कोकाह खोलाबाट धरान ल्याइएको पानीको पाइपमा आगलागीबाट क्षति, विरोधीले आगो लगाएको साम्पाङको आरोप – Nepal Press

कोकाह खोलाबाट धरान ल्याइएको पानीको पाइपमा आगलागीबाट क्षति, विरोधीले आगो लगाएको साम्पाङको आरोप

विराटनगर । धरान उप महानगरपालिका वडा नम्बर-२० मा आगलागीका कारण खानेपानीको पाइमा क्षति पुगेपछि धरानका मेयर हर्क साम्पाङ रुष्ट बनेका छन् । उनले आफ्ना विरोधीले आगो लगाइदिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

केही दिन यता धरान वडा नम्बर-२० को जङ्गल क्षेत्रमा आगोलागि भइरहेको छ । आगोलागि भएपछि मेयर साम्पाङ आगो निभाउन पुग्ने गरेका छन् । उनी र उनका समर्थक आगो निभाउन पुग्ने गरेको भए पनि प्रहरी र सेनालाई भने खबर गर्ने गरिएको छैन ।

आगो निभाउँदै गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साम्पाङले खानेपानीमा क्षति पुर्‍याउनु भन्दा आफूलाई मुद्दा हाल्न चेतावनी दिने गरेका छन् ।

तीन दिन यता पटक-पटक आगो निभाउन जङ्गल क्षेत्रमा पुगेका मेयर साम्पाङले फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण समेत गरेका छन् । उनले प्रत्यक्ष प्रसारण मार्फत विरोधीले आगो लगाएको भनेर प्रचार गरिरहेका छन् ।

प्रहरीले भने आगो कसरी लागेको भनेर जानकारी नआएको जनाएको छ । हावाहुरीको आगो लाग्ने समय भएकाले कोशी प्रदेशका विभिन्न स्थानमा आगो लागिरहेको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् शाखाले जनाएको छ । शाखाका अनुसार चार कोशे जङ्गल क्षेत्रमा समेत आगलागी भइरहेको छ ।

धरानको मेयरमा निर्वाचित भएपछि साम्पाङले कोकाह खोलाको पानी ल्याउन श्रमदान अभियान सञ्चालन गरेका थिए । ४१ किलोमिटर पाइप बिच्छ्याएर ९८ दिनमा कोकाह खोलाको पानी श्रमदानमै धरान ल्याउन मेयर साम्पाङ सफल भए पनि पाइप पुरिएको छैन ।

पाइप नपुरी ल्याउँदा आगोका कारण पाइपमा क्षति पुग्ने गरेको छ । पाइप रुखमा समेत बाँधेर धरान ल्याइएको छ । बाढी पहिरो र आगोलागिका कारण खानेपानीको पाइपमा क्षति पुग्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर