श्रममन्त्री अर्यालले गरे टेलिमेडिसिन सेवाको निरीक्षण, आठ महिनामा १६ सय बढीले लिए सुविधा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकको लागि सञ्चालन भइरहेका टेलिमेडिसिन सेवाको निरीक्षण गरेका छन् । बुधबार वीर अस्पताल पुगेर उनले टेलिमेडिसिन सेवाको निरीक्षणसँगै जानकारीसमेत लिएका हुन् ।
पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएपछि श्रम मन्त्रालयले बोर्डमार्फत टेलिमेडिसिन सेवा शुरु गरेको हो । बोर्डले करिव एक वर्ष अघि गत चैत १० गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो ।
बोर्डले वीर अस्पतालबाट नै यो सेवा सञ्चालन गर्दै आएको छ । श्रमिकले फेसबुक, ह्वाटएप, भाईवर, ईमो लगायतका सामाजिक सञ्जालमार्फत सम्पर्क गरी यो सेवा लिन सक्नेछन् । टेलिमेडिसिन सेवा सम्बन्धी जानकारी लिदै मन्त्री अर्यालले यो सेवालाई अझै चुस्त तथा प्रभावकारी बनाईने बताए ।
बोर्डको सहकार्यमा वीर अस्पतालले विहान १० बजेदेखि बेलुका ६ बजेसम्म यो सेवा सञ्चालन गर्दे आएको छ । टेलिमेडिसिन सेवाका लागि मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट नियमित खटाईएको छ । प्रत्येक साताको शुक्रबार र आईतबार श्रमिकको स्वास्थ्य समस्याको आधारमा विशेषज्ञ चिकित्सकसमेत उपलब्ध गराईन्छ । अहिले दैनिक २५ देखि ३० जना श्रमिकले टेलिमेडिसिन सेवा लिईरहेका छन् ।
हालसम्म १८ वटा मुलुकमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । अस्पतालले विभिन्न ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
चालू आर्थिक वर्ष २०८०–८१ को फागुन महिनासम्ममा एक हजार ६३२ जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । जसमध्ये मलेसियाबाट ३९४, साउदी अरब ३१०, युएई १९२, कतार १७५, कुवेत १७१, कोरिया १५७, ओमान ५७, साईप्रस ५३, जापान ४०, रोमानिया ३५, बहराइन १२, जाम्बिया र बेलायत १०–१०, जर्मनी नौ, माल्दिभ्स सात, इराक चार, माल्टा तीन र अफ्रिकाबाट एक जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् ।
टेलिमेडिसिनमा सेवामार्फत ४०० जना श्रमिकलाई स्वास्थ्य तथा औषधी सम्बन्धी परामर्श उपलब्ध गराईएको छ । २७३ जनालाई सर्जरी सम्बन्धी परामर्श, २३५ मानसिक समस्या, २१७ जनालाई ईएनटी, १८३ अर्थोपेडिक, १२५ छाला सम्बन्धी, ४४ जनालाई युरोलोजी सम्बन्धी, ४२ जनालाई पेट सम्बन्धी, ३१ दाँत सम्बन्धी, १९ आँखा सम्बन्धी र ६३ अन्य विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराईएको छ ।