आमा याङ्ग्री पुगेपछि
हिमाल किन अग्लोहोचो, होचोअग्लो हुन्छ होला ?
आमा याङ्ग्री पुगेपछि एकाएक यो प्रश्न मेरो मुटुमा शक्तिशाली बनेर आयो । कहिलेकाहीं मनमनै प्रश्न र मनमनै उत्तर निक्लँदाको छुट्टै मज्जा हुन्छ । यस्तै भयो । सम्झें, सीधा भए न मुटु न त हिमालकै महत्व छ । मुटुको चाल सीधा देखायो भने मुटु रहँदैन, मान्छे मर्छ । हिमाल सीधा लाइनको देखियो भने हिमाल रहँदैन, मर्छ । मुटु र हिमाल दुइटै हाम्रो सास फेर्ने स्रोत हुन् भन्ने बोध भयो ।
आँखालाई आनन्द दिने, नाकलाई मीठो सास दिने, कानलाई हिमालबाट आएको बतासको आवाज पठाउने, छाला मस्त चिसो बनाउने, सेतो हिमालका यस्ता राता कथाहरु नेपालमा जति कहाँ पो होलान् ? शेर्पाहरु पैसाको लागि र अरु सौखको लागि हिमाल चढ्ने अन्तर छैन होला र ! अनि सेतो हिमालमा शेर्पाको पुर्खाको बगेको रातो रगतको कुरा कहिले आउने ? मान्छेको कथाको किताब बनाउने कर्म बोकेकाले आमा याङ्ग्री हिमालको पिक प्वाइन्टमा गएर फर्केपछि बाटोमा यस्ता धेरै कुरा खेलिरहे मेरो मनैमा ।
गीत सुनेको थिएँ-
आमा याङ्ग्रीको मेलामा
भेट भएको बेलामा ।
मैले तिमीलाई रोजेको ।
तिमीले कसलाई खोजेको ?
पहिले मलाई आमा याङ्ग्री भनेको के होला भन्ने लाग्थ्यो, यो गीत सुन्दा । पछि थाहा पाएँ- यो त हिमाल रहेछ । त्यहाँ गएपछि थाहा भयो, यो त प्रकृतिको विशाल क्यानभास रहेछ । जसले आँखामा धेरै चित्र कोरिरहेको थियो । यसको अर्थ जान्न मन लाग्यो । ‘आमा’- आमा भयो । ‘याङ्ग’ भनेको लक्ष्मी र ‘री’ भनेको डाँडो रहेछ । अर्थात- आमाले लक्ष्मी बनेर रक्षा गरिदिएको डाँडो ! यसको उचाइ ३,७७१ मिटर छ । यसले बौद्ध धर्ममा ठूलो महत्व बोकेको रहेछ, ठूलो तीर्थस्थल रहेछ । गुरु पद्मसम्भवका कथाहरु यसमा जोडिएका छन् ।
होलीको बिदाको समय आयो । लगातार दुई दिन बिदा भएपछि कहाँ जाऔं भन्ने लागिरहेको थियो । अहिले नजिकै र फेशन झैं बनेको आमा याङ्ग्री जाने सल्लाह गरे साथी अशोक सिलवालले । ल जाऔं न त भनेर मेलम्चीसम्म आफ्नै गाडीमा जाने र त्यहाँबाट लोकल गाडीमा गएर हिँड्ने सल्लाह भयो ।
बाटो बन्नु विकासको पूर्वाधार हो । गणतन्त्रपछि गाउँगाउँमा बाटो पुगेको छ । बनेको बाटो कति टिकाउ हुन्छ ? त्यो अर्काे चर्चाको विषय हुनसक्छ । तर, साँखुबाट काठमाडौं मेलम्ची दुई घन्टामै पुग्न सकिने भइसकेको छ । त्यो रात मेलम्चीमै बास बसियो । मेलम्ची बसाइमा क्रममा राजनैतिक, सामाजिक, आध्यात्मिक, दार्शनिक सबै गफ भए । गफपछि प्रकृतिको नसा पो नसा भन्ने लागेर मेलम्ची खोलातिर लागें । खोलाबीच रहेको ढुङ्गोमा बसें । अलौकिक आनन्द आयो । कानमा खोलाको मधुर संगीत, छालामा हावा, आँखामा ढल्कदै गएको सूर्य ! वाउ ! जिन्दगी झैं लाग्यो ।
पर्वतबाट निक्लिएपछि मात्रै खोला बन्छ र कम्फर्ट जीवन छाडेपछि मात्रै मान्छे बन्छ । कहाँ पर्छ समुद्र भनेर नसोधी निरन्तर बगेर खोला लक्ष्यमा पुग्छ । अनि मान्छे संसारलाई आफू जाने बाटो सोध्दै हिँडेर कही पुग्दैन भन्ने लाग्यो । मेलम्चीले मच्चाएको वितन्डा पनि देखें । कत्राकत्रा ढुङ्गा यो कहाँबाट बगाएर ल्याएका होलान् ! अनि खेतहरु सखाप पारेको, घरहरु मर्याकमुरुक पारेको देखेर खोला रिसाएपछि र मान्छे रिसाएपछि यस्तै त हुने होला भन्ने लाग्यो । यस्तै कुरा मनमा हालेर खोलाको पानीसँग ठोकिएपछि आउने कलकल सुन्दै थिएँ । एकाएक चरा त मेरो टाउकोमा आएर बस्यो । आँखा चिम्म गरेकाले उसले सोच्यो होला यो मान्छे निकै बेर यहाँ स्थिर भएको छ । बस्दा केही फरक पर्दैन । चराको चिरबिरले म आनन्दित भएँ । खुशी लाग्यो ।
दोस्रो दिन तार्केघ्याङ जान लोकल बस खोज्दै मेलम्ची बजारमा हिँड्दै जाँदा बसभित्रैबाट आवाज आयो- तार्केघ्याङ जाने आउनुस् । लोकल बसमा आफ्नै सुगन्ध हुन्छ- स्थानीय भाषा, रहनसहन, भेषभुषा । तर, त्यो बसमा त स्थानीयभन्दा पनि नारायणटार शिव चोकबाट बिहान ६ बजे नै आउने एकमात्र बसमा हिँडेका युवायुवतीहरुको जोडी धेरै रहेछन् । सब सीट उनीहरुले प्याक गरिसकेछन्, बाँकी मान्छे उभिएर आएका रहेछन् । हामी पनि एकले अर्काेलाई धकेलाधकेल गर्दै गाडीभित्र पस्यौं ।
घरमा जंगलको बाटो जानुपर्छ, एक्लै हुने होला भनेको सम्झें । नगइदिए पनि हुन्थ्यो, होली आएको समयमा भन्ने आसयको सिमल र सिर्जनाको भनाइ सम्झें । जंगलको बाटो छ होला, हिँड्ने बेलामा यसो भने भन्ने लागिरहेको थियो । टन्नै मान्छे देखेपछि आँट पनि पलायो ।
बाटोमा खेत बगर भएको देखें । घरहरु, खेतहरु सखाप भएको राक्षसी दृश्य हेर्दै गयौं । मेलम्ची त नराम्ररी बौलाएको रहेछ । कसरी बसे होलान् त्यो दिन मान्छेहरु भन्ने लाग्यो ।
तार्केघ्याङ जाने बाटो एउटामात्रै गाडी अट्ने थियो । अर्काे गाडी आउँदा कसरी साइड देला भन्ने लागेको थियो । बाटोमा अर्काे गाडी आयो । उसले निकै पछाडि ब्याक गरेर ठाउँ दियो । बेलाबेलामा गाडी गुडिरहँदा यो बाटोमा गाडी चढ्नु पनि साहसिक काम झैं लाग्यो । अगाडिबाट हेर्दा बाटो सकिएको छ । अब कसरी गाडी जान्छ झैं भयो । भित्तामा गाडी लगेर फेरि ब्याक गर्दै तार्केघ्याङ पुर्यायो ।
आहा ! त्यहीबाट हिमालको चिसो अनुभूत गरें । यसो हेरेको आँखाले पनि हिमाल देखे । लस्करै चैत्यहरु सफा र मुसुक्क मुस्कुराइरहेका थिए । गाडीबाट ओर्लंदा पानी परिरहेको थियो । त्यहाँबाट हामीलाई पुग्नु थियो बेसक्याम्प । ९० रुपैयामा बर्सादी किनेर त्यहीबाट ओडेर लागियो उकालो बेसक्याम्पको । हिँड्दै गफ गर्दैको मज्जा पनि छ पदयात्रामा । चुप लाग्दै हिँड्नुको पनि छ । कुनै बेला कुन रोजिन्छ, कुनै बेला कुन ? सुरुको समय थियो । बाटोमा आउने जानेसँग कुरा गर्दै हिँडियो । कहिले उनीहरुलाई अघि, कहिले उनीहरुलाई पछि छाड्दै हिँडदाहिँड्दै बेसक्याम्प आइपुगियो ।
हामी त्यहाँ पुग्दा त अरु ५० जना पुगिसकेका रहेछन् । फोर ह्वील गाडी, स्कुटर र बाइकमा बेसक्याम्प पुगेका धेरै रहेछन् । हामीले पाइहालिन्छ नि बस्ने ठाउँ भनेर बुक नगरी आएको त ‘बस्ने ठाउँ नै छैन । अर्काे रिसोर्ट तल छ, त्यहाँ जानुस्’ भन्छ । पाँच मिनेट तल गएर सोध्दा त्यहाँ पनि बस्ने ठाउँ छैन भनियो । लौ अब तल तार्केघ्याङ नै जानुपर्यो भन्दै बेसक्याम्पको गेटमा आयौं । मान्छेका त झनै भीड बढिसकेछ । बल्लतल्ल दुई जना सुत्ने गरी एउटा म्याट्रिक्स पाइयो ।
एक टेन्टमा ८ जना बस्नुपर्ने र एक हजारमा एक छाक खाना र बसाइ पाइने भयो । त्यो पनि धन्न भयो भनेर बासको जोहोपछि आगो फुकेको ठाउँमा बसियो । हिमालको चिसो हावा काट्न आगोको तातो शरीरमा हालियो । शरीर तताउने आगोसँगै केही लिएपछि साथीहरुले नाचगान पनि गरे । नचिनेका नयाँ मान्छे धेरै थिए । सँगै बसमा आए पनि चिनजान भएको थिएन । सबैसँग परिचय भयो । गीत, कविता, गजल सुनियो । नचिनेका चिनेका झैं भए । नजानेका जानेका झैं भए । एक अर्काेमा देख्दा नाम भनेर बोलाउने भइयो । दाजुबहिनी, काकाकाकी यस्तै नाता पनि बनिहाल्यो ।
भर्खरका बहिनीहरुको एक ग्रुप रहेछ । आफ्नो ग्रुप बनाएर हाइकिङ, ट्रेकिङ जान थालेको र धेरै ठाउँ गएको कहानी उनीहरुले सुनाउँदा बदलिँदै गएको समाजको दृश्य देखेर खुशी अनुभूति गरेें । मस्त काम गर्ने र फुर्सदमा प्रकृति नियाल्न निक्लने र प्रकृतिमा गएर आफैंलाई हेर्ने हाइकिङ, ट्रेकिङको चलन नेपालीमा बढ्दै गएको देखेर खुशी लाग्यो । रातको १०ः०० बज्न घडी दौडिरहेको थियो । भोलि बिहान झिसमिसेमै पिकमा पुग्नु छ भनेर हामी सुत्यौं ।
बिहान ३ बजे नै हिँडने भनिएको थियो । टेन्टमा मान्छे कराएको सुने । लौ मान्छेहरु उठेर हिँड्न थालिसकेछन् । घडी हेर भनेर सँगै सुतेको साथीलाई खुुसुखुसु भने । तीन हैन एक बजेको रहेछ । फेरि सुतियो । बिहान ३ बजे आसपास फेरि चर्काे आवाजमा सिठी बजाउँदै कराएको आवाज आयो । घडी हेरें, तीन बजेको रहेछ । ल जाऔं भनेर हतारहतार पिकतिर निक्लियौं ।
चन्द्रमा पूर्ण भएको थियो । आज होली पूर्णिमा । चन्द्रमाको उज्यालोमा उकालो लागियो । जंगलमा मोबाइलको लाइट बालेर हिँडियो । चकमन्न बाटो हिँड्दा डर पनि लाग्यो । हामी सबैभन्दा अगाडि रहेछौं । हामीभन्दा अगाडि लाइट बाल्ने कोही देखिएनन् । होलीको स्वागत गर्ने पूर्ण चन्द्रमामात्रै हामी सँगसँगै थियो । बीचबीचमा रुखमा छेकिएर आएको चन्द्रमाको शितल उज्यालोले आकाशमा हैन धर्तीमा तारा देखेको थिएँ ।
म त छक्क परें । के चम्केको होला ? कतै यहाँको ढुङ्गामा हीरा पो छन् कि झैं लाग्यो । चन्द्रमाको प्रकाश पर्दा त्यो ढुङ्गामा देखिएको चमकचमकले मन असाध्यै चम्कियो, रमाइलो लाग्यो । उज्यालो भएपछि थाहा पाएँ- राति परेको हिउँमा चन्द्रमाको उज्यालोले धर्ती चमकधमक भएको रहेछ । क्या मज्जा लाग्यो, त्यो व्याख्या गर्न नसकिने दृश्य देखेर ।
उकालो त्यो पनि ठाडो । हिजै दुई घन्टा लाग्छ तपाईंलाई हामीलाई एक घन्टा भनेको थिए स्थानीयले । रोकिँदै र हिँड्दै गरियो । हिमाल चढ्नु एक मनोविज्ञान हो, स्वास्थ्य पनि । पदयात्रा पदयात्रामात्र हैन, एक जीवन दर्शन हो । पदयात्रामा उकालो ओरालो बन्छ । ओरालो उकालो बन्छ । पदयात्राले भन्छ, लक्ष्यमा पुगिन्छ हिँडिरहुँ । उकालो विस्तारै हिँड जीवनको होस् वा धर्तीको । भीडहरु हुन्छ । तर पनि जीवन एक्लै हुन्छ र एक्लै रमाउनुपर्छ । कति हो कति जीवन दर्शन पदयात्राको !
मनमनमा आयो- गुरु र धर्मात्मा, अध्यात्मिक र धार्मिक कति मान्छे हिँडे होलान् यो बाटो ? आज हामी हिँडिरहेका छौं । करिब ३२०० मिटरमा रहेको बेसक्याम्पबाट हिँडदै जाँदा ३७७१ मिटरको पिक प्वाइन्ट आइपुग्यो । वाउ जिन्दगी झै लाग्यो ! त्यहाँ पुग्दा चन्द्रमाले बाई र सूर्यले हाई भन्न खोजिरहेको थियो । चन्द्रमाको उज्यालोमा दिव्य हिमालहरु देखिए ।
एकैछिनमा मान्छेहरु बेस्कन चिच्याए । पूर्वमा सूर्य उदाइरहेको रहेछ । सधैं देखिने सूर्य पनि आज फरक लागेको थियो । कारण हामी हिमाल सामुन्ने थियौं । चिसोले कठयाङ्ग्रिएका हामीलाई सूर्य तात्तातो सुप झैं भएको थियो ।
वाउ हिमाल ! वाउ आँखाको आनन्द ! वाउ प्रकृतिको दिव्य छटा ! वाउ धर्तीको स्वर्ग ! शब्दमा बयान गर्न नसकिने त्यो दिव्य हिमालको दर्शनले मनै प्रफुल्ल भयो । हिजो अस्ति पानी परेर बादल लागेर हैरान भएका थिए मान्छेहरु । हिमाल देख्न नपाएर बीच बाटोमा एक जनाले ‘माथि गएर कामै छैन, नजानुस् । पिक प्वाइन्ट त झनै नजानुस्’ भनेका थिए । उनी भन्दै थिए- ‘बादल जस्तै जताततै सेतो देखिन्छ । तर, हिमाल केही देखिँदैन ।’
संयोग, हामी पुग्दा तीन दिनको पानीपछि हिमाल खुलेको थियो । बाटैमा तारा आकाशैभरि देखिएको थियो । त्यहाँ पनि टन्नै हिमाल देखियो । कति हिमालले लुगा लगाएका थिए, कति भने छ्याङ्गै थिए । हिउँ नभएको कालो पहाड देख्दा संसारमा बिग्रँदै गएको अनुभूति भएको थियो । पुनहिल जाँदा होस् वा मर्दी हिमाल, एकातिर मात्र हिमाल देखिन्थ्यो । यहाँबाट सबै साइडमा घुमेर चारैतिर हिमालैहिमाल देखिएको थियो ।
लाङटाङ हिम श्रृंखला, जुगल हिम श्रृंखला, गौरीशंकर हिम श्रृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाल गरी दुई दर्जन हिमाल हेर्दा मनमा अलौकिक, अद्भूत आनन्द आइरह्यो । हिमालमा बसेर फोटो खिचियो । त्यहाँ टाँगेका प्रेयर फ्लागले पनि मनमोहक बनाइरहेको थियो । बतासले ताली पिटे झैं यी झण्डाहरु हल्लिँदाको मादक सौन्दर्यता वाउ !
गुम्बामा होस् वा हिमालमा, चन्द्रमाको समयको सौन्दर्य, सूर्यको समयको सौन्दर्यको रौनकता बयान गर्न शब्द कम हुन्छ । जतिबेर बसे पनि नपुग्ने त्यो पिकमा मान्छे थपिइरहेका थिए । स्वाँ स्वाँ र फ्याँ फ्याँ गर्दै गाह्रो गरेर त्यहाँ पुगेर हिमाल देखेपछि उनीहरुको आँखामा चमक र अनुहारमा देदिप्यमान उज्यालो चम्किरहेको हुन्छ ।
होलीको दिन थियो । ह्याप्पी होली भनेर मान्छे चिच्याए । बेलुन जस्तै रङ्गको मुस्लो निकालेर नाँचे र गाए । दुई घन्टा बस्दा हात नै चिसोले कक्रिएको थियो । ज्याकेटले पनि चिसो थाम्न सकेन । उकालो चढ्दाको ताप त एकछिनमै गायब भइसकेको थियो । जति बसे पनि धित नमर्ने ठाउँ भए पनि ओर्लनै पर्छ । लगभग तीन घन्टा बसेपछि हामी ओर्लियौं ।
चुच्चोबाट झर्दा पहिलेको भन्दा विस्तारै ओर्लनपर्छ भन्ने दर्शन प्रकृतिले दिइरहेको थियो । बेसक्याम्पमा आएर आजै मेलम्ची कसरी जान सकिन्छ भन्नेतिर लागियो । बोलेरोमा झुण्डिएर तार्केघ्याङसम्म र त्यसपछि भित्र बसेर मेलम्ची आयौं बाटोभरि सेतो, रातो र रातो-सेतो लालीगुराँस हेर्दै । मेलम्ची पुगेपछि आफ्नै गाडीबाट एकै दिनमा घर पुग्यौं । होली बाँकी नै थियो, रङ्ग खेलियो ।
घर पुगे पनि यात्राको सम्झना मनमस्तिष्कमा घुमिरह्यो । यात्राको मादकता मनमा आइरह्यो, सम्झिरहें । मन रमाउँदा सबै रमाइलो लाग्ने ! आमा याङ्ग्री पुगेर त आइयो, अब कहाँ जाने ? मनले प्रश्न गरिरह्याे- साँच्चै अब कहाँ जाने ? कहाँ पुग्ने ?
आफै पुगिएको झैं लाग्ने लेख,
मिठा र सरल शव्द वाक्य मालाले उनेको “यात्रामाला”,
अवको गन्तव्य पनि यस्तै चखिलो होस्,
हामी पनि साक्षी बन्न पाऔं।
सुन्दर प्रकृति ,सुन्दर बर्णन ,सुन्दर लेखन
एक चोटि पुग्ने निधो गरियो ।।।