नेपालमा लगानी सम्भाव्यता खोजीका लागि रुसी उद्योगी-व्यवसायीको टोली आउँदै – Nepal Press

नेपालमा लगानी सम्भाव्यता खोजीका लागि रुसी उद्योगी-व्यवसायीको टोली आउँदै

काठमाडौ । रुसका उद्योगी व्यवसायी नेपालमा लगानीका क्षेत्रको पहिचान गर्न बिहीबार नेपाल आउने भएको छ । रुस उद्योग वाणिज्य संघको नेतृत्वमा आउने टोलीले वैशाखमा हुने लगानी सम्मेलनमार्फत लगानी गर्न सकिने क्षेत्रको अध्ययन गर्ने बताइएको छ ।

बुधबार अर्थमन्त्री वर्षमान पुनलाई भेट्न पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए. नोभिकोभले रुसी व्यवसायीको टोली भोलि नेपाल आउन लागेको जानकारी गराए । भेटमा अर्थमन्त्री पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरे ।

‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो’, मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण मनाउन हामी तयार छौं ।’

जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताएका छन् । भू-राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो ।

‘हाम्रो नेपालका दुवै छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध छ । रुस यस्तो देश हो कि जसले नेपाल, भारत र चीन तीनवटैलाई खुसी पारेर काम गर्न सक्दछ’, उनले भने । यस्तै नेपाल-भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने दुवै सम्भावना रहेको उनले औंल्याए ।

फरक प्रसंगमा मन्त्री पुनले द्विपक्षीय सम्झौताविनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए । रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह गरे । यस्तै उनले रुस-युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर