रुसी कन्सर्टमा गोली चलाउने ११ ‘आतंककारी’ पक्राउ
काठमाडौं । रुसको कन्सर्टमा शुक्रबार राति गोली चलाएर ६० को ज्यान लिने ११ जनलाई रुसी सुरक्षाकर्मीले पक्राउ गरेको छ । रुसले पक्राउ परेकाहरुलाई ‘आतंककारी’ भनेको छ ।
रुसको संघीय सुरक्षा सेवाका प्रमुख एलेक्सेन्डर बोर्तनिकोचले राष्ट्रपति पुटिनलाई पक्राउ परेका चार जना आतंककारीको घटनामा प्रत्यक्ष संलग्नता भएको बताएकाे रुसी मिडिया आरटीले उल्लेख गरेकाे छ ।
रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आक्रमणकारीहरुले अन्धाधुन्ध गोली चलाएका थिए । गोली चलाएर उनीहरुले कन्सर्ट भवनमा आगो लगाएका थिए ।
रुसको राजधानी मस्कोमा अतिवादी हमला हुने संकेत अमेरिकाले केही दिन अगाडि नै दिएको थियो । फागुन अन्तिम साता मस्कोस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीहरुलाई मस्कोमा हमला हुने जानकारी दिएर सचेत हुन आग्रह गरेको थियो ।
अमेरिकाले चेतावनी दिएको झण्डै तीन हप्तामा मस्कोमा अतिवादी हमला भएको हो ।
याे पनि पढ्नुस् : रुसको राजधानीमा केही दिनमै अतिवादी आक्रमण हुने अमेरिकी दूतावासको चेतावानी
नेपाल सरकारले पनि रुसी राजधानीमा भएको हमलालाई आतंककारी हमला भन्दै औपचारिक निन्दा गरेको छ ।