विपन्न विद्यार्थीलाई पत्रकार मिश्रद्वारा शैक्षिक सामग्री वितरण
कैलाली । पत्रकार प्रकाश मिश्रले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । स्विजरल्याण्डमा बसोबास गर्दै आएका नेपाली दिदी बहिनी र स्विस नागरिकको सहयोगमा कैलालीका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पत्रकार मिश्रले छात्रवृत्ति वितरण अन्तर्गत शैक्षिक सामग्री वितरण गरेका हुन् ।
एनआरएन स्विजरल्याण्डका पूर्व अध्यक्ष शुभ एल्मर लामा, सुनम पन्त,विजया भट्ट, उषा ज्याक्युट स्विस नागरिक इस्टर कम र बेट्रीक्स ओचनेरको आर्थिक सहयोगमा कैलालीमा विगत ६ वर्षदेखि विपन्न २३ विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
‘विपन्न तथा जेहेनदार विद्यार्थीहरूलाई विभिन्न चरणमा हामीले शैक्षिक सामग्री वितरण गर्ने गरेका छौँ’ पत्रकार मिश्रले भने, ‘हाम्रो सानो सहयोगले विद्यार्थीहरूलाई निकै सहज भएको छ ।’
छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई पत्रकार मिश्रले कापी,कलम,पेन्सिल,ज्यामितीय बक्स ,विद्यालय पोसाक विद्यालय जुत्ता ,झोला तथा छात्रालाई विद्यालय बाहेकका पोसाक हस्तान्तरण गरेका हुन् ।
डेढ दशकदेखि पत्रकारितामा रहेका मिश्र अहिले अत्रिदेव खबरका सञ्चालक हुन् । उनी लामो समयदेखि सामाजिक क्रियाकलापमा सक्रिय छन् ।
कोरोनाकालमा एक हजार बढिलाई खाद्यान्न वितरण गरेका मिश्रले बर्दगोरिया–२ मा रहेको सहारा घरलाई पटक पटक खाद्यान्न, मानसिक रोगीहरूलाई चिसोका लुगा, मानसिक रोगीहरूलाई सुत्न बेड वितरण गरेका थिए ।
उनले कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुरमा नदीको किनारमा तिर्पाल मुनि बसिरहेका आउजी दम्पतीलाई घर निर्माण ,घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको क्षितिज बिहानी बालबालिका केन्द्रलाई शौचालय सहितको पक्की भवन निर्माण गरेका छन् ।
उनले मेलघट्टी आधारभूत विद्यालय घोडाघोडी ४ मा र राष्ट्रिय जनता आधारभूत विद्यालय घोडाघोडी नगरपालिका ९ मा पनि ३्३ वटा शौचालय समेत निर्माण गरेका छन् ।