सुखको मापक के हो ? – Nepal Press

सुखको मापक के हो ?

यस संसारका हरेक मानिसको आफ्नो जीवनको लक्ष्य सुख, शान्ति र आनन्द पाउनु नै हुन्छ । सायदै कोही होला दुःख चाहने ! त्यसैले त सबै दुःखरहित जीवनको प्रयत्नमा सुखका अनेक उपायहरुका खोजीमा हुन्छन् । तर, कहिल्यै तृप्त नहुने सुखको तृष्णामा जीवन रित्तिन लाग्दा पनि आफूले अपनाइ आएका सुखका उपायहरुमाथिको आफ्नो भ्रमलाई बुझ्न सकिरहेका हुँदैनन् । के साँच्चै सुख पाउन त्यस्तो गाह्रो छ र ? कसरी पाउन सकिन्छ त सुख ? के दुःखरहित जीवन नै सुखी जीवन हो त ? केले नाप्न सकिन्छ सुखको मात्रा ?

हाम्रा यी तमाम जिज्ञासाहरुको उत्तर सुख र दुःखको अनुभूति गर्ने हाम्रो ‘म’मा अडेको छ । म छ र त यो संसार छ, अनि सुखदुःख छ । म छैन त केही पनि छैन । चेतनाको प्रथम भाव नै ‘म हुँ’ भन्ने हो । त्यसैले सुखको सवालमा पनि हामी आफूलाई के मान्छौं भन्ने कुराले हाम्रा सुखको स्तरलाई निर्धारण गरेको हुन्छ । म जे होइन, त्यसैलाई नै म ठान्ने आफ्नै अहंकारले बनाएको सुखदुःखको यो भूमरीबाट मुक्ति पाउन ‘म को खोज’ जरुरी छ ।

यो पनि पढ्नुस्: ‘म’को खोज

चेतनाको केन्द्र हाम्रो मस्तिष्कको कार्यगत संरचना नै दुःखबाट जोगिने र सुख खोजी हामीलाई सुरक्षित महसुस गराउन बनेको हो । तर, आफ्नो चेतनास्तरलाई शरीर र मनमा सीमित राख्दा क्षणिक खुशीको छोटो बाटोमै अल्झिएर रमिदिन्छौं । हामी सबैलाई लाग्छ कि आफ्ना आवश्यकता र मनका चाहना पूरा भएपछि खुशी हुनेछौं । हामीलाई यो भ्रम छ कि खुशी भौतिक वा बाहिरी कुरामा छ । र त हामी भौतिक सम्पन्नता वा सुविधालाई आफ्नो जीवनको ध्येय बनाउन पुग्छौं । तर, मानिसको स्वभाव नै ऊ हरेक पल्ट पहिलाभन्दा अझै बढी खोज्छ र आफूसँग भएकोमा भन्दा पनि नभएको कुरामा खुशी खोज्छ । मानिसको यही असन्तोषी स्वभावले नै उसलाई प्रगतिको पथमा अगाडि बढ्न उत्प्रेरित गरिरहेको हुन्छ ।

पश्चिमा दृष्टिकोणबाट हेर्ने हो भने पक्कै पनि नेपाल दुःखी देश हो । किनकि पश्चिमाहरुको बुझाइ सम्पन्नता र सुविधाले सुख मिल्छ भन्ने छ । तर, पूर्वीय अध्यात्मअनुसार सुख र खुशी फरक कुरा हो । खुशी क्षणिक हो भने वास्तविक र स्थायी सुख र आनन्दको लागि मनलाई सन्तोषी बनाउनु हो भनेको छ ।

आज हामीले भोग्न पाएका हरेक सुविधाहरु हाम्रा यही चाहना र सपनाका परिणाम हुन् । हाम्रा पुर्खाहरुको तुलनामा हाम्रो जीवनस्तर भौतिक रुपमा धेरै नै सुविधा सम्पन्न छ । तर, सुखको कुरा गर्ने हो भने सायद प्रश्न/संशय नै होला । यसो भन्नुको तात्पर्य भौतिक सम्पन्नता वा सुविधा खुशीको कारण हुन सक्ला । तर, त्यसले स्थायी सुख दिँदैन भन्नु हो । यस कुरालाई त आजभन्दा २६ सय वर्ष अगाडि नै एउटा राजकुमार दरबारिया सुखसयलको सुविधा त्यागेर सुखको खोजमा निस्केर पुष्टि गरेका थिए । यो संसारमा दुःख छ र यसको कारण आफ्नै अज्ञानता हो भन्ने कुराको बोध गरेर उनी बुद्ध भए । हामी भने अझै पनि सुख र खुशीमा झुक्किरहेका छौं । त्यसैले सम्पत्ति जोड्नु, मान प्रतिष्ठा कमाउनु, मनोरञ्जन अनि मोजमस्तीमा रमाउनुमा नै खुशी मान्छौं । त्यतिले पनि नभएर नशा अनि यौनमा आफूलाई भुलाएर खुशी खोज्न पुग्छौं ।

मानिसले गर्ने हरेक कर्म खुशी पाउन नै हुन्छ । दुःखी र बेखुशी मन नै आज समाजमा फैलँदो घृणा र अविश्वास अनि हिंसाको कारण हो । मानव जीवनमा खुशीको यही महत्वलाई बुझेर नै विश्व शान्ति र दिगो विकासको प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघले सन् २०१३ देखि मार्च २० तारिखलाई विश्व खुशी दिवसको रुपमा मनाउने गरिआएको छ । संयुक्त राष्ट्रसंघसम्बन्धी एक संस्थाले त्यसकै सेरोफेरोमा हरेक वर्ष विश्वका देशहरुमा प्रतिव्यक्ति आय, सामाजिक सुरक्षा, भ्रष्टाचारप्रतिको धारणा, सम्भावित औसत आयु, निर्णयमा स्वतन्त्रता र अघिल्ला दिनका सकारात्मक र नकारात्मक घटनालाई समष्टिमा राखी तथ्यांकहरुको व्यापक विश्लेषण गरेर विश्वव्यापी खुशी प्रतिवेदन पनि प्रकाशित गर्छ ।

यस वर्षको प्रतिवेदनअनुसार संसारको सबैभन्दा खुशी देशमा फेरि पनि फिनल्याण्ड दोहोरिएको छ । नेपाल दुःखी देशमै गनिएको छ । तर, के साँच्चै नेपालीहरु फिनल्याण्ड तथा अरु खुशी देशका जनताको तुलनामा दुःखी नै छौं भन्ने सवालले प्रायको मन गढ्यो पनि होला । पश्चिमा दृष्टिकोणबाट हेर्ने हो भने पक्कै पनि नेपाल दुःखी देश हो । किनकि पश्चिमाहरुको बुझाइ सम्पन्नता र सुविधाले सुख मिल्छ भन्ने छ । तर, पूर्वीय अध्यात्मअनुसार सुख र खुशी फरक कुरा हो । खुशी क्षणिक हो भने वास्तविक र स्थायी सुख र आनन्दको लागि मनलाई सन्तोषी बनाउनु हो भनेको छ । त्यसैले खुशीलाई परिभाषित गर्ने र मापन गर्ने सवालमा पूर्वीय र पश्चिमा बुझाइमा केही फरक छ ।

भोलिको सुखको आशा गरेर हामी अरुको र आफ्नै मनको दासी भएर जीवन बाँच्न बाध्य भइरहेका छौं । सुख खोज्यौं, त्यही भएर त दुःखी छौं । दुःखबाट भाग्न खोज्यौं, त्यही भएर त सुख पनि टाढा भयो । दुःखलाई स्वीकार गर्नु भनेको सुखलाई पनि आमन्त्रण गर्नु हो ।

मनोविज्ञानले खुशीलाई सकारात्मक विचार, धारणा वा दृष्टिकोणले मनमा उत्पन्न भएको एक मानसिक/भावनात्मक स्थिति हो भन्छ । खुशी हुनु वा दुःखी हुनु भन्ने कुरा हाम्रै मस्तिष्कबाट निस्कने रसमा निर्धारित हुन्छ । खुशी भएको क्षणमा डोपामाइन, सेराटोनिन, अक्सिटोसिन जस्ता रसहरुको प्रभाव रहेको हुन्छ । तर, ती रसहरुको असर क्षणिक हुन्छ, केही समयपछि ती रसहरु कम हुँदै जान्छ । फेरि खुशी हुन ती रसहरुको थप मात्रा चाहिने हुन्छ । हामीलाई लाग्छ कि दुःख हटेपछि सुख आउँछ र दुःखरहित जीवनको असम्भव प्रयत्नमा लाग्छौं । तर, जसरी दुःखबाट भागेर वा दुःखलाई भुलेर क्षणिक खुशीमा रमाउन खोज्छौं । त्यसले दुःखको पुनरावृत्तिमात्र गराउँछ । दुःखलाई सामना गर्ने आँट नबटुलिकन सुख वा खुशी प्राप्त हुँदैन ।

हरेक सफलता र सुखको पछाडि नदेखिएका दुःखका कथाहरु हुन्छन् । तर, हामी धेरैजसोले सफलता र सुखको कथामात्र देख्छौं । अनि त्यस्तै सपना बुन्छौं । कुरा अलि निराशावादी लाग्न सक्ला ! तर, यथार्थ सत्य यही हो कि भोलिको सुखको आशा गरेर हामी अरुको र आफ्नै मनको दासी भएर जीवन बाँच्न बाध्य भइरहेका छौं । सुख खोज्यौं, त्यही भएर त दुःखी छौं । दुःखबाट भाग्न खोज्यौं, त्यही भएर त सुख पनि टाढा भयो । दुःखलाई स्वीकार गर्नु भनेको सुखलाई पनि आमन्त्रण गर्नु हो । खुशी हुन आफ्ना आवेग र संवेगको उचित पहिचान गरी आवश्यकअनुसार यस्ता आवेग अनि संवेगको अभिव्यक्ति र नियमन गर्ने कलाका माध्यमबाट आफूलाई सन्तुलित राख्ने सीप सिक्न जरुरी हुन्छ । मानसिक अनि भावनात्मक परिपक्वताले मात्र सो कुरा सम्भव हुन्छ । त्यसैले खुशी मानिसको चरित्र वा व्यवहारले निर्धारण गर्छ वा भनौं सुखी हुनु वा दुःखी हुनु भनेको हाम्रै छनोट हो ।

मनोविज्ञानले दुःखी र समस्याग्रस्त मानिसहरुलाई मात्र होइन सुखी र सफल मानिसहरुको बारेमा पनि अध्ययन र अनुसन्धान जरुरी छ भन्ने उद्देश्यले शुरु भएको सकारात्मक मनोविज्ञान (Positive Psychology) को अभियान आज मनोविज्ञानकै एक अभिन्न पाटो हुन पुगेको छ । सकारात्मक मनोविज्ञानको उदयसँगै पूर्वीय आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोडेर सुखको विज्ञानको आधार तयार हुँदै गइरहेको छ । त्यसैले कतिले यसलाई खुशीको विज्ञान भनी संज्ञा दिन्छन् । सकारात्मक मनोविज्ञानका सहसंस्थापक मिहाइ चिक्सेनत्मिहालईले सन् १९७५ मा सुखसम्बन्धी अध्ययनको क्रममा theory of flow लाई अघि सारेका थिए । उनका अनुसार एकाग्र भइ आफ्नो कर्ममा लीन हुँदा असली सुख प्राप्त हुन्छ जहाँ समयको पनि बोध हुँदैन र कुनै अपेक्षा वा आग्रह पूर्वाग्रह हुँदैन ।

सुखलाई सुविधाको दृष्टिकोणबाट हेर्ने पश्चिमा बुझाइमा विस्तारै परिवर्तन हुन थालेको छ । किनकि सुख सम्बन्धि गरिएका अनुसन्धानहरुको निष्कर्षले पनि सुख र सुविधा फरक कुरा हुन् र सुविधाले मात्र मानिस सुखी हुँदैनन् भन्ने कुरा पुष्टि भएका छन् ।

त्यस्तै सकारात्मक मनोविज्ञानका अर्का सहसंस्थापक डा मार्टिन सेलिगम्यानले सुखसम्बन्धी गरेका खोज र अनुसन्धानमा आधारित आफ्नो पुस्तक Authentic Happiness (2002) मा खुशी र सन्तुष्टिको योगले असली सुख प्राप्त हुने दाबी गरेका छन् । उनका अनुसार खुशी एक सकारात्मक भाव हो, जुन आफ्ना आवश्यकता पूर्ति हुँदाको क्षणिक अनुभूति हो । तर, सन्तुष्टि दीर्घकालीन हुन्छ, जसको लागि आफूलाई चिनेर सकारात्मक चरित्र र सीप विकास गरी कर्ममा डुब्न पाउँदा प्राप्त हुन्छ (6 virtues and 24 character strengths) । उनले आफ्नो जीवनको असली अर्थलाई बुझेर आफैंमा पूर्णता पाउँदा ‘म’को दायरा फराकिलो बन्छ र सम्पूर्ण समाजको सेवा र कल्याण गर्नमा आत्मसन्तुष्टि मिल्छ भनेका छन् । यसरी सुखको लागि छोटो बाटो (short cut) हुँदैन भन्दै पूर्वीय दर्शनले भनेको ‘सन्तोषम् परम् सुखम्’ वा निष्काम कर्म र ‘सेवा परम् धर्म’ वा करुणाको नजिक पुगेका छन् ।

यस दुईतीन दशकमा पश्चिमाहरुले सुखसम्बन्धी थुप्रै खोज तथा अनुसन्धानहरु गर्न थाले अनि बुझ्न थाले कि सुख र खुशी फरक कुरा हुन् । सुखलाई सुविधाको दृष्टिकोणबाट हेर्ने पश्चिमा बुझाइमा विस्तारै परिवर्तन हुन थालेको छ । किनकि सुख सम्बन्धि गरिएका अनुसन्धानहरुको निष्कर्षले पनि सुख र सुविधा फरक कुरा हुन् र सुविधाले मात्र मानिस सुखी हुँदैनन् भन्ने कुरा पुष्टि भएका छन् । जुन कुरा पूर्वीय अध्यात्मले पहिले नै भनिसकेको थियो । सन् १९३० देखि जारी सुखसम्बन्धी एक लामो अनुसन्धान (The Harvard Study of Adult Development) बाट अहिलेसम्म पाएका निष्कर्षले प्रायको सोचभन्दा फरक तथ्यलाई देखाएको छ कि पैसा सफलता वा उपलब्धिभन्दा पनि सुखी र स्वस्थ जीवनको आधार राम्रो मानवीय सम्बन्ध हो ।

थप यो पनि पढ्नुस् : सुखी र सफल जीवनको आधार स्वस्थ सम्बन्ध

सुखसम्बन्धी एक लामो अनुसन्धानबाट अहिलेसम्म पाएका निष्कर्षले प्रायको सोचभन्दा फरक तथ्यलाई देखाएको छ कि पैसा सफलता वा उपलब्धिभन्दा पनि सुखी र स्वस्थ जीवनको आधार राम्रो मानवीय सम्बन्ध हो ।

आफ्नो ‘म’भित्रको व्यापक ‘म’लाई बुझ्न नसकेसम्म आफ्नो अहंकारले बनाएको पर्खालका कारण अरुसंग जोडिन सम्भव हुँदैन । यसै यथार्थलाई बुझेर नै यस वर्षको विश्व खुशी दिवसको नारा ‘सँगै खुशी हौं’ भनी मनाउन लागिएको छ । वास्तवमै खुशी साट्न वा अरुको खुशीको कारण बन्न आफ्नो ‘म’बाट उठेको हुन जरुरी छ । असली खुशी त अरुको खुशीमा रमाउन सक्नुमा छ । आफ्नो म र मेरोले बनाएको संसारमा मात्र आफूलाई सीमित राख्न पुग्दा नै मानिस दुःखी भएको हो । आफ्नो खुशीलाई मात्र प्राथमिकतामा राख्ने अहंकारका कारण अरुको खुशीमा ईर्ष्या पैदा हुन्छ, जसले झन् निराशा र एक्लोपनले गाँझिदिन्छ ।

यो पनि पढ्नुस् : कोही किन एक्लो हुन्छ ?

पूर्वीय आध्यात्मिक दर्शनअनुसार अरुमा निर्भर हुने खुशी क्षणिक हुन्छ, असली सुख आफूभित्र नै निहित रहेको कारण आफूलाई चिन्नु नै जीवनको उद्देश्य हो भनेको छ । न कि क्षणिक खुशीको पछाडि दौडिनु ! आफ्नो अहंकारले बनाएका ‘म’का पत्रहरुलाई उप्काउँदै, खोतल्दै जाँदा चेतनाको स्तर पनि उठ्दै जान्छ । यसरी चेतनाको स्तरसँगै आवश्यकताका तह पनि माथि उठ्दै जान्छ भने सुखका मापक पनि फरक हुँदै जान्छ । मनोविद् अब्राहम मस्लोको आवश्यकताको (hierarchy of needs) सिद्धान्तले प्रष्ट्याएको तल्लो तहका आवश्यकतामै रुमलिएर बस्ने वा सबैभन्दा माथिल्लो तहको आवश्यकता आत्मसिद्धिमा पुगी सुखदुःखको बन्धनबाट मुक्ति प्राप्ति गर्ने ? छनोट आफ्नै हो ।

त्यसैले सुखको मापन भौतिक सम्पन्नतामा होइन आफ्नो अहंकारलाई कति छोड्न सकियो भन्ने कुरामा निर्भर हुन्छ । म जे होइन त्यो हट्दै गएपछि विशुद्ध चेतनाले मसँग जोडिएका विचार र भावलाई साक्षी भइ हेर्नसक्ने हुन्छ । जसले सुखदुःख दुइटै भावलाई तटस्थ भइ हेर्न सिकिन्छ । यसैको लागि पूर्वीय अध्यात्मले मुक्तिको मार्गको रुपमा कर्म योग, भक्ति योग, ज्ञान योग, ध्यान योगका विधि तथा प्रक्रिया सुझाएको हो । तर, आफ्नै अहंकारको स्वचालित संयन्त्रमा बाँधिदा यी कुरा आदर्शका कुनै ठेली लाग्छ । अहंकारको स्वचालित संयन्त्र फुकाउन विचारको चिरफार गर्ने अध्यात्म जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *