ऐलानी जग्गा खोज्दै विराटनगर महानगर
विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ ।
विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाप गरिएको छ ।
वर्षौदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित नापजाप गरी छुट्याइएको वडाध्यक्ष तीर्थेन्द्र न्याैपानेले जानकारी दिए ।
विराटनगरभित्र रहेका ऐलानी जग्गा नापजाप गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर कोइरालाले बताए ।
महानगरको स्वामित्वको सो जग्गामा उचित संरचना निर्माण गरेर प्रयोगमा ल्याइने कोइरालाको भनाइ थियो । वडाध्यक्ष नेउपानेका अनुसार नापजापपछि सो ठाउँमा चार कठ्ठा जग्गा ऐलानी भएको पाइएको छ । नापजापपछि चार किल्ला गाडिएको वडाध्यक्ष नेउपानेले जानकारी दिए ।