परस्त्रीगमन र घरेलु हिंसा गरेको पत्नीको आरोप, के भन्छन् कथावाचक शीतलकृष्ण ? – Nepal Press

परस्त्रीगमन र घरेलु हिंसा गरेको पत्नीको आरोप, के भन्छन् कथावाचक शीतलकृष्ण ?

काठमाडौं । कथावाचक शीतलकृष्ण महाराजमाथि उनकी पत्नी स्वीकृतीले गम्भीर आरोपहरु लगाउँदै केही दिनअघि पत्रकार सम्मेलन गरिन् । श्रीमानले परस्त्रीगमन गरेकोदेखि आफूलाई घरेलु हिंसा गरेकोसम्म उनको आरोप थियो ।

सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भइरहेको यो विषयमा शीतलकृष्ण स्वयमले भने कुनै प्रतिक्रिया जनाएका थिएनन् । मौनता तोड्दै उनले एउटा भिडिओ सन्देश आज जारी गरेका छन् । आफूमाथि लागेका आरोपहरु निराधार रहेको उनको दाबी छ ।

के-के भनेकी थिइन् स्वीकृतीले ?

स्वीकृतीले गत चैत ४ गते रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो दाम्पत्य जीवनको कलहलाई सार्वजनिक गरेकी थिइन् । उनका मुख्य भनाइहरु यस्ता थिएः

हाम्रो विवाह भएको ३ वर्ष भयो । मागी विवाह भएको हो । दुवै पक्षको सहमतिपछि लकडाउनका बेला वैशाखमा विवाह भएको थियो । सुरुमा सम्बन्ध सामान्य चलिरहेको थियो । विवाहको ६ महिनापछि हामी वृन्दावन गयौं ।

त्यहाँ बस्दा मैले उहाँको अन्य महिलाहरुसँग अनैतिक सम्बन्ध रहेको छनक पाएँ । उहाँको आपत्तिजनक म्यासेज र फोन कलहरु देखेपछि म स्तब्ध भएँ । त्यसपछि मैले उहाँसँग कुरा गर्दा उहाँले ममाथि हातपात गर्नुभयो । त्यसपछि हाम्रो सम्बन्ध बिग्रिन थाल्यो ।

एकजनासँग सम्बन्ध होइन । एकजनासँग मात्र भएको भए सायद छुटाउन सक्थेँ । धेरैजनासँग सम्बन्ध देखियो । मलाई माइतीघरमा छोडेर ३–४ महिनासम्म मसित सम्पर्कविहीन रहनुहुन्थ्यो । फर्केर आउँदाखेरि धेरै डिलिटेड म्यासेजहरु हुन्थे । उहाँले लगाउने ‘पगडी’ मा समेत कन्ट्रासेप्टिभहरु फेला पारेँ । यो अकल्पनीय थियो ।

मैले आफ्नो परिवारलाई शेयर गरिनँ । सकेसम्म मिल्ने हो भनेर सम्झौता गरिरहेँ । उहाँलाई सम्झाउने प्रयास गरेँ । तर मलाई निरन्तर फिजिकल र मेन्टल ह्यारेसमेन्ट भयो । र पनि सबै सहेकै थिएँ ।

पछिल्लो समयमा हामी चार धाम तीर्थ जाने योजना थियो । पोखराको कार्यक्रम सकिएपछि जाउँ भन्नुभयो । मैले हुन्छ भने । म आफ्नो माइतीघर चितवनमा आएँ । साउनको २३ गते उहाँको जन्मदिन मेरो माइतीमा मनायौं ।

भोलिपल्ट मेरो बुबाआमालाई भेटेर आउँछु भनेर हिँड्नुभयो । मैले उहाँलाई कुरिरहेँ । २३ गते जन्मदिन मनाएको हिँड्ने बेलामा मलाई अंगालो हालेर भोलि लिन आउँछु भन्नुभएको थियो । हाँसिखुशी जानुभएको थियो ।

तर भोलिपल्ट अचानक उहाँले डिभोर्स फाइल गरेको भ्वाइस म्यासेज भिनाजुको मोबाइलमा आयो । मैले विश्वासै गरिनँ । कल्पनै गर्न सकिनँ । म बेहोश भएर हस्पिटलाइज भएँ । तर, उहाँ र उहाँको परिवार सम्पर्कमा आउनुभएन । अहिलेसम्म पनि सम्पर्कमा हुनुहुन्न । हामीले भेट्न खोज्दा पनि भेट्न चाहनुभएन । मलाई सबैतिर ब्लक गर्नुभएको छ । आफू भारतदेखि नेपालसम्म कथा वाचन गर्दै हिँड्नुभएको छ । अदालतमा मुद्दा विचाराधीन छ । तर, भाइलाई अदालतमा वारेसनामा दिनुभएको छ ।

अझै पनि केही बिग्रेको छैन । मलाई सम्बन्ध टुटाउन मन छैन । के कारणले डिभोर्स त ? धर्म गुरुले समाजलाई के सन्देश दिनुभएको हो ? उहाँले आफ्नो गल्ती स्वीकार गर्नुभयो भने अझै पनि हामी एक हुन सक्छौं । मलाई सम्मानित अदालतले इन्साफ दिने आशा छ ।

शीतलकृष्णको भनाइ यस्तो छः

लगभग ९ महिना अगाडि मेरो र श्रीमतीज्यूको आचरण र विचार नमिलेपछि उहाँकै हितका लागि सम्मानित अदालत नवलपुरमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको थिएँ ।

जीवनमा यस्तो मोड आयो, मातापिता र श्रीमतीमा एउटा रोज्नुपर्यो । संसारलाई मातापिताको सेवाको उपदेश दिने मैले मातापिताको सेवा रोजेँ । मबाट यही भुल भयो सायद । मैले आफ्नो गृहस्थी चलाउन सकिनँ । यसका लागि क्षमा चाहन्छु ।

अन्यथा अस्ति रिस र आवेगमा आएर पत्रकार सम्मेलन गरेर श्रीमतीज्यूले ममाथि लगाउनुभएको आरोप निराधार र असत्य भएको जानकारी गराउँछु । सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयम् पनि अदालतको अन्तिम निर्णयको प्रतिक्षामा रहेकाले यसमाथि मेरो अन्य टिकाटिप्पणी केही छैन ।

यहाँहरुलाई पनि सम्मानित अदालतको निर्णय नआउँदासम्म थप टिकाटिप्पणी चर्चा परिचर्चा नगरिदिनुहुन हार्दिक निवेदन गर्छु । भक्त सज्जनलाई प्रतिक्षा र धैर्य गर्न निवेदन गर्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर