तीन दिने दलित ज्ञान उत्सवको तयारी पूरा, विभिन्न सीपसमेत प्रदर्शन गरिने – Nepal Press

तीन दिने दलित ज्ञान उत्सवको तयारी पूरा, विभिन्न सीपसमेत प्रदर्शन गरिने

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजना गरिने दलित ज्ञान महोत्सवमा यो समुदायले बनाएका विभिन्न सीपसमेत प्रदर्शन गरिने भएको छ ।

चैत १४, १५ र १६ गते तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव आयोजना गरिएको हो । आइतबार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । लुम्बिनी प्रदेशमा यसप्रकारको उत्सव पहिलोपटक गर्न थालिएको हो ।

उत्सवमा २० वटा सेसनमा ८० भन्दा बढी वक्ताहरु तथा साङ्गीतिक प्रस्तुतिहरू रहनेछन् । कार्यक्रममा गायक तथा निर्देशक यशकुमार, कलाकार दिया मास्के, संगितकार तथा सांगीतिक समूह कुटुम्बका सदस्य किरण नेपाली, मानवशास्त्री डा.. शुरेस ढकाल, नेपाली दलित आन्दोलनका अगुवा नेतृत्व पदम सुन्दास, रणेन्द्र बराली, उमादेवी वादी, छविलाल विश्वकर्मा, जीवन परियार, विनोद पहाडी लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने छ । ज्ञान उत्सवको हरेक साँझ सांगीतिक प्रस्तुति रहने छ । यो हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने ज्ञान उत्सवका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बुद्धभूमि रुपन्देहीबाट विभेदका विरुद्ध सन्देश दिने गरी प्रथम दलित ज्ञान उत्सव गर्न लागिएको जानकारी दिए । उनले दलित समुदायको ज्ञान, सीप र पेशा विभेदका कारण पछाडि पारिएको बताउँदै ज्ञानउत्सवले त्यसलाई चिर्ने बताए ।

उनले ज्ञान उत्सवमा विभिन्न बिषयहरुमा छलफल हुने बताउँदै सामाजिक न्याय, समानता र विभेदका विरुद्ध तिलोत्तमा नगरपालिकाले एउटा पहल गरेको बताए । नगरप्रमुख खाँणले तिलोत्तमा नगरपालिकाले भौतिकसँगै मानवीय विकासलाई अघि बढाउने नीति अनुसार ज्ञान उत्सवमा सहकार्य गरिएको बताए ।

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दलितहरुको श्रम, सीप र ज्ञानलाई जोडेर ढलेको आत्मसम्मानलाई उठाउने बताए । उनले प्रथम ज्ञान उत्सवले विभेदरहित र समतामूलक देश बनाउने अभियानमा जोड्ने विश्वास गरे ।

तीन दिने ज्ञान उत्सवले दलित ज्ञान उत्सवले नयाँ इट्टा थप्ने तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए । उनले यो उत्सवमा सहभागिता हुनका लागि समेत आग्रह गरे । बुटवलस्थित होटल पौवामा हुने ज्ञान उत्सव हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन चल्नेछ ।

उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हालेमालोका लागि हामी सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धनदाता तथा पत्रकारहरुको उपस्थिति रहनेछ ।

ज्ञान उत्सवको मुख्य विषय “नेपालमा जातीय अर्थतन्त्र” हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला–साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्रलगायतका विविध विषयमा सम–सामयिक विमर्श हुने दलित रीडरका सल्लाहकार शुभाष नेपालीले जानकारी दिए ।

दलित रीडरका सदस्य निशा हरिजनले तीन दिनसम्म चल्ने ज्ञान उत्सवमा सातै प्रदेशबाट दलित अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा गैरदलित वुद्धिजीवि, पत्रकार, अभियन्तालगायत कलाकारहरुको सहभागिता रहने जानकारी दिइन् ।

यस्तै तिलोत्तमा नगरपालिकाका आर्थिक विकास समिति संयोजक गणेश पाठकले श्रमको सम्मान नगर्दासम्म देशको विकास नहुने भएकाले सम्पूर्ण श्रमिकहरुको सम्मानका लागि पनि यो ज्ञानउत्सव कोशेढुंगा हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर