बनेपा नगरपालिकाको स्थापना दिवस मनाइयो
काभ्रे । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका छन् ।
बुधबार काभ्रेमा बनेपा नगरपालिकाको ४३औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले खानेपानीको समस्या देशभर रहेको भन्दै स्थायी रूपमा नै खानेपानी समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन् ।
बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा संघीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको भन्दै मन्त्री राईले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने औंल्याए ।
नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको उनको भनाइ छ । मन्त्री राईले आर्थिक विकासलाई तीव्रताका साथ अघि बढाउन सरकारले काम गरिरहेको पनि बताउका छन् ।
त्यस्तै एमाले सांसद गोकुल बास्कोटाले बनेपामा करिडोर, फिल्म सिटी, विश्वविद्यालय निर्माणले गति लिनुपर्ने आवश्यकता औंल्याए । काभ्रे भ्याली एकीकृत खानेपानीको कार्य सम्पन्न हुनै लाग्दा निर्माण व्यवसायले अटेर गरेर मुद्दा हालेको, लगानीकर्ता एडीबी भागेको, सरकारले हात झिकेको उनले सुनाए ।
त्यस्तै बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले नगरपालिकाले गरेका विविध गतिविधिको जानकारी गराउँदै नागरिकका आधारभूत आवश्यकता पूरा गर्न आफूहरू क्रियाशील रहेको जानकारी गराए ।
कार्यक्रममा बनेपा नगरपालिकामा कार्यरत रही सेवा प्रदान गरेका कर्मचारीलाई विभिन्न पदकका साथ सम्मान गरिएको थियो ।