बैतडीमा तीन जनामाथि कोदालो प्रहार : श्रीमतीको मृत्यु, घरमै डेरा बस्ने दुई कर्मचारी घाइते
बैतडी । बैतडीमा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ भने दुई कर्मचारी घाइते भएका छन् ।
बिहीबार डिलाशैनी गाउँपालिका–७ धामी गाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो ।
त्यस्तै, कोदालो प्रहारबाट दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् ।
बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार किसनले आफ्नो घरमै श्रीमती पार्वतीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए ।
त्यसलगत्तै उनकै घरमा डेरा गरी बस्दै आएका कलौनी र भट्टमाथि पनि किसनले कोदालो प्रहार गरेका थिए । दुई घाइतेका थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
किसनले कोदालो प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।