नरवीर दमाईले भोगेको ‘जनयुद्ध’- लखनउमा हाेस खुल्याे, नेपालमा शहीद घोषणा !
‘टाउकोमा जनयुद्धको बमको छर्रा बोकेर डेढ वर्षदेखि सिंहदरबार ओहोरदोहोर’
काठमाडौं ।
- २०५४ – एसएलसी पास, दलित दलबहादुर परियार गाउँमा विज्ञानको शिक्षक भई आउँदा गाउँलेद्वारा विद्यालयमा ढुंगामुढा प्रहार !
- २०५६ जेठ २२ – आधिकारिक रुपमा भूमिगत !
- २०५८ – पेटको क्यान्सरको उपचार गर्न दैलेखको सदरमुकाम गएका पिताको ४ करङ सेनाद्वारा भाँचियो ।
- २०५९ जेठ १९ – रुकुमको खारा आक्रमणमा सेनाले बिछ्याएको माइनमा परेर घाइते !
- २०५९ कात्तिक २९ – जुम्लाको खलंगा आक्रमणमा जीपीएमजीको गोली तिघ्रामा, माइनका छर्राहरु टाउको र जिउभरि !
- २०५९ मंसिर – २२ दिनपछि लखनउमा होस खुल्यो, नेपालमा शहीद घोषणा !
- २०६१ – दैलेखको डुंगेश्वर भिडन्तमा बहिनी ‘रचना’को बलात्कारपछि हत्या !
- २०६३ चैत – घरमा श्रद्धाञ्जली सभा, त्यही वेला आँगनमा उपस्थित !
- २०६८ पुस – ९ वर्षअघि दिमागमा अड्किएको बमको छर्राका कारण घरमै बेहोस !
- २०७५ मंसिर – माइतीघरमा ११ दिनसम्म आमरण अनसन !
- २०७९ भदौ १९ – आत्मदहकै सोचसहित सिंहदरबार पुग्दा साथीभाइद्वारा उद्धार !
- २०७९ भदौ २ – सिंहदरबार अगाडि आत्मदह प्रयास !
उल्लेखित मितिहरु तत्कालीन जनमुक्ति सेनाका भाइस कम्पनी कमाण्डर नरवीर दमाई ‘विमर्श’को जीवनमा आँधीबेहरी ल्याउने मोडहरु हुन् । ४२ वर्षीय नरवीरको जीवनमा उल्लेखित १२ घटना नघटेको भए, अहिले उनी अर्कै अवस्थामा हुन्थे, दिमागको झिल्लीमा २१ वर्षदेखि बमको छर्रा टाँसिएर बसेको हुन्थेन । पेटमा अझै पनि बमको छर्रा अड्किएको हुन्थेन । बमको छर्रा पिँडौलामा बोकेर दाहिने खुट्टाले पाइला सार्ने थिएन । खुट्टामा रक्तसञ्चारका लागि प्लास्टिकको नशा हुने थिएन । दायाँ आँखाको दृष्टि गुम्ने थिएन । दायाँ कानको सुन्ने क्षमता कमजोर हुने थिएन ।
कहिलेकाहीं दिमागको झिल्लीमा भएको छर्रा हल्लिएपछि बेहोस भएर ढलिरहने थिएनन् । महिनाको १५-२० हजारकै औषधि खानुपर्ने थिएन । विगत डेढ वर्षदेखि हरेक दिन उपचारको आशमा सिंहदरबार धाउनुपर्ने थिएन, आफ्नै सुप्रिमोलाई गुहार्नुपर्ने थिएन । हरेक भेटमा आश्वासनमात्रै लिएर फिर्नुपर्ने थिएन । सिंहदरबार अगाडि आत्मदाहको प्रयास गर्नुपर्ने थिएन । यदि उल्लेखित १२ घटना नरवीरको जीवनमा नघटेको भए अन्य धेरैथोक हुनसक्थ्यो !
भएको जायजेथा बेचेर उपचार गर्नुपर्ने थिएन । उपचार गर्न जाँदा उल्टै आर्मीले बाको चारवटा करङ भाँच्ने थिएन । बहिनीलाई कब्जामा लिएर बलात्कारपछि हत्या गरिने थिएन । बाँकी नरवीरको जीवनमा धेरै थोक हुनसक्थ्यो ।
प्रधानमन्त्रीको आश्वासनले कुहिँदै गएको पीडितहरुको घाउ
पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि मात्रै नरवीरले तीनचार पटक भेटिसके । डेढ वर्षदेखि नियमित रुपमा सिंहदरबार धाइरहेका छन् । राज्यले उपचार खर्च व्यहोरिदेओस् र जीवनयापनका लागि सहज अवस्था सृजना गरिदेओस् भनेर सुप्रिमोलाई भेट्न दिनदिनै सिंहदरबार पुग्छन् नरवीर ।
२०७८ साल पुसमा नरवीरले सुप्रिमो प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेटेका थिए, आफ्नो समस्या बेलिविस्तार लगाएका थिए ।
त्यसवेला प्रचण्डले भनेका थिए, ‘तपाईंको अवस्था हामीलाई थाहा छ कमरेड ! पार्टी जिम्मेवारीपूर्वक लागेको छ । यस पटकको चुनावमा हाम्रो गठबन्धन बहुमतले विजयी हुन्छ । हाम्रो पार्टीको सरकार बन्छ । तपाईंलाई पहिला त उपचार गर्नुपर्यो । तपाईंलाई अमेरिकासम्म लगेर भए पनि उपचार गरिन्छ । अहिले चुनाव लागेको छ, आफ्नो कार्यक्षेत्रमा जानुहोस् ।’
नरवीर सुप्रिमोको आश्वासनपछि कार्यक्षेत्रमा खटिए । बर्दियामा सञ्जय गौतमलाई जिताउन महत्वपूर्ण भूमिका खेले । उनी भन्छन्, ‘त्यसपछि उहाँ प्रधानमन्त्री हुनुभयो । तीनचार पटक भेट नै भइसक्यो । प्रधानमन्त्रीज्यूले आधा पार्टीले र आधा सरकारले खर्च व्यहोर्ने भन्नुभएको थियो । सही वेला आएको छ, यतिवेला नगरे कहिले गर्ने भनेर भन्नुभएको थियो । तर, अहिलेसम्म केही भएको छैन ।’
नरवीरले प्रत्यक्ष आफ्नै आँखाले देखेका छन्, आफूलगायत पीडितले समस्या सुनाएपछि प्रधानमन्त्रीले सचिवालयका मान्छेहरुलाई निर्देशन पनि दिएका थिए, घाइतेहरुको लिस्टिङ गर्न भनेका थिए । तर, लिस्टिङको जिम्मेवारी पाएका व्यक्तिले काम किन गरेन ?
उनले डेढ वर्षको सिंहदरबार पैदलै हिँडेर पुग्दा बुझिसकेका छन्, ‘तलका मान्छेहरुले फूलबुट्टे रिपोर्ट लगेर प्रधानमन्त्रीलाई बुझाउँदा रहेछन् । हामीले सबै काम गरिसक्यौं भन्दा रहेछन् । तर, काम गरेका चाहिँ केही हुँदैन ।’
जिम्मेवारी पाएका व्यक्तिहरुले नरवीरको फोन पनि उठाउँदैनन् । धेरै पटक फोन गर्दा ब्ल्याकलिस्टमा राखिदिएको र सिंहदरबार जाँदा प्रधानमन्त्रीलाई भेट पनि नदिएको उनको गुनासो छ ।
केही समयअघि मात्रै नरवीर र अन्य घाइतेहरु सिंहदरबार पुगेका थिए । उनीहरु प्रधानमन्त्रीलाई नभेटी नफर्कने अडानमा थिए । सचिवालयले सुरुमा प्रधानमन्त्री बाहिर भएको बतायो । पछि बैठकमा भएको बताइयो । प्रधानमन्त्री सिंहदरबारबाट बाहिरिएपछि कुरा गर्न भनी बोलाइयो ।
नरवीर आक्रोश पोख्छन्, ‘प्रधानमन्त्री गइसकेपछि बोलाएर हामीले सचिवालयको मान्छेको मुख हेर्नु ? घाउ पाकिरहेको छ । कतिपय घाइते साथीहरु त उपचार नपाएर बितिसके । हामी पनि केही संख्यामा छौं । यो संख्या पनि बढ्ने खालको संख्या होइन । घट्ने खालको संख्या हो ।’
माओवादीले जितेको, नरवीरले हारेको खलंगाको त्यो लडाइँ
अहिले नरवीरको खुट्टामा लगाइएको प्लास्टिकको एउटा नशा चुँडिएको छ । पाँच वर्षको ग्यारेन्टी थियो, तर टिकेन । कलंकीबाट सिंहदरबार हिँडेरै जाने र हिँडेरै फिर्ने गरेकाले नशा चुँडिएको उनी बताउँछन् । एउटा नशा फेर्नमात्रै ८० हजार भारु लाग्छ ।
नरवीरको खुट्टामा प्लास्टिककै नशा लगाउनुपर्ने कारण चाहिँ २०५९ कात्तिक १९ गतेको जुम्लाको सदरमुकाम खलंगा हमला हो । त्यस युद्धमा जीपीएमजीको गोली तिघ्रामा लागेर उनी घाइते भएका थिए । नरवीरको तिघ्रामा अहिले ठूलो खाल्डो छ । गोलीले नशाहरु क्षतविक्षत बनाएपछि प्लास्टिकको नशा लगाइएको थियो ।
त्यसवेला घाइते ज्यान अलि पर सर्न खोज्दा माइनमा परेर उनको जीउभरि बमको छर्रा पस्यो । टाउकोमा पनि छर्रा भासियो । अहिले त्यही छर्रा बोकेर बाँचिरहेका छन् नरवीर ।
जीवन नै बदलिदिने खलंगाको त्यो घटना सम्झन्छन्, ‘जसरी पनि आक्रमण सफल पार्नुपर्छ भनेर कोचिङ भएको थियो । तर, युद्धको क्रममा जीपीको बुलेट लागेपछि म ढलें । म ढलेपछि सुर्खेतको विशाल कमरेडले पछाडि अरु साथीहरु पनि ढलिसके, तपाईं पछाडि लाग्नुस्, हामी अगाडि बढ्छौं भन्नुभयो । विशाल कमरेडले टावेल दिनुभयो । रगत बगिरहेको खाल्डोमा टावेलकाे बुजो हालें । त्यहाँबाट निस्कन खोज्दा माइनमा परें । माइन पड्कियो, त्यहाँबाट उछिट्टिएर टाढा भुईंमा झरेर बेहोस भएछु ।’
यसपछि एकै पटक २१-२२ दिनपछि लखनउको भरोसा अस्पतालमा नरवीरको होस खुल्यो । त्यसपछि उनले थाहा पाए, खलंगामा नरवीरलाई उठाएर प्राथमिक उपचारको टोलीले रुकुमका घाइते लडाकुसितै लहरै राखेका थिए । तर, रुकुमका ती घाइते लडाकुको सुताएकै ठाउँमा सास गयो । नरवीरलाई उपचारतिर लगियो ।
‘म त लखनउ पुगिसकेको रहेछु । शरीरमा कपडा थिएन । शरीरको कपडा त बारुदले जलिसकेको रहेछ । कालीकोटकी विपना भन्ने बहिनी साथमा थिइन् । सहयोगीको रुपमा उनलाई पठाइएको रहेछ’, नरवीर त्यो कहालीलाग्दो अवस्था सम्झन्छन्, ‘मलाई एउटा स्लिपिङमा बेरेर लगिएको रहेछ । जिउमा जलेर बाँकी रहेको एउटा कट्टुमात्रै रहेछ ।’
लखनउमा दिशा भएको वेला नरवीरको होस खुलेको थियो । होस खुल्दा बारुदका कारण उनले आँखा देखेनन् । कानले राम्रोसँग सुनेका थिएनन् । आफैंलाई छामछुम गरे । विपनाले सोधिन्, ‘के छाम्नुभयो दाइ ?’
खलंगामै रहेको ठानेर नरवीरले भने, ‘हामी कतिखेर जाने ?’
‘हामी त लखनउ आइसक्यौं दाइ । आज २२ दिन भइसक्यो ।’
‘लडाइँ कस्तो भयो ?’
‘हामीले जितिसक्यौं ।’
खलंगामा माओवादीले युद्ध जितेको थियो । तर, नरवीरले भने सधैंका लागि हारिसकेका थिए ।
लखनउको अस्पतालमा ६ महिनासम्म बसे । त्यही वेला विपनापछि नरवीरको सहयोगी बाजुराका राजु बनेका थिए । राजुलाई पार्टीले नै खटाएको थियो ।
प्रवास शाखाका जाजरकोटका खगेन्द्र सेनले उपचारका लागि राजुलाई २५ हजार भारु छाडिदिएका थिए । अप्रेसनपछि नरवीरको हात, खुट्टा शय्यामा बाँधिएका थिए ।
‘राजुले निकै कसेर बाँधिदिएछ । राति घाउ दुखेपछि थाहा पाएँ । बिहान भयो, राजु आएन । चिया खान गएछ, सोचें । तर, ऊ आएन । भोलिपल्ट पनि आएन । हात यता तानेको छु, उता तानेको छु । तर, डोरी खुस्काउन सकिनँ । राजु त पैसा लिएर भागेछ’, नरवीर भन्छन् ।
पाँच दिनसम्म नरवीर भोकै बसे । शय्यामै दिसा भयो । पिसाब भयो ।
पाँचौं दिन डाक्टर घाउको ड्रेसिङ गर्न सुरक्षित सेल्टरमा आए । ढोका हाने । नरवीरले सोचे, राजु आयो । अब खाना खान पाइने भयो ।
ढोका खुल्यो । डाक्टरले नरवीरलाई देखे । तर, गन्धका कारण डाक्टर भित्र छिर्न सकेनन् । त्यस क्षेत्रको कोअर्डिनेसन गरिरहेका जगत र ज्ञानेन्द्र नाम गरेका व्यक्तिहरु आए । दिसापिसाबले दुर्गन्धित बनेको शय्या नै फालिदिए ।
‘त्यो दुर्गन्धले म निको हुनेभन्दा पनि झनै बिरामी भएँ’, नरवीर भन्छन् ।
यसपछि नरवीरलाई थप उपचारका लागि पन्जाब लगियो । त्यहाँ अप्रेसन भयो । अप्रेसनको वेला सरदारको पगडी लगाएका, लामा दाह्री पालेका व्यक्ति आए । नरवीरको खुट्टा छामे । नरवीरले डराउँदै हिन्दीमा भने, ‘एक्सिडेन्ट भएको हो ।’
ती व्यक्तिले भने, ‘नेपालीमै भन्दा हुन्छ । म प्रचण्ड हो । चिन्ता नगर्नुस्, अब उपचार हुन्छ । छिट्टै निको भएर घर जानुपर्छ ।’
‘त्यतिखेर मलाई कस्तो लाग्यो भने भगवान नै मेरो सामुन्ने आयो । म ठीक हुन्छु जस्तो लाग्यो । एकातिर साथीले छाडेको पीडा थियो । तर, भगवान नै आयो भन्ने भएपछि आँखामा आँसु आयो । म मजबुत हुन्छु भन्ने पनि भयो । त्यस्तो मरणासन्न अवस्थामा पनि बाँच्ने आत्मविश्वास बढेर आयो ।’
उपचारपछि प्रचण्डका ज्वाइँ नातामा पर्ने पाठक थरका व्यक्तिको घरमै बसाइयो । त्यहाँ उपचार भयो । घरमा जनादेश पत्रिका आइपुगेको रहेछ । नरवीरले पत्रिका पल्टाए ।
पत्रिकामा लेखिएको थियो, ‘महान शहीद कमरेड विमर्श, हार्दिक श्रद्धाञ्जली !’
मरिसकेको मान्छे घरको आँगनमा पुग्दा….
नरवीर ‘विमर्श’ जिउँदै थिए । तर, मृत घोषित गरेर श्रद्धाञ्जली दिइसकेछ पार्टीले । महान शहीद घोषणा गरिसकेछ ।
आफूलाई श्रद्धाञ्जली दिइएको पत्रिका पढेपछि नरवीर रन्थनिए । घरमा के भयो होला ? आमालाई के भयो होला ? सहयोद्धा श्रीमती कल्पनाको मनमा कस्तो पहिरो गयो होला ? प्रश्नहरुको बाढी आयो नरवीरको दिमागमा ।
अनि निर्णय लिए, ‘म जसरी पनि घर पुग्नैपर्छ । एक पटक घर पुगेर आफू जिउँदो भएको बताउनैपर्छ । अनि फेरि उपचार गर्न फिरुँला ।’
२०६२ सालमा घर जान हिँडे नरवीर ।
जाजरकोट पुगे । जाजरकोटमा कालीबहादुर मल्ल थिए बटालियन कमिसार । कालीबहादुरले एउटा घोडा मगाइदिए । एक जना साथीले उनका झोला बोकिदिए ।
गाउँ पुग्दा केही माओवादीका कार्यकर्ताहरु प्रचारप्रसार गर्दै थिए उनकै श्रद्धाञ्जली कार्यक्रमको । दुई जना माओवादी कार्यकर्ता चाहिँ नरवीरकी आमालाई भन्दै थिए, ‘आमा नरुनुस् ! तपाईं महान शहीदको आमा हुनुहुन्छ । तपाईंको छोरा देशका लागि शहीद हुनुभयो ।’
तर, आमा भने झन् झन् रोइरहेकी थिइन् ।
भोलिपल्टको श्रद्धाञ्जली सभाका लागि घरमा गाउँलेहरु टन्नै भेला भएका थिए । नरवीर जून लागेको समयमा पुगेका थिए । घोडामा नरवीर तलतिरबाट घरको आँगन उक्लिरहेको देखेपछि गाउँले भूत ठानेर आगो फाल्न थाले ।
‘ममाथि आगो फाल्न थालेपछि डर पनि लाग्यो । तर, मेरो भान्जाले आएर मामा आउनुभयो भन्यो । मनबाट डर अलि हट्यो’, त्यो क्षण सम्झन्छन् नरवीर ।
नरवीर आँगनमा पुगेर घोडाबाट ओर्लिए । एक जना साथीले घोडालाई अलि पर खाँबोमा बाँध्यो । दिदी हुत्तिँदै आँगनमा आइन्, त्यही बेहोस भइन् । श्रीमती आइन् । भूत हो कि होइन भनेर नरवीरको शरीर चिमोट्न थालिन् ।
‘म भूत थिएँ भने मेरो छाला त हुँदैन थियो नि ! अनि मैले भनें, ‘किन यस्तो गरिरहेको ?’ यसपछि मात्रै सारा मान्छे मसँग झुम्मिएर रुन लागे । मेरी आमालाई सम्झाइरहेका साथीहरु भागे’, नरवीर सुनाउँछन्, ‘त्यस घटनापछि सारा गाउँलेहरु खुँडा, लठ्ठी लिएर माओवादीलाई गाउँमा खोज्न थाले । किनभने आफ्नै साथी मरेको थाहा पाउँदैनन् भने देशका लागि के गर्लान् ?’
त्यसवेला नरवीरकी बहिनी रामसारी नेपाली ‘रचना’ शहीद भइसकेकी थिइन् । दैलेखको डुंगेश्वरको भिडन्तमा सुरक्षाकर्मीद्वारा कब्जामा लिएर बलात्कारपछि मारिएकी थिइन् ।
नरवीर दर्दनाक मृत्यु झेलेकी बहिनीलाई सम्झन्छन्, ‘बहिनी पनि शहीद भएपछि घरमा एक अर्कै खालको परिस्थिति सृजना भएको थियो । मेरी बहिनी सशस्त्र महिला थिइन् । उनलाई समातियो । समातेपछि गोली हानेर मारिदिएको भए हुन्थ्यो होला । तर, मेरी बहिनीसहित तीन जनालाई पालैपालो बलात्कार गरेर, स्तनहरु काटेर, गुप्तांगमा संगीन घोचेर मारिएको थियो ।’
नरवीर घर पुगेको भोलिपल्ट दैलेखको माओवादी इन्चार्ज घरमा आए । नरवीरलाई अभिनन्दन गर्दै भने, ‘हामीलाई थाहा भएन । यो भुलचुकको कुरा हो ।’
नरवीर शहीद हुनुमा भएको चाहिँ के थिएछ भने घाइते भएपछि नरवीरलाई रुकुमको एक घाइते योद्धासँगै लहरै राखिएको थियो । तर, रुकुमका ती योद्धाको भने त्यहीँ मृत्यु भयो । नरवीरलाई उठाएर थप उपचारका लागि भारततिर लगियो ।
केही समयपछि राजनीतिक कमिसार प्रेम आएर सोधेछन्, ‘यहाँको बिरामी खै ?’
साथीहरुले भनेछन्, ‘उहाँ त शहीद हुनुभयो ।’
नरवीर भन्छन्, ‘उहाँलाई मलाई त्यही रुकुमको योद्धा सोच्नु भएछ । कति मान्छे कहाँ मरेका थिए, सबैको लास पाउने अवस्था पनि रहेन । मरेका योद्धालाई नजिकै पायक पर्ने ठाउँमा सदगद पनि गरिहालिन्थ्यो । प्रेम कमरेडले म मरेको ठानेपछि बटालियन कमाण्डर परिवर्तनलाई जानकारी दिनुभएछ- विमर्श कमरेड शहीद हुनुभयो । बटालियन कार्यालयले श्रद्धाञ्जली कार्यक्रम पनि गरेछ । अनि घरमा श्रद्धाञ्जलीको कार्यक्रम हुनेवेला म घरमा पुगेको थिएँ ।’
घरमा नरवीर केही समय बसे । अलि निको भए । हिँडडुल गर्न सक्ने भए । यसपछि फेरि उपचारका लागि भारत गए ।
दोस्रो पटक उपचार गरेर फर्कंदा देश शान्ति प्रक्रियामा गइसकेको थियो । जनमुक्ति सेना ब्यारेकमा बस्न थालिसकेको थियो । कार्यकर्ताहरु घर फिरिसकेका थिए ।
नरवीर प्रश्न गर्छन्, ‘अब म चाहिँ कहाँ जाने ? त्यसवेलादेखि लावारिस भएको, अहिलेसम्म त्यस्तै छु । म पुनःस्थापना हुन सकेको छैन । पार्टी छ, पार्टीले व्यवस्थापन गर्ला भन्ने लाग्छ, अहिलेसम्म गरेको छैन ।’
युद्धपछिको त्यो सुनौलो बिहानी र अँध्यारो कालरात्रि
नरवीरको जाने ठाउँ कतै थिएन, पुग्नुपर्ने कतै थिएन । हिँड्नुपर्ने बाँकी बाटो पनि थाहा थिएन । माओवादीले बोकेको एउटा मुद्दा राजतन्त्रको अन्त्य भइसकेको थियो । देश नयाँ शासकीय व्यवस्थामा गइसकेको थियो ।
तर, यसैका लागि लडेका नरवीरको हालत झन् झन् खराब हुँदै थियो । शरीरमा गोलीका छर्रा थिए । जीवनमा दुःखैदुःख थिए । मुलुक नयाँ व्यवस्थामा हिँडिसकेको थियो । तर, नरवीर भने दुई छाक खान पुरानै अवस्थामा फर्कनुपर्यो ।
सुर्खेतको अमर टेलरकहाँ पिस रेटमा सिलाइको काम गर्न थाले । एउटा पाइन्ट सिलाएको ५० रुपैयाँ दिन्थे । दिनमा झण्डै पाँचसात वटा पाइन्ट सिलाउँथे । त्यसैले गुजारा चलाउँथे । प्लास्टिकको नशा लगाएर आएका कारण राति काम गर्न सक्दैन थिए । यसै पनि उनको आँखा कमजोर थियो ।
‘म त्यसरी काम गरिरहेको छु भनेर महेन्द्रबहादुर शाहीले थाहा पाउनुभएछ । उहाँले तुरुन्त ब्यारेकमा आउनुस् भनेर बोलाउनुभयो’, नरवीर भन्छन् ।
महेन्द्रबहादुरलाई नरवीरले भेटे । हालखबर सोधासोध भयो । जानेवेला महेन्द्रबहादुरले भने, ‘एकदुई वटा कमब्याट सिलाइदिनु पर्यो ।’
केही समयपछि कमब्याट लिएर नरवीर महेन्द्रबहादुरकहाँ गए । महेन्द्रबहादुरले २० हजार रुपैयाँ नरवीरको हातमा थमाइदिँदै भने, ‘आफ्नो व्यवसाय गरेर खानुस् कमरेड ।’
नरवीर भन्छन्, ‘मलाई कस्तो लाग्यो भने उहाँले ठूलो सहयोग गर्नुभयो । त्यो पैसाले एउटा कम्पनी दर्ता गरें, जगत टेलर एण्ड ट्रेनिङ सेन्टर ।’
सँगै नरवीरले केही साथीभाइसित सापटी पनि लिए र सुरु गरे आफ्नै टेलर व्यवसाय ।
नरवीर ती स्वर्णिम दिन सम्झन्छन्, ‘व्यवसाय सुरु गरेको एकडेढ वर्षमै मैले ६५ जनासम्मलाई रोजगारी दिएँ । मैले त्यतिखेरको कर्णाली र भेरी अञ्चलमा न्यानो झोला कार्यक्रमको सबै काम गरें । दुईतीन वर्षमै ३५-३६ लाखको टेण्डर सम्हाल्नेसम्म भएँ । त्यही आम्दानीले सुर्खेतमा चारकोठाको घर पनि बनाएँ । अघिल्लो दिन न्यानो झोलाको टेण्डर सकियो । अर्को दिन अस्पतालको शय्याको कपडाको ठेक्का पर्दैछ भन्ने सुनेको थिएँ । व्यवसाय राम्रै चलिरहेको थियो ।’
भोलिपल्ट टेण्डर घोषण हुने दिन बिहानै उठेर नरवीर शौचालय गए । तर, बसेको ठाउँमै ढलेछन् । पाँच बजे शौचालय छिरेको सात बज्दासम्म निस्केनन् । घरपरिवार आत्तिए । गाउँलेहरु भेला भए । शौचालय खोले ।
‘कान सुनिन्छ । आँखाले देखिन्छ । जिब्रो आउँदैन । हात खुट्टा चल्दैन । शीरमा कपडा केही पनि छैन’, नरवीर भन्छन् ।
छोरी र श्रीमान गुमाएकी नरवीरकी आमालाई लाग्यो, छोरालाई यस्तो भएको देउता बिग्रिएर हो । नरवीरका अनुसार त्यसपछि परिवार धामीझाँक्रीमा लाग्यो । दुई दिनमा एक क्विन्टल चामल सकियो । एकै दिनमा सय वटासम्म पाठा काटिए । तर, बीसको उन्नाइस भएन । ६ महिनासम्म घरमै कुहिएर बसे ।
एक दिन सुर्खेतकै बखतबहादुर शाहीले भने, ‘बरु म पैसा दिन्छु, भारत लैजाऊ !’
२०६८ सालमा नरवीर श्रीमतीको साथ लागेर भारत गए । साढे दुई वर्षसम्म भारतमा बसे । अहमदावाद मिसन अस्पतालमा ६ महिनापछि पत्ता लाग्यो– नरवीरको टाउकोमा त बमको छर्रा अड्किएको रहेछ !
डाक्टरले भने, ‘नियमित औषधि खानु । सक्छौ भने दिमागको झिल्लीमा बसेको छर्रा निकाल्नु । तर, औषधि चाहिँ नछुटाउनु । छुट्यो भने बाँच्न गाह्रो हुन्छ ।’
उपचार गरेर छर्रा निकाल्ने अवस्था थिएन । नरवीर औषधि खाइरहने सोचका साथ घर फिरे । तर, घर फिर्दासम्म साढे दुई वर्षमा ३०-३५ लाख ऋण भइसकेको थियो ।
नरवीर भन्छन्, ‘एक जनाको २०-२२ लाख रहेछ । उसलाई सुर्खेतको घरै बुझाएँ । एक जनासँग १०-१२ लाख रहेछ, भएको माल सबै बुझाएँ । तर, जहान परिवार के गरेर पाल्ने ? सबै सडकमा आयौं ।’
नरवीरको बर्दियामा अंकल थिए । अंकलसँग एउटा घडेरी मागे । परिवारलाई त्यही राखे र त्यसपछि पार्टी र सरकार गुहार्न सुरु गरे । अहिलेसम्म पनि गुहारिरहेका छन् ।
२०६९ सालबाट जगत टेलर एण्ड ट्रेनिङ सेन्टरको राजस्व पनि बुझाएका छैनन् ।
सर, यो भिखारीको औषधि नखोसिदिनुस् है !
नरवीरको टाउकोमा भएको छर्रा काटेर वा चिरेर निकाल्न मिल्दैन । चुम्बकले तानेर निकाल्नुपर्ने जटिल खालको अप्रेसन गर्नुपर्ने हुन्छ । यताउता थोरै हल्लियो भने मात्रै के कसो हुन्छ, उनैलाई पत्तो हुँदैन ।
गएको माघ १ गते परोपकारी नामक संस्थामा गए । तीन महिनादेखि औषधि सकिइरहेको थियो । उनलाई हिँडडुल गर्नसमेत गाह्रो हुन्थ्यो । उक्त संस्थाले बेवारिसे मान्छेलाई औषधि दिने गर्छ । दुईतीन पटक त्यहाँबाट औषधि लिए पनि ।
माघे संक्रान्तिमा उक्त संस्थामा औषधि लिन जाँदा संस्थाका प्रतिनिधिले भने, ‘सर, यो भिखारीको औषधि हो, नखोसिदिनुस् है ।’
‘त्यो शब्दले मलाई लाग्यो । अनि औषधि नलिई फिरें’, नरवीर भन्छन्, ‘कतैबाट केही नभएपछि निराश भएर कलंकी डेरातिर फिर्दै थिएँ । म त सातदोबाटोतिर पो लागेछु । हिँड्दै जाँदा कपडा च्यातचुत गरेर हिँडिरहेको रहेछु । त्यहाँ पुलिसले सोच्यो होला, जँड्याहा हो कि लागुपदार्थ दुव्र्यसनी ! अनि मलाई समातेछन् र पाटन अस्पताल लिएर गएछन् ।’
पाटनमा नरवीरको औषधोपचार भयो । उनी ठीक हुँदै गए । ठीक भएपछि डाक्टरले सोधे, ‘यो अवस्थामा कसरी आइपुग्नु भयो ?’
नरवीर भन्छन्, ‘मेरो शरीरमा घाउहरु देखे होलान् । मैले भनें, ‘हजुर जनयुद्धको वेला लागेको घाउ हो । अनि डाक्टरले ‘थुक्क प्रचण्डे’ भने । डाक्टरले त्यसो भन्दा म आफैंलाई लाज लाग्यो ।’
बिहान ४ बजेतिर डाक्टरले भने, ‘यसरी बाहिर नहिँड्नुहोला । नियमित औषधि लिनुहोला ।’
नरवीरले घाइते हुनुअघि २५-३० वटा लडाइँ लडे । अन्तिम लडाइँ खलंगा भइदियो । अहिले सिंहदरबार नियमित धाइरहेका छन् । प्रधानमन्त्रीले आश्वासन पनि दिएका छन् । अहिले गर्न सकिएन भने कहिल्यै गर्न सकिँदैन, वेला नै यही हो भनेर प्रधानमन्त्रीले भनिदिँदा नरवीरमा जोश अर्कै आउँछ । प्रधानमन्त्रीले आफ्नो सचिवालयमा निर्देशन पनि दिएका छन् ।
उनको प्रश्न छ, ‘प्रधानमन्त्रीले दिएको त्यो निर्देशन कहाँनेर अड्किएको छ ? किन कार्यान्वयन हुँदैन ?’
गएको डेढ वर्षदेखि नरवीर नियमित सिंहदरबार धाउँदा ककसलाई पो भेटिसकेनन् ! जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेतलगायत सानाठूला जति नेता छन्, सबैलाई भेटिसके । उनीहरु सबैले एउटै आश्वासन दिन्छन्, ‘सबै सरकारले व्यवस्था गर्छ ।’ नरवीरको प्रश्न छ, ‘अनि सरकारले कहिले व्यवस्था गर्ने हो ? हामी मरिसकेपछि गर्ने हो ?’
यतिमात्रै होइन, नरवीरलाई समस्या छ भनेर केही साथीभाइले औषधि खाने पैसाको व्यवस्था गर्नुपर्छ भनेर पैसा पनि उठाएका थिए । नरवीर दुःखेसो पोख्छन्, ‘मेरो नाममा पैसा उठाएर साथीभाइले आफैं खाएछन् ।’
अब एउटै अपेक्षा छ नरवीरको, ‘अब केही समयसम्म छटपटिएर बाँच्नुभन्दा राज्यले नियमित औषधि खाने व्यवस्था मिलाइदिनु पर्यो । हिजो ‘एड्भान्स गर, ग्रुप अगाडि बढा, फलानो ठाउँमा माइन हान, ट्वीन्च हान, फलानो ठाउँमा गएर तार काट’ भनेर हामीलाई निर्देशन दिने नेताहरु गाडीमा आउँछन् । सडकमा भएका हामीलाई देख्दैनन् । अहिलेसम्म कतिपय साथीहरु उपचार नपाएर मरे । अब घाइतेको संख्या पनि बढ्ने खालको होइन, घट्ने खालको हो । सक्छौं भने उपचार गरिदेऊ, नसक्ने भए सक्दिनँ भनिदेऊ । घाउहरु कुहिँदै गइसके । जहिलेसम्म बाँच्छौं, बाँच्छौं । सडकमा माग्दै तड्पिँदै मर्छौं ।’