मधेशी आयोगले मनायो ५ औं स्थापना दिवस – Nepal Press

मधेशी आयोगले मनायो ५ औं स्थापना दिवस

काठमाडौं । मधेशी आयोगले आज विशेष कार्यक्रम गरेर पाँचौ स्थापना दिवस मनाएको छ ।

२०७५ साल चैत्र ७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट मधेशी आयोगका प्रथम अध्यक्षको रुपमा डा.विजयकुमार दत्त नियुक्त भएको दिन आयोगले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोगले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा ५औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले राज्य र सिंहदरबारको कुदृष्टिले र गलत नियतले गर्दा आयोग अझ प्रभावकारी रुपमा काम गर्न नसकेको बताए ।

अध्यक्ष डा.दत्तले मधेशी समुदाय सशक्त नभएसम्म सिंगो मुलुक नै सशक्त नहुने समेत जिकिर गरेका छन् । अध्यक्ष डा.दत्तले आयोगले नेपालकै इतिहासमा पहिलो पल्ट “मधेश” शब्दको परिभाषा, “मधेशी को हुन्”, मधेश प्रोफाइल, राज्यमा मधेशीको पहुँच अध्ययन जस्ता ऐतिहासिक कार्यहरु आयोगले गरेको बताएका छन् ।

उपराष्ट्रपति राम सहाय यादवले मधेशी आयोगसहित अन्य संवैधानिक आयोगबीच बाझिएका क्षेत्राधिकारहरुलाई कानुनी रुपमा सहजीकरण गरिनुपर्ने बताए । उपराष्ट्रपति यादवले मधेशी आयोगले सिंगो मधेशी समुदायको अभिभावकको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत सुझाव दिएका छन् ।

सो कार्यक्रममा संवैधानिक अंगका पदाधिकारी, नेपाल सरकारका सचिवहरु, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधहरु प्राध्यापकसहितको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर