प्रहरीलाई फाेटाे खिच्ने भन्दै कर्णालीमा हाम्फालेका थिए १७ युवा – Nepal Press

प्रहरीलाई फाेटाे खिच्ने भन्दै कर्णालीमा हाम्फालेका थिए १७ युवा

कैलाली । सोमबार कैलालीमा पुलमा होली खेल्नेहरूको घुइँचो थियो । पर्यटकीय क्षेत्र भएको हुँदा पनि वरिपरिका युवाहरू होलीमा रङ्गिन कर्णाली पुगेका थिए ।

एक हुल युवाहरू कर्णाली पुलतर्फ लागे । केहीको शरीरको माथिल्लो भागमा लुगा थिए, रङ्गले रङ्गिएका थिए । पानीले रुझेका थिए ।

इलाका प्रहरी कार्यालय चिसापानीकाअनुसार माथिल्लो शरीरको कपडा फुकालेर सडकमा डुलिरहेका उनीहरूलाई नदीतर्फ नजान भनिएको थियो । तर साथीहरू धेरैपछि भेट भएकाले सामूहिक तस्बिर खिच्ने भन्दै उक्त समूह अघि बढ्याे ।

प्रहरीले सोधे, ‘कता हिँड्नु भएको ?’

‘ऊ पुलसम्म । फोटो खिचेर फर्किहाल्छौँ,’ उनीहरुले प्रहरीलाई भने ।

फाटो खिच्न भनेर पुल पुगेका युवाहरू एकाएक पुल माथिबाट हाम्फाल्न थाले ।

केहीले नगर भने । तर, एकएक गर्दै १७ जनाले पुलबाट हाम्फाल्न । तीमध्ये १६ औँ पटकमा हामफालेका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म पनि फेला परेका छैनन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेपनि उनी भेटिएका छैनन् । साँझ परेका कारण मंगलबार(आज) लाई खोजी कार्य स्थगित गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

‘हामीले सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित नदीमा उहाँको खोजी गरेका थियौँ तर भेटिनुभएको छैन’, प्रहरी निरीक्षक डाँगीले भने, ‘आज साँझ परिसकेकाले खोजी कार्य स्थगित गरिएको छ । भोलि बिहानैदेखि पुनः खोजी गरिनेछ ।’

प्रहरी निरीक्षक डाँगीले कर्णाली नदीमा हामफालेकामध्ये ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनकाअनुसार उनीहरूलाई सोधपुछपछि मात्र घरपरिवारको जिम्मा लगाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर