चलचित्र समीक्षा: ‘जात्रा’ को उचाइ छुन नसकेको ‘महाजात्रा’ – Nepal Press

चलचित्र समीक्षा: ‘जात्रा’ को उचाइ छुन नसकेको ‘महाजात्रा’

काठमाडौं । सुरुमै भनाैं, ‘जात्रा’ र ‘जात्रैजात्रा’ हेरेका दर्शकलाई ‘महाजात्रा’ ले उस्तो रोचकता थप्दैन । ‘जात्रा’ अगाडि ‘महा’ जोडिए पनि तेस्रो सिक्वेलमा आइपुग्दा फिल्म निर्बल बनेको छ । अघिल्ला सिक्वेलकै मर्मलाई समातेर कथा तानतुन गरिएको छ । केही नयाँ चरित्र थपिएका छन् । केही नयाँ प्लटहरुमा खनजोत गरिएका छन् । अघिल्ला सिक्वेलको तुलनामा सबैभन्दा नयाँ चाहिँ ५० करोड थपिएको छ । अर्थात् पात्रहरु ९० लाखको लोभमा एक गाडी कालोधन लुकाइदिन संघर्ष गर्छन् ।

निर्देशक प्रदीप भट्टराईले पुरानै हतियारलाई पुनः आरनमा हालेर पाइन लगाएका छन् । तर, धारिलो बनाउन सकेका छैनन् । आरनमा हाल्नुअघिकै हतियार अलि धारिलो थियो बरु । ‘महाजात्रा’ हेरिरहँदा लाग्छ, ‘जात्रा’ नै काफी थियो । केही नयाँ दृश्य, विषय र पात्रले भरिएको ‘महाजात्रा’को अगाडि ६ वर्षअघिको ‘जात्रा’ निकै नै गह्रुंगो छ ।

यस पटक निर्देशक भट्टराई राजनीतिमा घुसेका छन् । तर, निर्देशकका लागि राजनीति भँडासमात्रै हो कि अन्य थोक पनि केही हो ? यहाँ स्पष्ट हुन सकेको छैन । राजनीतिज्ञ बनाएर निर्देशकले पुण्यप्रसाद (हरिवंश आचार्य)लाई फिल्ममा छिराएका छन् । तर, नेता पुण्यप्रसाद राजनीतिज्ञ कम, युट्युबतिर गफ छाँट्ने कथित् विश्लेषक/अभियन्ता ज्यादा देखिन्छन् ।

फिल्ममा भाइरल इन्स्पेक्टरको रुपमा खत्री (दिव्य देव)ले भूमिका निभाएका छन् । भाइरल इन्स्पेक्टरले आफ्नो धन्धामा टाँग अड्याउन आएपछि पुण्यप्रसाद सीधै प्रहरी कार्यालय पुगेर सिनियर प्रहरीको अगाडि इन्स्पेक्टरलाई युट्युबे शैलीमा सम्झाउँछन्/थर्काउँछन् ।

राजनीति भ्रष्ट छ, नेताहरु भ्रष्ट छन् । तर, उनीहरुले पुण्यप्रसादले गर्ने जस्तो हर्कत गर्दैनन् । गर्नैपर्ने भए प्रहरीको माथिल्लो निकायसँग सीधै सरुवा-बढुवाको काम गराउनसक्ने क्षमता भएका भावी गृहमन्त्रीले इन्स्पेक्टरलाई थर्काउनुको तुक देखिँदैन । पुण्यप्रसाद नेता हुन् भन्ने आभास उसको ड्रेसअपले मात्रै दिन्छ, चरित्रमा नेता महसुस गर्न गाह्रो छ ।

भाइरल इन्स्पेक्टर फिल्मको सुरुमै केही अपराधीलाई लखेटिरहेका छन् । उनलाई पछ्याइरहेका छन्, केही मिडियाकर्मी । इन्स्पेक्टरलाई पछ्याउँदै मिडियामा लाइभसमेत गरिएको छ । यस्तो दृश्यको सम्भावना त फिल्ममा मात्रै होला । ‘महाजात्रा’ पनि फिल्म हो, यहाँ जे पनि सम्भव हुने नै भयो । युट्युबतिर कसैको घरझगडाको लाइभ खिच्नु र गुण्डासँग लडिरहेको प्रहरीको दृश्य खिच्नु चाहिँ विल्कुल फरक काम हुन् ।

तर, फणिन्द्र (विपीन कार्की), जोयस (रवीन्द्रमासिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा)ले बोकेर हिँडेको कथाको मर्ममा पुण्यप्रसाद, भाइरल इन्स्पेक्टरले हिर्काइदिएका छन्, अतिरञ्जना थपिदिएका छन् । त्यसैले त ‘जात्रा’भन्दा निर्बल बनेको छ ‘महाजात्रा’ !

‘महाजात्रा’को कथा उही हो, जो ‘जात्रा’ र ‘जात्रैजात्रा’मा छ । फणिन्द्र, जोयस र मुन्नाले आकस्मिक रुपमा प्राप्त हुने धनलाई व्यवस्थापन गर्न संघर्ष गर्छन् । यी तीन पात्रले ‘महाजात्रा’मा कालो धनलाई १० दिन लुकाइदिनुपर्ने जिम्मेवारी आइलाग्छ । विदेश जान मेडिकल गर्न आएका मुन्ना, फिल्ममा करियर खोजिरहेका जोयस र हातमा सीप भएर पनि बेरोजगार बनेका फणिन्द्र कामको सिलसिलामा पुनः एक ठाउँमा आइपुग्छन् । यसपछि उनीहरुले गर्ने उतारचढावपूर्ण संघर्षमै फिल्म अगाडि बढेको छ ।

अघिल्ला सिक्वेलमा जस्तै यस पटक पनि तीन पात्रले नै फिल्मलाई धानेका छन् । उनीहरुले भोग्ने दुःख, संघर्ष र अप्ठेराले दर्शकलाई कतै आनन्द दिन्छन् त कतै भावुक बनाउँछन् । जोयसकी आमा होऊन् या फणिन्द्रकी श्रीमती (वर्षा राउत), यी पात्रहरुले फिल्मको मूल पात्रलाई बलियो बनाएर लैजान दरिलो साथ दिएका छन् ।

फिल्मले धेरै विषयलाई छोएको छ । तर, छिपछिप छुनु र डुबुल्की नै मार्नु फरक विषय हुन् । यहाँ जति पनि विषय छन्, ती सबै छोइएकामात्रै छन् । बाँकी विषयलाई छोए पनि फिल्मले उठाएको मूल विषय राजनीतिलाई गहिरो गरी छोइदिएको भए कति जाति हुन्थ्यो । किनभने पछिल्लो समय राजनीति फगत धन्धामात्रै हो कि भन्ने भाष्य बलियो बनेको छ । चाहे सुन प्रकरण होस् या भुटानी शरणार्थी प्रकरण ! चाहे कर छलीको विषय होस् या ललिता निवास प्रकरण या अन्य सरकारी जग्गा हड्पिएका घटना ! निर्देशक भटट्राईले यी विषयलाई गम्भीरताका साथ उठाउन सक्थे पुण्यप्रसादको माध्यमबाट ।

‘महाजात्रा’ मात्रै होइन, पछिल्लो समय समकालीन राजनीतिलाई छोएर बनाइएका ‘दिमाग खराब’, ‘नांगो गाउँ’ जस्ता फिल्महरु पनि आए । अझै केही समयसम्म पपुलिस्ट राजनीतिलाई छोइएका फिल्महरु आउने नै देखिन्छ । तर, कुरुप राजनीतिक खेलोफड्कोलाई ल्याउँदा मेकरहरुले भाइरल मनोवृत्तिलाई केन्द्रमा राखेरभन्दा पनि त्यसका विविध आयामहरु खोतल्ने गरी ल्याउनुपर्छ ।

वहालवाला मन्त्रीको नाम नै थाहा नपाउने, उसले गरेका भ्रष्टाचारमा नीतिगत लुपहोलबारे थाहा नपाउने, तर संजालमा ‘काण्ड’ भनेर हल्ला गरिएका विषयमा चासो राखेरमात्रै मेकरहरुले राजनीतिलाई छुनुहुन्न । यसरी छोइँदा राजनीति र राजनीतिज्ञको सबैभन्दा कुरुप पाटोलाई गम्भीर हिसाबले ल्याएर जनतामाझ पस्कने जिम्मेवारीबाट फिल्म पर भाग्छ ।

‘भ्रष्टाचार’ फगत ‘काण्ड’ भनेर आमदर्शकले बुझिदिने खतरा भइदिन्छ । एउटा अमूक नेता वा कोही व्यक्तिले भ्रष्टाचार गर्दै गर्दा जनताको जीवनमा कति ठूलो असर गर्छ भनेर बुझ्ने अवसरबाट दर्शक च्युत भइदिन सक्छन् । मनोरञ्जन सँगसँगै सन्देश पनि दिन कोसिस गर्ने मेकरहरुले विषयवस्तुलाई अलि क्रिटिकल भएर हेरिदिए गजब हुन्छ फिल्म ।

किनभने यी विषय, पात्र र प्रवृत्तिको शिकार जहिल्यै भूईं मान्छे हुने गरेका छन् । यिनीहरुको केन्द्रमा जहिल्यै गरिबीले थिलथिलो बनाएका निहत्था नागरिकहरु हुने गरेका छन् । ‘महाजात्रा’मा पनि त्यही छ । गरिबीले उठ्नै नसक्ने गरी थला परेका पात्रहरुलाई पुण्यप्रसादले आफ्नो शिकार बनाएका छन् ।

त्यस्ता पात्रहरु समाजमा लाखौं छन् । जसको इमानदारीको कुनै कदर छैन समाजमा । सिर्फ पैसा हुनुपर्‍यो । पैसा कमाउनेहरुको समाजमा हैसियत अचानक बढेर जान्छ । तर, रातारात त्यो पैसा उसले कसरी कमायो ? यो प्रश्न गर्न समाज तयार छैन । अनि समाजको यही मानसिकताको शिकार फणिन्द्र, मुन्ना, जोयसहरु हुनुपर्छ । निर्देशक भट्टराईले सुषुप्त रुपमा दिएको यो सन्देशले चाहिँ सिंगो ‘महाजात्रा’लाई सुन्दर बनाएको छ ।

फिल्ममा धेरै कमजोरी छन् । मसिनो गरी केलाउँदै जाँदा समस्याहरु नभेटिने होइनन् । सिनेम्याटोग्राफी व्यवसायिक फिल्ममा जसरी नै चलाइएको छ । ब्याकग्राउण्ड स्कोर ठीकठाक नै छ । फिलरको रुपमा प्रयोग गरिएका दुई गीत फिल्ममा नराखे पनि हुन्थ्यो । तर, निर्देशक भट्टराईले ‘महाजात्रा’लाई मनोरञ्जनात्मक बनाएका छन् । व्यवसायिक फिल्मको फ्रेमभित्र निर्देशक भट्टराईले आफ्नो कला देखाएका छन् । पहिलो हाफसम्म दर्शकलाई हसाउन फिल्म सक्षम छ । दोस्रो हाफमा दर्शकलाई रुवाउन पनि फिल्म सक्षम छ । समग्रमा चाहिँ औसतभन्दा माथि उठ्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर