हतियारयुक्त देवता, मानव शरीरको विकास तथा चक्र
तपाईं हामी जब मन्दिर जान्छौं वा मन्दिरको बाटो हुँदै यात्रा गर्छौं- त्यहाँ एक दृश्य देख्छौं । त्यो दृश्य के भने चिटिक्क परेर बिनाहातहतियारका मान्छेहरूले हतियारयुक्त र विभत्स देखिने गरेर तयार गरिएको देवताको मूर्तिको पूजा गरिरहेको । आफू चिटिक्क परेर गएका मानिसहरूले आफूले मानेका, आस्था राखिएका, आदर गरिएका देवतालाई श्रृंगार गर्ने नाममा अझ बढी कुरूप तुल्याइरहेका हुन्छन् भने शान्ति र अहिंसाको कामना गर्ने मानिसले देवतालाई हतियार दिएर अझ क्रूर बनाइरहेको देख्नुहुन्छ ।
देवता आफैंले मानिससँग हतियार त पक्कै मागेको थिएन होला । तर, मौन रहेका देवतालाई हतियार दिएर मानिसले शान्ति र अमनचयनको नारालाई किन साथमै राख्यो ? प्रश्न निकै विचारणीय छ । कसैले सोध्नसक्छ- भगवानलाई किन हतियार दिएको ? सर्वशक्तिमान भनिएको भगवानलाई हतियारको आवश्यकता किन ? आफैंले हतियार दिएर हतियारधारीबाट शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभूति कसरी हुनसक्छ ? यस्तो अवस्थामा उत्तर दिन पनि निकै कठिन हुन्छ । चिटिक्क परेर गएका मान्छेहरूले देवताको मूर्तिलाई गरेका अनेकथरी श्रृंगार र जबरजस्ती मुखमा कोच्याइएका खानेकुराले देवतालाई कति कुरूप र विभत्स बनाएको छ भनेर हेर्न हाम्रा मन्दिरहरू काफी छन् ।
प्रस्तुत आलेखमा मानिसले देवतालाई किन हतियार दियो ? कसैलाई हतियार दिएको छ भने कसैलाई हतियाररहित पनि राखेको पाइन्छ । यस्ता कुरामा केन्द्रित रहेर मानव शरीर र मानव सभ्यताको विकासक्रम र मानव शरीरमा हुने चक्रका बारेमा पनि केही चर्चा गर्ने कोसिस गरिएको छ ।
हिन्दू मन्दिरमा हतियारयुक्त देवीदेवताका मूर्तिहरू देख्न सकिन्छ । जस्तैः शिवलाई त्रिशूल, विष्णुलाई चक्र, हनुमानलाई गदा, रामलाई धनुष, कृष्णलाई सुदर्शन चक्र, स्त्री शक्तिका रूपमा देवीलाई तथा पुरुष शक्तिका रूपमा भैरवलाई तरवारसहित धेरै किसिमका हतियारसहित पूजा गर्ने गरेको देखिन्छ । हतियाररहित देवीदेवता पनि छन् । जस्तैः लक्ष्मी, सरस्वती, गणेश आदि । देवतामा पनि हतियारको भेद हुनु तथा हतियारसहित र हतियाररहितको पूजन व्यवस्था तथा देवतापिच्छेको फरक फरक खानेकुरा चढाउने प्रथाले अचम्मित पनि बनाउने गर्छ । परम्परा र तन्त्रका दृष्टिले यी सबै कुराका फरक अर्थ लाग्लान् । तर पनि दृश्यले अनेन इति दर्शन अर्थात् अनेक प्रकारले अवलोकन गर्नु नै दर्शन हो भनिएकाले दर्शनको एउटा कुनाबाट यसको विश्लेषण गरौं ।
हतियार र हतियारधारीका कुरा बुझ्नुभन्दा अगाडि मानव सभ्यताको विकासक्रम र मानव शरीरमा भएका अदृश्य शक्तिको भण्डारलाई बुझ्नु आवश्यक हुन्छ । मानव शरीर र मानव सभ्यताको क्रम नबुझ्दासम्म देवतालाई किन हतियार दिइयो भन्ने बारेमा बुझ्न कठिन छ ।
हामीले खाएका सबै खानेकुरा नाभि चक्र हुँदै पाचन प्रणालीमा निष्कासनतर्फ जाने हुन्छ । नाभि केन्द्र विचारको केन्द्र पनि भएकाले जस्तो खानेकुरा खान्छौं, सोही अनुकूलको विचार उत्पन्न हुने हुन्छ । मानव सभ्यताको विकासको क्रम जब चल्दै गयो र कामकलाको चक्र तोडेर माथितर्फ अग्रसर भयो तब मानव जीवनमा विचारहरूको प्रवाह बढ्न थाल्यो ।
मानव शरीर र सभ्यताको विकास सँगसँगै भएको पाइन्छ । शरीर र सभ्यताको विकास साथसाथै भएकाले यसलाई एकैसाथ राखेर बुझ्दा अझ सहज हुनसक्छ । मानव शरीरमा सात वटा अदृश्य चक्र हुन्छन्, जुन आध्यात्मिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण छन् । ती हुन्- मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपुर चक्र, अनाहत चक्र, विशुद्ध चक्र, आज्ञा चक्र र सहस्रार चक्र । यी सात चक्रको विकासअनुसार नै मानव सभ्यताको विकास भएको देखिन्छ । त्यस्तैगरी शरीर पनि तीन किसिमका हुन्छन्- स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । चक्रको प्रत्यक्ष सम्बन्ध स्थूल शरीर र सूक्ष्म शरीरसँग रहेको हुन्छ ।
मानव शरीरमा यी सात चक्रको प्रभाव मेरुदण्डको तल्लो तहबाट सुरु भएर शिरको माथिल्लो भागमा गएर पूर्ण हुन्छ । पहिलो चक्र अर्थात् मूलाधार चक्र मेरुदण्डको सबैभन्दा तल्लो भागमा अवस्थित हुन्छ । यो चक्र महत्त्वपूर्ण र रहस्यमय पनि छ । अन्तिम चक्र अर्थात् सहस्रार चक्र शीरको उपरिभागमा हुन्छ । यी दुई चक्रका बीचमा पाँच चक्र छन् । यिनै चक्रहरूको माध्यमबाट मानव जीवनमा व्यवहार चलेको हुन्छ । अभौतिक रूपमा रहेका यी चक्रहरूले मानव जीवनको स्थूल र सूक्ष्म शरीरको सञ्चालन तथा व्यवस्थापन गर्ने गर्छन् । त्यसैले पनि जीवनलाई सहज र सरल अनि उन्नयनको मार्गमा लैजान चाहनेहरूका लागि शरीरका सात चक्र र तिनको प्रभावका बारेमा बुझ्न आवश्यक छ ।
शरीरको विकास क्रम
स्थूल शरीरको विकास पनि सात चरणमै भएको हुन्छ । प्रत्येक चरण सात-सात वर्षमा विकास भएको हुन्छ ।
१) पहिलो चरणमा जन्म भएको सात वर्षमा मानव शरीरका सम्पूर्ण अङ्गको विकासको क्रम रहन्छ । यो चरणमा शरीरका आधारभूत सबै अङ्गको विकास हुन्छ । शरीरको आधारमा विकास हुने यो चरणमा मात्रै रहेका मानिसको जीवन पशुतुल्य हुन्छ । केवल उनीहरूसँग शरीरमात्रै हुन्छ, विचार हुँदैन । खानपान, आराम र अभिव्यक्तिको क्षमता यो चरणमा विकास भएको हुन्छ ।
२) जन्मको ८ देखि १४ वर्षसम्मको दोस्रो चरण चाहिं भावना विकासको हो । यौनको परिपक्वता हुनु तथा विचारको सृजना यसै चरणमा हुन्छ । जसअनुसार जीवनको विकासको चरण यही नै रोकिन्छ, उनीहरूको जीवन यौनकै सेरोफेरोमा घुम्ने हुन्छ । सबै प्रकारका यौन अङ्गको विकास भएको र प्रजननका आधारहरू विकास हुने हुनाले जीवनको यो चरणमा प्रकृतिले पनि निकै सहायता गर्ने हुन्छ । यस चरणमा नवीन सृष्टिको सुरुवातको केन्द्र अर्थात् प्रजनन अङ्गहरूको विकास हुने हुनाले यो चरणको विकासमा प्रकृतिको पनि निकै सहायता प्राप्त हुन्छ । अदम्य साहसको सुरुवात पनि यही उमेरबाट हुन थाल्छ । यिनीहरूको जीवन शरीरवादी र भौतिकवादी मात्रै हुन्छ । अन्य कुनै कुराको अस्तित्वलाई यिनीहरू अस्वीकार गर्छन् ।
३) जीवनको तेस्रो चरण अर्थात् १५ देखि २१ वर्षसम्मको समयमा सूक्ष्म शरीर पनि मजबुत हुने हुन्छ । त्यस्तै विचार र तर्क बुद्धिको विकास हुन्छ । यो चरणमै जीवनको विकास रोकिएकाहरूमा विचार र तर्क बुद्धिको प्रचुरता हुने हुन्छ । तर्क र विचार नै जीवनको प्रमुख सार हो भन्ने बाहेक अन्य कुनै कुराले यिनीहरूको जीवनमा खासै महत्त्व राख्दैन । तर्क र विचारका आधारमै जीवनको निर्धारण गर्ने हुनाले यो समयबाट मताधिकार पनि दिइएको हुन्छ भने सामाजिक जीवनमा घुलमिलको आधार पनि यहीबाट सुरु हुन्छ ।
सौम्य र शान्त विचारधारा भएकाहरूले हतियाररहित देवताको परिकल्पना गरे । उग्र र क्रूर विचारधारा भएकाहरूले आफ्नो अनुकूल हुने गरेर भयानक र हतियारयुक्त देवीदेवताका मूर्तिहरू बनाउन र पूजा गर्न सुरु गरे ।
४) जन्मेको २२ देखि २८ वर्षसम्म चौथो चरण रहन्छ । यो चरणमा मानव जीवन तर्क र विचारबाट माथि उठेर मनको विचार गर्ने अवस्थामा हुन्छ । मनशक्ति तथा प्राणशक्तिको आधारमा अविश्वसनीय कार्य पनि सहजै सम्पन्न गर्न सक्ने हुन्छ । यस्तो अवस्थामा व्यक्तिले आफ्नो रक्षा गर्न पनि निकै कोसिस गर्नुपर्ने हुन्छ । समाजले अविश्वसनीय कार्य र तथ्यमा खासै विश्वास नगर्ने हुँदा समस्या आइपर्ने हुन्छ । अनावश्यक आरोपमा मान्छेहरूले ज्यान लिने खतरा बारम्बार हुन्छ किनकि यस्तोमा मनशक्तिले कार्य गर्नु खतरनाक हुनसक्छ ।
चौथो चरण पुगेपछि व्यक्तिका लागि मानव समाज निकै घातक रहन पुग्छ । समाजले सहजै चौथो चरणका व्यक्तिलाई अपनाउन सक्दैन ।
५) २९ देखि ३५ वर्षसम्मको पाँचौं चरण बौद्धिकस्तरको हो । यो चरणमा मनलाई नियन्त्रण गर्ने शक्ति र रूपमा बुद्धिको उपयोग हुन्छ । यो अवस्था भनेको प्रकृतिमाथिको नियन्त्रण गर्न सक्ने अवस्था पनि हो । अविश्वसनीय कार्य, चमत्कार यसै अवधिमा हुन्छन् । मनभन्दा माथि उठेर बुद्धिविलासका कार्य यो चरणमा हुन्छन् ।
६) छैटौं चरण अर्थात् ३६ देखि ४२ वर्षसम्मको अवस्थामा व्यक्ति मन र बुद्धिभन्दा माथि उठेर हुने आत्मचिन्तनमा तल्लीन रहने हुन्छ । जगतको मिथ्यात्व यहीनेर सिद्ध हुन पुग्छ भने व्यक्ति अहंकाररहित बन्न पुग्ने हुन्छ । यो अवस्थामा बुद्धिविलासभन्दा माथि उठेर आत्मचिन्तन र भक्तिधारा चरमवृत्तिका रूपमा रहने हुन्छ ।
७) सातौं चरण अर्थात् ४३ देखि ४९ वर्षसम्मको उमेरमा व्यक्ति लगभग निर्वाणको अवस्थामा हुन्छ । आध्यात्मिक भाषामा भन्नुपर्दा यहाँ आत्मभिन्न कुनै पनि कुराको अस्तित्व रहँदैन । भावना, वासना, विचार, मन तथा बुद्धि सबै निष्क्रिय हुन पुग्छ । चिन्तनको धारा पनि यहाँसम्म आइपुग्दा बन्द नै हुन्छ । यो अवस्था लगभग मुक्तिको अवस्था हो ।
मानव समाजको दुर्भाग्य ! मानव समाज तेस्रो चरण पार गरेर माथिल्लो चरणमा निकै कम पुगेको छ । मानव समाज लगभग दोस्रो तथा तेस्रो चरणमा मात्रै रहेको छ । कोहीकोही व्यक्तिहरू चतुर्थ अवस्थामा पुगेको भए पनि उनीहरू समाजबाट बहिष्कृत हुन पुगेका हुन्छन् । यसैको फलस्वरूप मानव समाजले शताब्दीऔं भइसक्दा पनि नवीन विचारधाराको अनुभूति पाउन सकेको छैन । यो बीचमा नवीन मत तथा धर्म अनि दर्शनको विकास अनि दार्शनिक व्यक्तिहरू मानव समाजले पाउन सकेको छैन । यसका साथै व्यक्तिको आन्तरिक व्यक्तित्वको परिचायक नै उसको जीवनमा सर्वाधिक सक्रिय चक्रका आधारमा हुने गर्छ । जुन चक्र उसको सर्वाधिक सक्रिय हुन्छ, त्यही अनुकूलकै उसको आन्तरिक व्यक्तित्व हुने गर्छ ।
नाभि केन्द्र विचार तथा भयको केन्द्र पनि हो । जब हामी कुनै कुराले भयभीत हुन्छौं वा अधिक खुशीको अवस्थामा हुन्छौं भने उक्त बेला हाम्रो शरीरमा नाभि केन्द्र अधिक मात्रामा सक्रिय हुन थाल्छ । अधिक भयका अवस्थामा मलमूत्र पनि निस्किने हुन्छ ।
शरीरका सात चक्र र तिनको प्रभाव
१) मूलाधार चक्र : यो बीजचक्र पनि हो । यो चक्र मेरुदण्डको सबैभन्दा तल्लो भागमा रहन्छ । यो चक्र सबैको शरीरमा पूर्ण रूपले विकास भएको हुन्छ । मूलाधार चक्रविना जीवन नै सम्भव हुँदैन । जीवनको सुरुवातसँगै मूलाधार चक्र पनि विकसित र सक्रिय हुन थाल्छ । त्यसैले पनि यसलाई मूलाधार चक्र भनिएको हो । यो चक्रमै जीवनको विकास रोकिएकाहरूमा खानपिन, आराम, अभिव्यक्ति जस्ता कुराको मात्रै संस्कार रहन्छ भने जसरी पनि खानु नै उनीहरूको मुख्य लक्ष्य हुन्छ । मूलाधार चक्र सक्रिय भएपछि त्यसपछिका चक्रको विकास र सक्रियताका लागि मानव शरीर सक्रिय हुन्छ ।
२) स्वाधिष्ठान चक्र : स्वाधिष्ठान चक्र मानव शरीरको प्रजनन अङ्गको निकट हुन्छ । यो चक्रले काम तथा वासनालाई सक्रिय अनि आन्दोलित गराउने हुन्छ । मानव सभ्यता र संस्कृतिको प्रारम्भिक कालमा जब मान्छेलाई आफ्नो प्रजनन अङ्गका बारेमा थाहा भयो, तबदेखि नै उसले प्रजनन अङ्गलाई छोप्ने तथा लुकाउने कार्य गरेको पाइन्छ । यसरी छोप्नु तथा लुकाउनु पनि निकै महत्त्वपूर्ण रहेको बुझ्न सकिन्छ । विचार गरेर हेर्दा कामकलाको चक्रका रूपमा रहेको स्वाधिष्ठान चक्र शीघ्र रूपमा सक्रिय र प्रभावित हुने हुन्छ । यसैले पनि शरीरको अन्य अङ्ग छोप्नुभन्दा ज्यादा महत्त्वपूर्ण भनेको कामकलाको अङ्ग छोप्नु नै महत्त्वपूर्ण रहन गयो ।
अन्य चक्रभन्दा चाँडो सक्रिय र प्रभावित हुने र त्यसले मानव चैतन्यलाई पनि प्रभावित पार्ने भएकाले प्रजनन अङ्गलाई लुकाउनुपर्ने अवस्थाको सृजना भयो । प्रकृतिसँगको अत्यन्त निकट रहेको यस चक्रद्वारा नै मनुष्यले आफूलाई सन्तानका रूपमा प्रकृतिमा आफ्नो अस्तित्वलाई सुरक्षित राख्न सक्यो । आफूद्वारा अर्को शरीरको जीवनको रचनाको आकुलता र रोमाञ्चकताको अनुभूति पनि यसै चक्रबाट सम्भव हुन्छ । जसको जीवनमा स्वाधिष्ठान चक्र सर्वाधिक सक्रिय हुन्छ, उसको जीवन सम्पूर्ण रूपमा कामकलाकै वरिपरि घुमिरहने हुन्छ । उसको धर्म, कर्म, जीवनको सारा उन्नतिको कारक तथा पद–प्रतिष्ठा आदि सबैको मूलमा काम वासना नै हुन्छ । काम वासनाविनाको उसको जीवन नै निरर्थक बन्न पुग्ने हुन्छ ।
प्रकृतिलाई पनि अन्य चक्रको तुलनामा कामकला चक्रकै अधिक आवश्यकता हुन्छ । यही कामकलाकै माध्यमबाट प्रकृतिमा नवीन सृष्टि प्रारम्भ हुन्छ । कामकलाको आवश्यकता पशु र मानिसमा बराबर हुने हुन्छ । त्यसैले कामकलासम्म मात्रै सीमित मनुष्य र पशुमा तात्त्विक भिन्नता हुँदैन । पशु जति प्रकृतिको निकट हुन्छ, कामकलाको चक्र सक्रिय भएका मनुष्य पनि त्यत्तिकै रूपमा प्रकृतिको नजिक हुन्छन् । सृष्टिको प्रारम्भिक कालमा जब मनुष्य कामकलासँग परिचित भयो, तब उसले यो चक्रलाई लुकाएर राख्न थाल्यो । सृष्टिको यो अवस्थासम्म मनुष्यले पूजा गर्ने देवता सबै लैङ्गिक रूपमा अस्तित्वमा रहेको बुझ्न सकिन्छ । चक्रकै आधारमा संसारको सभ्यता र संस्कृति विकास हुन थालेको हो । यसैको परिणामस्वरूप कामकलाको अभ्युदय भयो ।
सृष्टिको मूलमा काम शक्तिको प्रधानता रहेकाले तत्सम्बन्धी देवता पनि कामकलाकै बन्न पुगे । संसारका जति पनि धर्म र संस्कृतिमा मूर्ति पूजा हुन्छ, ती सबैमा प्रजनन अङ्गको प्रचुरता हुनु पनि यसै चक्रको परिचायक हो । काम केन्द्र शक्तिशाली रहेका बेलामा देवता पनि काम प्रधान नै रहन गए । काम केन्द्रबाट माथि उठ्ने क्रममा ब्रह्मचर्यको अवधारणाले व्यापकता पाएको देखिन्छ । ब्रह्मचर्यले काम केन्द्रलाई निष्क्रिय गराउन सहयोग गर्ने भयो भने अन्य चक्रको द्वार पनि खोल्दै जाने अवस्था भयो । अनि मानव सभ्यता कामकलाको चक्रभन्दा माथिको चक्र अर्थात् मणिपुर चक्रलाई विकास गर्ने र सक्रिय गर्नेतर्फ अग्रसर भएको पाइन्छ ।
मणिपुर चक्र विकसित र सक्रिय भएका व्यक्तिहरू समाजमा अत्यन्तै न्यून हुन्छन् । यस्ता मानिसहरूलाई समाजले सहजै नपचाउने, समाजले फरक दृष्टिले हेर्ने र समाज त्यस्ता व्यक्तिहरूबाट भयभीत हुन पुग्छ ।
३) मणिपुर चक्र : यो चक्र नाभि केन्द्रमा रहन्छ । हामीले खाएका सबै खानेकुरा नाभि चक्र हुँदै पाचन प्रणालीमा निष्कासनतर्फ जाने हुन्छ । नाभि केन्द्र विचारको केन्द्र पनि भएकाले जस्तो खानेकुरा खान्छौं, सोही अनुकूलको विचार उत्पन्न हुने हुन्छ । मानव सभ्यताको विकासको क्रम जब चल्दै गयो र कामकलाको चक्र तोडेर माथितर्फ अग्रसर भयो तब मानव जीवनमा विचारहरूको प्रवाह बढ्न थाल्यो । आदेश र निषेधका विविध नियम लागू हुन थाले । विविध चिन्तनमननका कार्य हुन थाले ।
मानिसको चिन्तन अनुकूलको देवीदेवताका मूर्तिहरू बन्न थाले । जति जति विचार बढ्न थाल्यो, भयको अवस्था पनि बढ्दै जान थाल्यो । फलस्वरूप अब मानव निर्मित मूर्तिहरू पनि भयानक अनि हतियारधारी बन्न थाले । सौम्य र शान्त विचारधारा भएकाहरूले हतियाररहित देवताको परिकल्पना गरे । उग्र र क्रूर विचारधारा भएकाहरूले आफ्नो अनुकूल हुने गरेर भयानक र हतियारयुक्त देवीदेवताका मूर्तिहरू बनाउन र पूजा गर्न सुरु गरे ।
फलस्वरूप समाज हतियारसहित र हतियाररहित देवताको पूजा गर्ने दुई खेमामा विभाजित हुन पुग्यो । सहज र प्राप्य हतियारहरू देवतालाई चढाउने लहर नै हुन थाल्यो । सभ्यताको विकासअनुसारकै हतियारहरू देवतालाई दिन थालियो । यसो गर्दा देवताहरू अति भयानक र विरूप बन्न पुगे । यति मात्रै होइन, हतियारका साथमा खानेकुरा पनि आफू अनुकूलको चढाउने कार्य त्यसै अनुकूलको बन्न पुग्यो । गणेशलाई लड्डु, शिवलाई धतुरो आदिआदि ।
नाभि केन्द्र विचार तथा भयको केन्द्र पनि हो । जब हामी कुनै कुराले भयभीत हुन्छौं वा अधिक खुशीको अवस्थामा हुन्छौं भने उक्त बेला हाम्रो शरीरमा नाभि केन्द्र अधिक मात्रामा सक्रिय हुन थाल्छ । अधिक भयका अवस्थामा मलमूत्र पनि निस्किने हुन्छ । यसो हुनुको कारण नाभि केन्द्रको अवस्था नै हो । हामीले खाएका खानेकुरा नाभिचक्रमा पाचनको प्रक्रियाकै रूपमा रहेको हुने र भयको अवस्थामा नाभि केन्द्र खाली हुन खोज्छ । नाभि केन्द्र खाली हुने क्रममा मलमूत्रको निष्कासन हुन जान्छ ।
कोही कोही मरणासन्न व्यक्तिको मलमूत्र छुट्ने गर्छ । यसो हुनुको मूल कारण पनि भय नै हो । मृत्युको भयले गर्दा नै त्यस्तो हुन गएको हो । शरीरको तेस्रो केन्द्र अर्थात् नाभि केन्द्र अर्थात् मणिपुर चक्र भयको केन्द्र हुनाले नै भयानक रूपरङ्गका देवताको सृजनाको कारण बन्न पुगेको देखिन्छ । यस्तै देवीदेवताका सामुन्ने मनुष्य आफ्नो शीर निहुराउँदै जीवनको उन्नति र भयको निराकरणको याचना गर्ने हुन्छन् । स्वयंमा भयभीत र विचारहरूको आक्रमणका कारण चिन्तित व्यक्तिहरूको नाभि केन्द्र अधिक सक्रिय हुन्छ ।
मानव समाज तर्क र विचारभन्दा माथि उठ्न नसकेको अवस्थामा रहेको बुझ्न सकिन्छ । मूलाधार, स्वाधिष्ठान तथा मणिपुर चक्रकै वरिपरि अझै पनि आधुनिक मानिएको मानव समाज रुमल्लिइरहेको पाइन्छ । मानव जीवन अझै पनि आफ्नो वास्तविक स्वरूपसँग परिचित हुन नसकेको देखिन्छ ।
यति हुँदाहुँदै पनि केही देवीदेवता भने हतियाररहित पनि हुन्छन् । जस्तैः लक्ष्मी, सरस्वती, रती, कामदेव, ब्रह्मा आदि । धन, ज्ञान र सुखको याचना गरिने देवीदेवतालाई भने कुनै पनि हतियार दिइँदैन । यसो हुनुका कारण मानव मनले त्रासभन्दा बढी आशाको अपेक्षा गरेका हुनाले नै हो भन्न सकिन्छ । यी सबै कुरा मणिपुर चक्रको प्रभाव अनुकूलको नै हो । जसको मणिपुर चक्र अधिक विकसित र सक्रिय रहन्छ, उसको जीवनमा विचारको प्रवाह ज्यादा रहन्छ भने विचारबाट उत्पन्न हुने भयको निवारणका लागि नै मानिसले उसको आफ्नो पुज्य देवतालाई हतियार चढाएको हो भनेर बुझ्न सहज हुन्छ ।
४) अनाहत चक्र : यो चक्र हृदय केन्द्र निकट रहन्छ । हृदय भनेको मन हो भने हृदय केन्द्र शक्तिशाली हुनेहरूमा आत्मविश्वास ज्यादा रहन्छ । मन शक्ति र प्राण शक्तिको योगले असाध्य कर्म पनि गर्न सक्ने खालका हुन्छन् । मणिपुर चक्र विकसित र सक्रिय भएका व्यक्तिहरू समाजमा अत्यन्तै न्यून हुन्छन् । यस्ता मानिसहरूलाई समाजले सहजै नपचाउने, समाजले फरक दृष्टिले हेर्ने र समाज त्यस्ता व्यक्तिहरूबाट भयभीत हुन पुग्छ । अनाहत चक्र योगीहरू, उच्च कोटिका तान्त्रिकहरू, ध्यानीहरूको पूर्ण विकास र सक्रिय हुन्छ । यस्ता व्यक्तिहरू समाजमा सहज हिसाबले बाँच्न सक्तैनन् । समाजले यस्ता व्यक्तिहरूलाई सहजै पचाउन नसक्ने भएकाले नै यिनीहरू समाजबाट केही भिन्न खालको जीवन बिताउन बाध्य हुन्छन् । समाजमा रहेकाहरू पनि समाजमा आफ्नो प्रतिभा तथा व्यक्तित्व लुकाएर बाँच्न विवश हुन्छन् ।
५) अनाहत चक्रभन्दा माथिका पाँचौं चक्रका रूपमा विशुद्ध चक्र, छैटौं चक्रका रूपमा आज्ञा चक्र तथा सातौं चक्रका रूपमा रहेको सहस्रार चक्रको भेदन गर्नेहरू सायद सामान्य मान्छेका लागि प्राप्य नहोलान् ।
यसरी हेर्दा मानव समाज तर्क र विचारभन्दा माथि उठ्न नसकेको अवस्थामा रहेको बुझ्न सकिन्छ । मूलाधार, स्वाधिष्ठान तथा मणिपुर चक्रकै वरिपरि अझै पनि आधुनिक मानिएको मानव समाज रुमल्लिइरहेको पाइन्छ । मानव जीवन अझै पनि आफ्नो वास्तविक स्वरूपसँग परिचित हुन नसकेको देखिन्छ । प्राचीन ऋषिमुनिहरू मनोबल, योगबल, तपोबलको प्रयोग गरेर असाध्य मानिएका कर्महरू पनि सहजै सम्पन्न गर्थे । तर, आजको मानिस मणिपुर चक्रभन्दा माथि जान नसक्दा निरीह र दुःखी जीवन बिताउन विवश छन् । विचार र तर्कबाट उत्पन्न भयबाट पार पाउन नसक्दा नै मान्छेले आफ्नो पुज्य देवतालाई हतियारले सुसज्जित गरेको छ । अनेक रङ्ग र नैवेद्यका नाममा जथाभावी खानेकुरा कोच्याउँदा देवताको स्वरूप नै बिग्रन पुगेको देखिन्छ । अनेकथरी हतियार दिनाले दयालु देवतालाई पनि क्रूर जस्तो बनाएको देखिन्छ ।
जो शान्त अनि सौम्य विचारका थिए, उनीहरूले आफ्नो पुज्य देवतालाई सुन्दर बनाउने कोसिस गरे । अझ माथिल्लो तथामा हुनेहरूले देवपूजन मनोभावले युक्त भएर गर्न सके । सच्चा मनोभावले युक्त भएर गरिने पूजनले नै दैवी शक्ति प्राप्त हुन्छ भने प्राचीन अवधारणालाई मानिसले बिर्संदा र अनावश्यक खर्च गरेर मानसिकभन्दा भौतिक पूजनलाई बढी मान्यता दिँदा धर्म र धार्मिक कृत्य दुवैमा विकृति आएको छ । शरीरको विकास र चक्रको अवधारणा बुझेर मानिस अघि बढ्न सकेमा आजको मानव भविष्यमा अझ शक्तिशाली र अझ बढी उदार अनि सर्वश्रेष्ठ प्राणी बन्नेमा कसैको दुईमत नहोला ।