरेली नजिकै बिसलपुर भन्ने ठाउँ, जहाँ मेरो बुबा मजदुरी गर्नु हुन्थ्यो । उहाँले उता श्रम गरेपछि हाम्रो यता चुलोमा आगो बल्थ्यो । नजिक थिएन बिसलपुर ।
‘तति टाढा कसरी लैझाउ, को लैझाने हो ?’ आफन्तहरू सल्लाह गर्न थाले ।
‘कामका लागि आउनेहरूसँग पठाइदिया’ बुवाले खबर पाएपछि भन्नुभएको रहेछ ।
‘नजिक होइन धेरै टाढा ,छ हिँड्न पनि सक्दैनन् बाबु लैजान सकिन्छ छ त’ गाउँभरि सल्लाह भयो ।
मलाई विराम निको हुनु भन्दा पनि बुवासँग भेट्ने रहरले अझै बढी उत्साहित बनाइरहेको थियो ।
‘सक्छु । जान्छु।’ मेरा शब्दहरू यत्ति फुटे ।
बझाङ बाट भारत जान भनेको जस्तो सहन थिएन । बाटो राम्रो थिएन । बाटो नहुँदा गाडी हुने त कुरै भएन । बझाङ बाट बैतडीको सिमानासम्म पैदल हिँड्ने अनि कच्ची बाटो, पहिरो छिचोल्दै सकसपूर्ण यात्रा अझै याद छ ।
कतै तत्कालीन माओवादीहरूले एम्बुस थापेर बाटो बन्द गरेको हल्ला सुनिन्थ्यो । कतै माओवादी र आर्मी भिडन्तमा पर्ने खतरा बढेको चर्चा सुनिन्थ्यो । परिवारलाई घरमा चामल खुवाउनको लागि छातीमा गोली खान पनि तयार भएर सयौँ जना हिँडिरहेका थिए यात्रामा ।
गाउँमा फलेको अन्नले तीन महिना पुग्ने पनि अवस्था थिएन । त्यसैमाथि माओवादीले युवा र पुरुष गाउँमा देखे जबरजस्ती अभियान भनेर लैजान्छन् भन्ने खबर सबैतिर फैलिसकेको थियो । त्यस्तो अवस्थामा गाउँ बस्नु भन्दा त बरु काला पहाडमा पत्थर फोड्न सहज भन्दै युवाहरू भारत पसिरहेका थिए ।
महाकाली काट्दै गर्दा सशस्त्र समूह र सशस्त्र प्रहरीको जति डर थिएन त्यो भन्दा कयौँ बढी डर बरेली सम्झेर भइरहेको थियो मलाई । तर, बुबा भेट्ने आसले उत्साहित थिए म । जाँदै गएकाहरू एकआपसमा कुरा गर्थे , ‘बरेलीमा कुख्यात डाँका छन् । तस्करहरू बस्ने ठूलो सहर हो बरेली । त्यहाँ सर्वसाधारण ठग्ने अनेक नयाँ नयाँ तरिका लिएर डाँकाहरू उभिएका हुन्छन् । नेपालीलाई ठग्ने र लुट्ने उनीहरूको पेसा बनिसकेको छ’ ।
‘कसरी लुट्छन् ?’ पहिलो पटक सस्तोमा श्रम बेच्न गर्न हिँडेका सबैलाई कौतूहल र डर दुवै थियो ।
कौतूहल त मलाई लागेको थियो तर, डर त्यो भन्दा धेरै थियो ।
‘कहिले नाकमा केमिकल सुँघाएर लुट्छन्, कतै खल्ती काटेर पैसा लग्छन्, कहिले खाना खादा ठग्छन् । कहिले रिक्सा चढ्दा ठग्छन्’ ठुलो बुवा रामप्रसाद जोशीले भन्दै हुनुहुन्थ्यो ‘कतै जुस खादा ठगिने त कहिले हस्पिटल जाँदा ठगिने ठाउँ हो त्यो ।’
सुदूरपश्चिममा त्यो बेला सम्म उपचारको लागि कुनै गतिलो अस्पताल थिएन । जाँदैनौँ भन्दा पनि जानै पर्ने बाध्यता मध्येको एक थियो बरेली सहर । ग्रामीण क्षेत्रमा स्वास्थ्यको सहज पहुँच नहुँदा सक्दासम्म रोग लुकाएर बस्ने सक्दै नसक्दा पस्ने सहर थियो बरेली ।
दुई दशक पहिले एक दशक पार गरेर पहिलो पटक बरेली जाँदै गर्दा सुनेका कथाहरू आज पनि मेरो मानसपटलमा गुञ्जायमान भइरहन्छ । के नेपाली लुटिने सहर बेरेली मात्रै हो त ? के नेपालीले दुख पाउने सहर बरेली मात्रै हो त ?
हिजो नेपालीहरू भारतमा जसरी लुटिएका हुन्थे आज नेपालमै फरक शैलीले नेपाली लुटिएको आभास हुन थालेको छ । हिजो भारतमा हतियार देखाएर लुटेका घटना हामी प्रशस्तै सुन्दै आइरहेका थियौँ । आज नेपालमा विवशता लेखाएर लुटेका घटनाहरू हामी देख्दै आइरहेका छौँ ।
एउटा सर्वसाधारण हरेक सरकारी अड्डा अदालत देखि विभिन्न निकायमा काम गराउन धाउँदा धाउँदा कैयौँ चोटि ठगिन पुगेको छ । गाउँपालिका अध्यक्ष देखि वडा अध्यक्ष ले शारीरिक अशक्त भत्ता देखि वृद्ध भत्ता मा अनियमितता गरेका घटनाहरू सुनिन थालेका छन् ।
विमानस्थल बाट सुन निर्बाध तस्करी भइरहेको छ तर, सीमामा गुजारा चलाउन दैनिक नेपाल भारत ओहोरदोहोर गर्नेहरू हप्कीदप्की खाइरहेका छन् ।नेपालीलाई नेपालभित्रै नेपालीले स्थापना गरेको म्यानपावर देखी कन्सल्टेन्सीले ठग्ने कुरा होस् या शिक्षा र स्वास्थ्यको लागि सर्वस्व गुमाउनेहरू हुन् । उनीहरू आफ्नो देशमा आफ्नैबाट लुटिएका छन्, ठगिएका छन् ।
बरेली पुग्दा म ठगिने त होइन भन्ने चिन्ता अहिले आम नागरिक र युवा वर्गलाई नेपाल भित्रै छ । राज्य र राज्यका निकायबाट त्यो त्रास बढेको छ ।
ठुलो ठाउँमा ठुला मान्छेहरू सरकारी सम्पत्ति बेचेर पनि अवैध ढंगले सम्पत्ति आर्जन गरिरहेका घटनाहरू बढिरहँदा उता दूर दराजमा आफ्नै घर चलाउन आफ्नै शरीर बेच्नुपरेको घटना पनि कम भएको छैन ।
यहाँ सबै भएकाहरूलाई जोगाउन पार्टी देखि कर्मचारी सम्म प्रहरी देखि वकिल सम्म र व्यापारी देखि न्यायाधीश सम्म तयार हुँदा केही नभएकाहरूलाई जोगाउन कोही नलाग्ने पीडादायी अवस्थाको अन्त्य कहिले हुन्छ होला ।गरिब र विपन्न वर्गका नागरिकहरूको यो देशमा बाच्ने र बस्ने अधिकार कसले सुनिश्चित गरिदिने ?
ठुला मान्छेहरू सामान्य बिरामी हुँदा सरकारी ढुकुटीबाट करोडौँ खर्च गरेर विदेश जान सक्ने हाम्रो मुलुकको दुर्गम क्षेत्रमा गम्भीर बिरामी हुँदा औषधी किन्ने सम्मको पैसा नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य कहिले हुने ?
बाल्यकाल मा बाटोमा गाउँलेहरू ले सुनाएको बरेलीका डाँका का कथा जस्तै नेपालका हरेक चिया पसलदेखि चौतारीसम्म, जात्रादेखि मेलासम्म हरेक भट्टी पसलदेखि स्टार होटेलसम्म नेपालीबाट नेपालीमै ठगिएका कथाहरू प्रशस्तै सुनिन्छ ।
देशमा बेरोजगारी दर उच्च छ,आर्थिक अनियमितता व्याप्त छ१हरेक ठाउँमा कुनै न कुनै बाध्यता मा जनताहरू छन् तर राज्य मौन र उदास देखिन्छ ।
लेखक अनेरास्ववियु स्थायी कमिटी सदस्य हुन्
समय बदलियो ब्यवस्था बदलियो नेता बदकिय कर्मचारी बदलिय त्र साधारण जनताको अवस्था बदलियन , देशको गरिबी बदलियन ,कृषि प्रधान देश नेता कुर्सी प्रदान देश बन्यो , नया पुस्तालाई देशमा बसेर ढुक्क साथ काम गरिखाने वातावरण नै बनेन