हरिहर-नीताले लगाए सप्ताह महापुराण, कथावाचक शितलकृष्णको विवादबारे के भन्छन् ?
काठमाडौं । यतिबेला सामाजिक सञ्जाल टिकटकमा नायिका नीता ढुंगाना र उनका श्रीमान हरिहर अधिकारी राधा र कृष्ण भएर नाचेका भिडिओहरु निकै भाइरल छन् । हालै हरिहरको पुर्ख्याैली घर दाङमा सप्ताह लगाउँदा उनीहरु राधा–कृष्ण भएर नाचेका थिए ।
फागुन २८ गतेबाट सुरु भएको श्रीमदभागवत महापुराण यज्ञ ५ गते सकिएको थियो । उक्त यज्ञमा पण्डित कमल कट्टल थिए भने कथावाचकमा शितलकृष्णजी महाराज । नीता र हरिहर कुष्ण र रुक्मणी भएर नाच्दै गरेको भिडिओमा पनि कथावाचक शितलकृष्ण देखिएका छन् ।
यो महापुराण नसकिँदै एउटा सामाजिक सञ्जालमा भने नयाँ कन्ट्रोभर्सी फैलिसकेको थियो । कथावाचक शितलकृष्णकी पत्नी सुकिर्ती पौडेलले पत्रकार सम्मेलन गर्दै श्रीमानमाथि केही गम्भीर आरोप लगाइन् । श्रीमानले परस्त्रीगमन गरेकोदेखि आफूमाथि कुटपिट समेत गरेको उनको दाबी छ ।
यसरी पत्नीको बयान आउँदा हरिहर स्तब्ध बनेका छन् । यद्यपि, दुवै पक्षको कुरा नसुनिकन निस्कर्षमा पुग्न नहुने उनको भनाइ छ । सतिशकृष्णको कथावाचनबाट भने आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।
हरिहरसँग यसै सन्दर्भमा गरिएको कुराकानीः
सप्ताहमा स्वामी शितल कृष्णजीलाई नै किन रोज्नुभएको थियो ?
कतिजनाले स्वामी शितल कृष्णजी हाम्रो पण्डित भन्ने बुझिरहनुभएको रहेछ । म पहिला यसबारे स्पष्ट पार्न चाहन्छु । श्रीमद्भागवत महापुराण यज्ञमा दुईवटा पार्ट हुन्छन् । एउटा कर्मकाण्ड गर्ने र अर्को कथा भन्ने । श्रीमद्भागवत महापुराणको मुख्य भाग भनेको पुजा हो । यो भनेको भगवान विष्णु र लक्ष्मीनारायणको पुजा हो । यो कर्मकाण्डको कुरा हो । यसमा घरका सबै सदस्यहरु बसेर संकल्प गर्ने, पूजापाठ गर्ने, पितृहरुको लागि श्राद्धहरु गर्ने, सबैको नव–ग्रहको शान्ति गर्ने, सबै देवी–देउताको पूजा गर्ने, घरको वास्तुको पूजा गर्ने, सत्यनारायणको पूजा गर्ने, आदि पर्दछन् । सात दिन र सात रातसम्म चल्ने यो काम पण्डित कमल कट्टेलजीले गर्नुभएको थियो । उहाँ काठमाडौँबाटै जानुभएको हो । पूजा सकिएपछि कथा सुन्ने हो ।
कथावाचकमा भने शितलकृष्णजी हुनुहुन्थ्यो । त्यो भनेको गीतामा भएको राम्रो कर्म के हो ? नराम्रो कर्म के हो ? सत्कर्म के हो ? दुष्कर्म के हो ? आदि जस्ता ज्ञानमूलक र प्रेरणादायी कुराहरु बताउने काम हो । यो दिउँसो १ बजेदेखि ४ बजेसम्म हुन्थ्यो । र बेलुका पुनः प्रेरणामुलक र धर्मको प्रवचनहरु, युधिष्ठिर र कृष्णका कथाहरु सुनाउने कार्य र आरती हुन्थ्यो । कथा सुनाउने पार्ट फेरि जसले गर्दा पनि हुन्थ्यो । त्यो कथा मैले, तपाईंले वा कुनै एउटा राम्रो ज्ञान भएको मान्छेले भन्दा पनि हुन्छ । हामीलाई यस विषयमा राम्रो ज्ञान भएको र समाजलाई प्रेरणा दिने मान्छे चाहिएकाले उहाँलाई बोलाएका हौं ।
तपाईंकहाँ कथावाचन भइरहँदा शितलकृष्णजी महाराजका निजी जीवनका विवादित कुराहरु बाहिर आए । उहाँले आफ्नै श्रीमतीलाई हिंसा गर्नुभएको आरोप लागेको छ । यसलाई कसरी लिनुहुन्छ ?
हामीले बोलाउँदाखेरि यी कुराहरु बाहिर आएका थिएनन् । हामीलाई मात्र होइन, कसैलाई नै थाहा थिएन । हाम्रो घरमा सप्ताह हुने भइसकेपछि हामीले यी कुराहरु थाहा पाएका हौं । त्यसपछि सबैले थाहा पाउनुभयो । यस्ता कुराहरु अगाडि नै थाहा पाएको भए केही सल्लाह हुन्थ्यो होला । तर यस्ता कुराहरु आउनुअघि नै हामीले उहाँलाई बोलाइसकेका थियौं । त्यसैले उहाँ आउनुभयो र आफ्नो कार्य सम्पन्न गरेर जानुभयो ।
उहाँले आफ्नो निजी विषयलाई कसरी मिलाउनुहुन्छ, त्यो उहाँलाई नै थाहा होला । हामीले उहाँलाई व्यवसायिक हिसाबले कथा भन्न बोलाएका हौं । उहाँ पूजामा सहभागी हुनुभएको पनि होइन । न त उहाँ कर्मकाण्ड गर्ने पण्डित नै हो । धार्मिक रुपमा भन्नुपर्दा उहाँ एक कथावाचक मात्र हो ।
हाम्रो घरमा हुनभएको हाम्रो हजुरबुवा–हजुरआमाले पनि उहाँको प्रवचन सुन्नु हुन्थ्यो । दाङमा हुनुभएकोहरुले पनि उहाँलाई ल्याउँदा राम्रो हुन्छ भन्ने सल्लाह दिनुभएको थियो । उहाँलाई ल्याउँदा सबै खुशी हुने भएपछि हामीले बोलाएका हौं ।
बोलाउनुअघि हामीले उहाँसँग तपाईंको पारिवारिक स्थिति के चलिरहेको छ भनेर सोध्ने कुरा पनि आएन । ल्याइसकेपछि त्यस्तो कुरा आयो । अब कथा भन्दाभन्दै तपाईंको त यस्तो समाचार आएछ भनेर घरबाट भगाउने कुरा पनि भएन । त्यत्रो ठूलो सप्ताह लगाएपछि पूर्ण त गर्नुपर्यो ।
त्यहाँ बसिन्जेल यस विषयमा तपाईंको उहाँसँग कुरा भयो कि भएन ?
भएन । विवाद आइसकेपछि चाहिँ मैले बरु एकचोटी उहाँको स्वयंसेवकहरुसँग कुरा गर्न खोजेको थिएँ । (हाँस्दै) शितलकृष्णजी र उहाँको श्रीमतीको कुण्डली मिलेको रहेछ कि रहेनछ भनेर हेर्न खोजेको थिएँ ।
जति कथा, प्रवचन र ज्ञानगुनका कुरा भने वा सुनाए पनि, मान्छेले एकछिनको लागि मान्लान्, तर कुण्डलीमा जे छ त्यो हुन्छ भन्ने ज्योतिष शास्त्रमा छ । त्यसैले बुझ्न खोजेको थिएँ तर मौका मिलेन । एक त पहिला जन्मेका मान्छेहरुको समय ठ्याक्कै सही पनि हुन्नँ ।
मैले बीचमा एकचोटी उहाँलाई सोधेको चाहिँ थिए । उहाँले मुस्कुराएर मेरो यसमा त्यस्तो केही छैन, बरु मेरो कारणले हजुरहरुलाई दुःख परेको छ भने माफी माग्न चाहन्छु र मेरो कुराहरु म केही समयपछि राख्छु भन्नुभयो । त्यति भनेपछि हामीले धेरै खोतल्ने कुरा पनि भएन । त्यो उहाँको व्यक्तिगत कुरा हो । एक त सबै पुजामा व्यस्त थियौं ।
उहाँको विवादलाई लिएर सप्ताहमा कसैले केही भन्नुभयो या भएन ?
कसैले केही भन्नुभएन । यो पारिवारिक पूजा थियो । दाङको मान्छेहरुले पनि नराम्रो प्रतिक्रिया दिनुभएको वा हाम्रो अगाडि आएर कसैले केही भन्नु भएको हामीले सुनेनौं ।
तपाईहरु चाहिँ उहाँको कथावाचनबाट सन्तुष्ट नै हुनुहुन्छ?
यस्तो हो, यो सात दिनको कर्म हो । हामीलाई उहाँ सात दिनको लागि चाहिएको हो । सात दिन अघि र सात दिनपछिको उहाँका व्यक्तिगत कुराहरु हाम्रो सरोकारको कुरा पनि भएन । उहाँ सात दिन–सात रात हाम्रो आँखा अगाडि हाम्रैमा बस्नुभयो । त्यो समय अवधिभर उहाँ घरबाट एकचोटी पनि बाहिर निस्कनु भएन । घरभित्रै बसेर एक हप्ता शुद्ध खानुभयो । शुद्ध र स्वच्छ भएर बस्नुभयो । सही तरिकाले हाम्रो घरमा हामीले भने अनुसारको कर्म गर्दिनुभयो । सबैलाई कथा मज्जाले भनेर बुझाइदिनुभयो । त्यसैले हामी त खुशी छौं ।
अरुलाई सदाचार सिकाउँदै हिँड्ने व्यक्ति आफू चाहिँ सदाचारमा बस्नु पर्छ कि पर्दैन त ? यस्तो विवाद आउँदा उहाँको प्रतिष्ठामा कस्तो असर पर्छ ?
त्यो जरुरी छ । यस्तो कुराहरु हुनुहुँदैन समाजमा । यस्ता घटनाहरुले मान्छेहरुले गर्ने विश्वासमै प्रश्न चिन्ह खडा गर्दिन्छ । यस्तो हुनुहुँदैन थियो । यो मिलाउन र मिल्न जरुरी छ । ज्योतिष शास्त्रले के भन्छ भने यदि तपाईंको छोराको कुण्डलीमा पढ्ने योग नै छैन भने तपाईं २४ घण्टा उसलाई पढाउन पछि लाग्नुस् वा जति प्रवचन दिनुस्, त्यो बच्चा पढ्नमा कमजोर नै हुन्छ । त्यसको लागि छुट्टै उपाय अपनाउनु पर्छ । त्यसैले, यो सबै पनि ग्रहको असर हुनसक्छ ।
म चाहिँ के भन्छु भने दुई पक्षको कुरा सुन्नुपर्छ । यो श्रीमान–श्रीमतीको कुरा हो । हामीले एकपक्षको कुरा सुन्यौं । अब अर्को पक्षको पनि सुनौँ । दुई पक्षकै कुरा नसुनी म कहिल्यै पनि कसैलाई गलत भन्दिनँ । सत्य जति लुकाए पनि लुक्दैन । जति जे गरेपनि सत्य आखिर एक न एक दिन बाहिर निस्किहाल्छ । त्यसैले सत्य ननिस्किएसम्म हामीले कसैलाई नराम्रो भन्न हुँदैन कि जस्तो लाग्छ ।
कहिलेकाहीँ माहोल पनि त्यस्तै भइदिन्छ । म एउटा मेरै उदाहरण दिन्छु । मेरो बुबा बित्ने बेलामा मलाई नै मान्छेहरुले कैयौँ प्रश्न गरे । आफैँ ज्योतिष भएर पनि आफ्नो बुबा बित्न लागेको कसरी थाहा पाएन भन्ने कुराहरु गर्नुभयो । मेरो बुबाको कुण्डली हेरेर उहाँको बारेमा थाहा पाएँ भने पनि मैले के गर्ने ? मेरो बुबाको आयु अब धेरै छैन भनेर प्रेसमिट गर्ने ?
पत्रकार सम्मेलन गरेर कुण्डली देखाउने ? मलाई थाहा थियो उहाँको बारेमा । मैले उहाँको कुण्डली हेरेर उहाँलाई बाहिर ननिस्किनुस् अथवा यस्तो नगर्नुस् पनि भनेको थिएँ । तर भनेजस्तो भएन । मैले भनेका कति कुराहरु पालना भएनन् । बचाउन सकिएन । कुण्डलीमा पनि त्यस्तै थियो । त्यसैले कतिपय कुराहरु निजी हुन्छन् । कति कुराहरु आफू सही हुँदाहुँदै पनि बाहिर ल्याउन नसकिने खालका हुन्छन् ।
भनाइको मतलब तपाईं मान्छेको मरणको समय पनि निकाल्नुहुन्छ ?
(हाँस्दै) कुनै पनि मान्छेको पृथ्वीमा आएको साल, महिना, गते र समय थाहा भयो भने उसको खराब समय र उसको जाने समय पनि थाहा पाउन सकिन्छ भन्ने ज्योतिष शास्त्रमा नियम छ । तर यो कुरा हामीले भन्न मिल्दैन । किनकी यो कुराले सो व्यक्तिको इनर्जी डाउन हुनसक्छ । त्यसैले ज्योतिष शास्त्रले भन्न दिँदैन । मान्छेमा मात्र होइन, यो वस्तु, घर र कम्पनीहरुमा पनि लागू हुन्छ ।
म एउटा उदाहरण दिन्छु तपाईंलाई । पहिला एउटा किस्ट बैंक भन्ने थियो । मैले त्यो किस्ट बैंकको दर्ता भएको दिन हेरेर, यो बैंकको नामनिसान हट्ने समय यतिबेला हो, त्यसैले यो बंैकको नाम परिवर्तन गराउनु भनेको थिएँ । तर त्यतिबेला उहाँहरुमा यो कुरा लागू भएन । नभन्दै आज किस्ट बैंक भन्ने नामनिसान छैन । मैले धेरै कुराहरुमा यो अभ्यास गरेको छु । त्यसैले मान्छेको मात्र होइन, कुनै पनि चिजको जन्ममितिबाट त्यसको मृत्युको मिति थाहा पाउन सकिन्छ ।
यदि यो विवाद पहिल्यै आएको भए कथावाचक परिवर्तन गर्नुहुन्थ्यो ?
त्यो त्यति बेलै थाहा हुन्थ्यो । अरु गुरुहरु पनि हुनुहुन्छ । मलाई कथावाचक न चाहिएको हो । शितल कृष्णजीसँग मेरो कुनै आन्तरिक सम्बन्ध छैन । न त उहाँलाई मेरो परिवारले नै चिन्नुभएको हो । मैले त उहाँको पर्सनल एसिसटेन्टलाई कल गरेर उहाँको लाग्ने पारिश्रमिक दिएर बोलाएको हो ।
मैले अरु एकदुईजना गुरुहरुलाई पनि बोलाउन प्रयास गरेको थिए । तर उहाँहरुको समय मिलेन । कुबेर सुवेदीजीसँग हाम्रो एकदमै राम्रो सम्बन्ध छ । उहाँ मेरो विवाहमा पनि आउनु भएको थियो । उहाँलाई पनि बोलाउन खोजेको थिएँ । तर विदेशमा हुनुभएकाले उहाँ आउन भ्याउनुभएन । हामीलाई राम्रो कथावाचक चाहिएको थियो । त्यति हो ।