३ महिनाका लागि भारतबाट विद्युत् ल्याउने बाटो खुल्यो
५५४ मेगावाट आयात गर्न अनुमति
काठमाडौं । भारतले नेपाललाई दिने विद्युत्को सम्झौता नवीकरण भएको छ । भारतले नेपालमा निर्यात गर्ने सम्झौता ३ महिना थप गरेको हो । भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीनसम्म नेपालले विद्युत् आयात गर्न पाउने छ ।
नयाँ सम्झौता अनुसार ५५४ मेगावाट विद्युत् नेपालले आयात गर्न पाउने छ । भारतले नेपाललाई विद्युत् निर्यातको सम्झौता नगरेको भएर नेपाली बजारमा विद्युत् अभाव हुने अवस्था रहेको थियो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतसँग ३ महिनाको लागि विद्युत् आयात गर्न पाउने सम्झौता भएको बताए ।
१ वर्षको लागि सम्झौता गर्ने तयारी भएको बेला किन ३ महिनाको लागि मात्रै सम्झौता गरेको भन्ने प्रश्नमा आफूलाई त्यो विषयमा जानकारी नभएको बताए ।
ढल्केवर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारण लाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट आयात गर्न भारतले अनुमति दिएको प्राधिकरणले बतायो ।
हाल भारतबाट करिब साढे ५ सय मेगावाट विद्युत् आयात भइरहेको छ ।