सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्र शिथिलतामा गयो: अर्थमन्त्री पुन – Nepal Press

सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्र शिथिलतामा गयो: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र संकट वा महासंकटमा नरहेको बताएका छन् । तर अर्थतन्त्रमा शिथिलता रहेको उनको स्वीकारोक्ति थियो ।

मन्त्रालयको चालू आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तरमन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको बताए ।

राजस्व संकलन र पूँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्न अर्थमन्त्री पुनले मन्त्रालयका दुवै सचिव, सह–सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिए ।

अर्थले अरु मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो उति नै छिटो नतिजा आउने उनको भनाइ छ । मन्त्री पुनले विगतमा खर्च गर्न कस्दा बजार चलायमान हुन नसकेको बताए ।

सरकारले सकेसम्म खर्च बढाउनुपर्ने उनको भनाइ थियो । ‘खर्च गर्न टाइट गरिएका कारण राजस्व संकलन पनि खुम्चियो’, मन्त्री पुनले भने, ‘अर्थले खर्चका लागि प्रेरित गर्नेबित्तिकै अरुले पनि खर्च बढाउँछन् ।’

उनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको औंल्याए ।

‘असल नियतले सुशासन कायम गर्न काम गरेपछि राम्रा व्यवसायीलाई फाइदा पुग्छ’, मन्त्री पुनले भने, ‘राज्यले पक्रेर थुनेरमात्र हुँदैन । प्रेरित गराएर कानून कार्यान्वयन गराऔं ।’

फरक प्रसंगमा उनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिवलाई निर्देशन दिए ।

मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्यसम्पादन गर्न थालेकामा चिन्ता जनाए ।

‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पूँजीगत खर्च कम भएको छ । राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ’, पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *