जब प्राध्यापक सूर्य सुवेदीलाई अमेरिकी राजदूतले भने- खानामा विष हाल्न सक्छन् – Nepal Press
किताबी कुरा

जब प्राध्यापक सूर्य सुवेदीलाई अमेरिकी राजदूतले भने- खानामा विष हाल्न सक्छन्

काठमाडौं । दुई वर्ष अगाडि बेलायतबाट विश्वभर स्थापित नेपाली प्राध्यापक सूर्य सुवेदीले लण्डन र न्यूयोर्कबाट आफ्नो किताब प्रकाशन गरे । किताबको नाम थियो- दि वर्किङ अफ ह्युमन राइट्स, ल एण्ड जस्टिस्ः अ जर्नी फ्रम नेपाल टु नोबेल नोमिनी । उनै प्राध्यापक सुवेदीको अहिले नयाँ पुस्तक आएको छ । पहिलो पुस्तकका लेखक उनी आफैं हुन् । दोस्रो पुस्तकको लेखन तथा सम्पादन भने बीबीसी नेपाली सेवाका पूर्वपत्रकार भगीरथ योगी र कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेलले गरेका छन् । दुई किताबको नाममा एउटा कुरा मिल्छ- नोबेल पुरस्कारको मनोनयन ।

बुक हिलबाट प्रकाशन भएर यही महिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकार्पण गरेको २६४ पेजको पुस्तक प्राध्यापक सुवेदीको प्याकेज खुराक समेटिएको जीवनी हो । लमजुङको खुदीमा पण्डित परिवारमा जन्मेका सुवेदी कसरी बेलायतको हल विश्वविद्यालयबाट स्तातकोत्तर, अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि तथा महाविद्यावारिधिको आर्जनमा पुगे भन्ने कुरा किताबमा पढ्न पाइन्छ । किताबमा एक वैश्विक नेपालीको शैक्षिक तथा सामाजिक सफलताका किस्साहरु रोचक ढंगले आएका छन् ।

किताबमा सुवेदीका एकोहोरो कुरामात्रै छैन, उनलाई चिनेकाहरुले उनलाई कसरी हेर्छन् भन्ने एक अलग अध्यायसमेत छ । विभिन्न सात परिशिष्टले पुस्तकलाई पठनीय र विश्वसनीय बनाएका छन् । २०३६ सालको विद्यार्थी आन्दोलनमा नेपाल ल क्याम्पसका नेता सुवेदी तीन महिना जेल बिताएर पनि पछि राजनीति चटक्कै छोडेर प्राज्ञिक कर्ममा लागे । आफ्नो करिअर बनाए । देशको पहिचान बनाए ।

जब अमेरिकी राजदूतले खानामा विष हुन सक्ने सुझाए

सन् २००९ मार्च २५ मा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद अध्यक्षले सुवेदीलाई कम्बोडियाको लागि मानव अधिकारसम्बन्धी राष्ट्रसंघका विशेष समादेशकमा मनोनयन गरे । जुन १४ मा उनी थाइल्याण्डको सुवर्णभूमि विमानस्थल हुँदै कम्बोडिया पुगे । प्रजातान्त्रिक अभ्यासमा वामे सर्दा धेरै सकस भएको अवस्थामा थियो कम्बोडिया । प्रधानमन्त्री थिए हुन सेन ।

सुवेदी अगाडिका संयुक्त राष्ट्रसंघका समादेशक कार्यकाल नसकिँदै फर्किएका थिए । सुवेदीलाई पनि काममा सजिलो थिएन । उनलाई कम्बोडियाको खराब मानव अधिकारको अवस्थामा सजग गराउनुपर्ने जिम्मेवारी थियो । हुन सेनले त्यसलाई नकार्ने निश्चित थियो । यसले दुईबीचमा राम्रो हुने कुरा भएन । कतिसम्म भयो भने विपक्षीले सुवेदीलाई उजुरी लिएर गुहार्ने र सत्ताधारीले सुवेदीको सत्तोसराप गर्ने । मेकेङ कम्बोडिया विश्वविद्यालयमा त सत्ताधारी दलका विद्यार्थीहरुले उनीविरोधी नाराजुलुसै गरे, हुन सेनले राजा फालेको र संविधान नभएको देशको भन्दै होच्याए ।

प्रधानमन्त्रीसँग नै सकस भएपछि उनलाई जोखिम भएको भन्न सुवेदी बसेको होटल पुगेका थिए कम्बोडियाका लागि अमेरिकी राजदूत बिल टड । उनले सुवेदीलाई खानामा विष मिसाउन सक्ने भन्दै सजगसमेत गराए । सुवेदीको जीवनमा आएको यो नै जीवनमरणको पहिलो अनुभव होइन । सन् १९८६ जुन २६ मा बेलायत जानुभन्दा दुई हप्ता अगाडि धरान ससुराली जाने क्रममा उनी चढेको बस मुग्लिङको सडकबाट खसेर नदीमा प¥यो । दुर्घटनामा बस चालकसहित आठ जनाको ज्यान गयो । घाइते सुवेदी दुई र श्रीमती कोकिला पाँच दिन अस्पतालको उपचारपछि डिस्चार्ज भएका थिए ।

सुवेदीको कार्यकालमै सन् २०१२ मा आसियानको शिखर सम्मेलनमा पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि मानव अधिकारको मुद्दामा कम्बोडियाको आलोचना गरेका थिए । कम्बोडियामा खराख अनुभवले सुरु भएको सुवेदीका पछिल्ला कदम सुखद रहे ।सत्तापक्षबाट पनि उनले सकारात्मक प्रतिक्रिया पाए । त्यसैको फलस्वरुप उनलाई कम्बोडियाका विपक्षी दलका नेताले समेत नोबेल शान्ति पुरस्कारमा मनोनयन गरे ।

जेनेभाका लागि कम्बोडियाका राजदूत रहेका अनुहार उनका विद्यार्थी हुन लिड्स विश्वविद्यालय आए । सुरुमा विपरीत कित्तामा रहेका उनी पछि सुवेदीको विद्यावारिधिको विद्यार्थी हुन लिड्स पुगेका थिए ।

आफ्नो जरा र सभ्यतामा इमानदार सुवेदी

एक वैश्विक नेपालीले कल्पने लक्ष्यभन्दा माथि पुगेको प्रोफाइल छ सुवेदीको । दुई शताब्दीभन्दा लामो सम्बन्ध भएको बेलायतमा नेपालीले व्यक्तिगत तथा प्राज्ञिक रुपमा पाउने उपाधिमा सुवेदी विलक्षण छन् । जस्तैः सन् २००४ अक्टोबर १३ मा उनलाई दि अर्डर अफ दि ब्रिटिस एम्पायर (ओबीई) सम्मान दिने घोषणा बेलायती दरबारले ग¥यो । सन् २०१० मा उनी बेलायती परराष्ट्रमन्त्री बिलियम हेगका सल्लाहकार भए । सन् २०१७ जनवरी १२ मा उनलाई महारानीले क्वीन्स काउन्सेल नियुक्त गरिन् ।

बेलायतकै रोयल एसियाटिक सोसाइटीले ‘प्राध्यापक सूर्य सुवेदी पुरस्कार’ स्थापना गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले पनि उनको नाममा पुरस्कार स्थापना गरेको छ । सन् २०१९ मा अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि दियो । सन् १९०८ मा चन्द्रशमशेरपछि यो उपाधि पाउने नेपाली हुन् सुवेदी । चन्द्रशमशेरलाई दिइएको राजकीयवाला हो भने उनले पाउने प्राज्ञिक क्षेत्रको हो । यो असाधारण सम्मान हो ।

उनले नेपालबाहेक बेलायत, चीन, कतार, नेदरल्याण्डस्, भियतनाम, इण्डोनेसिया, लाओस जस्ता देशलाई कानूनी सल्लाह दिइसकेका छन् । तर, सुवेदी आफ्नो जरा र सभ्यता भुल्दैनन् । उनले पूर्वीय हिन्दू बुद्ध परम्पराको सम्मान दिएका छन् । आफ्नो विधागत क्षेत्रमा एक पुस्तक लेखेरै उनले सम्मान गरेका छन् आफ्नो सभ्यताको । उनले लेखेको र सन् २०२१ मा प्रकाशित किताब ‘ह्युमेन राइट्स इन इन्टर्न सिभिलाइजेसन’ अर्थात पूर्वीय दर्शनमा मानव अधिकार विश्व चर्चित छ ।

उनी अंग्रेजीमा पोख्त छन् । अंग्रेजीमै आफ्नो करिअर बनाए । अंग्रेजहरुसँगै बसे । तर, उनको लमजुङ खुदीको संस्कृत प्रधान पाठशाला र घरमा सिकेको संस्कृतमा उनी उत्तिकै गर्व गर्छन् । आफ्नो प्राज्ञिक प्रगतिको आधार नै संस्कृत शिक्षा भएको सूवेदी बताउँछन् । सुवेदी संस्कृतिका ग्रन्थ सुबहु मान्ने पक्षधर भने होइनन् । उनी ईसापूर्व छैटौं शताब्दीमा लेखिएको मनु स्मृतिको सन्देशलाई २१औं शताब्दी सुहाउँदो बनाउन चाहन्छन् । राम्रो ग्रन्थ भए पनि हिन्दू समाजभित्र विभेदपूर्ण जाति प्रणालीलाई मनु स्मृतिले संस्थागत गरेकोमा चिन्तित सुवेदी यसलाई विश्वभरका हिन्दू विद्वानहरु ल्याएर अद्यावधिक गर्न चाहन्छन् । आफ्नो भविष्यका चाहनाहरुमा यसलाई उनले छैटौं भनेका छन् ।

सुवेदीको संस्कृति र सभ्यताप्रेम अर्को उदाहरण उनले जब अक्सफोर्डबाट महाविद्यावारिधि पाए, त्यही बेला सुवेदी लण्डन घरमा पुराण लगाइरहेका थिए । सुवेदीका अक्सफोर्डका सहपाठी तथा कानूनविद् डाक्टर जेम्स बुसुटिलले पनि सुवेदीको सभ्यतामोह देखेका छन् खासगरी हिन्दूको । त्यसमा टिप्पणी गर्दै उनले भनेका छन्, ‘सूर्यलाई चिन्ने जोकोहीले पनि हिन्दू धर्मप्रतिको आस्था उनको जीवनको केन्द्रीय भागमा रहेको सहजै बुझ्न सकिन्छ ।’

देशलाई काम आएको सुवेदीको दक्षताः शान्ति क्षेत्रको सवालदेखि चुच्चे नक्सा मुद्दा

कानूनमा स्तानक सकेर सुवेदीले सन् १९८१ मा सर्वोच्च अदालतमा काम गर्न अधिवक्ताको इजाजत लिए । बेलायती छात्रवृत्ति पाएर उनले सन् १९८६ मा बेलायतको हल विश्वविद्यालयबाट कानूनमा स्नातक पढे । पढाइ सकेर फेरि स्वदेश आए, सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश धनेन्द्रबहादुर सिंहको अनुसन्धान अधिकृत भएर काम गरे ।

सन् १९८९ सेप्टेम्बर ३० मा अक्सफोर्डको विद्यावारिधि छात्रवृत्ति पाएर बेलायत गएका सुवेदी त्यसबेलादेखि घरी बेलायत त घरी नेदरल्याण्ड गर्दै अहिले युरोपमै छन् । तर, सुवेदीको योगदान देशमा तारन्तार छ । स्नातकोत्तर छात्रवृत्तिको शोधको रुपमा उनले गरेको अध्ययनले तत्कालीन राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्तावलाई सहयोग पुग्यो । २०४५ सालको भारतीय नाकाबन्दीको मुद्दामा पनि सुवेदीको अध्ययनलाई वीरेन्द्रले पूँजीको रुपमा प्रयोग गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको नाकाबन्दीदेखि चुच्चे नक्साको मामिलामा कानूनी सहयोग लिए । प्रधानमन्त्री प्रचण्डले एससीसीको बारेमा लिएको सुझावमा पनि सुवेदीले लिखित सल्लाह दिएका थिए । जुन संसदबाट भएको व्याख्यात्मक टिप्पणीको रुपमा सार्वजनिक भइसकेको छ ।

निजी मोबाइल सेवाप्रदायक एनसेलले विश्व बैंंक मातहत रहेको विवाद समाधान गर्ने संयन्त्र आईसीएसआईडीमा गरेको मुद्दामा पनि नेपालको पक्षमा लडे सुवेदी । एनसेललाई हेगमा नेपाल सरकारले हालेको मुद्दामा नेपालको पक्षमा लडेर जीत निकाल्ने पनि सुवेदी नै थिए, जसको नजितास्वरुप सन् २००३ मा गैरआवासीय नेपाली संघ औपचारिक रुपमा स्थापना भयो । गैरआवासीय नेपाली संघको स्थापनाको अवधारणापत्र र विधान तर्जुमाकर्ता पनि सुवेदी नै थिए ।

भौगोलिक रुपमा बेलायतमा भए पनि भावनात्मक रुपमा सुवेदी नेपालमै छन् । त्योबारेमा बेलायती अखबार योर्कशायर पोस्टमा पत्रकार शिना ह्यास्टिङ्सनले सन् २००८ मा सुवेदीका बारेमा लेखेकी छन्, ‘सूर्य सुवेदी युकेमा बस्छन् र काम गर्छन् । तर, उनको आफ्नो मूलथलो नेपालको रक्षाका निम्ति महत्वपूर्ण भूमिका बहन गरिरहेका छन् ।’

सुवेदीले बेलायती महारानीबाट ओबीई सम्मान पाउँदा बेलायती विदेशमन्त्री ज्याक स्ट्र उद्घोषक रहेका थिए । २०६१ साल कार्तिकमा भएको उक्त कार्यक्रममा सुवेदीले भनेका थिए, ‘बेलायत र नेपालप्रतिको मेरो समर्पण टुक्रिएको छैन, बरु दुवैतिर छरिएको छ ।’ १२ पुस्तक, ६० अनुसन्धानमूलक लेख लेखेर विश्वका सात विश्वविद्यालयमा पढाएका र ८६ देश घुमेका सुवेदीले आफ्नो लक्ष्यमा एक लक्ष्य नेपाल फर्किएर शोध तथा लेखन कार्य गर्न ‘सेन्टर फर हिमालयन पिस स्टडिज’ स्थापना गर्ने रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

One thought on “जब प्राध्यापक सूर्य सुवेदीलाई अमेरिकी राजदूतले भने- खानामा विष हाल्न सक्छन्

  1. बेलायतको नून खाएको भएर होला सुबेदीले अन्यायमा परेको बेलायती गोर्खाहरुको पक्षमा वकालत गरेर अडान लिएको पाईएन । किन भन्ने प्रश्न नउठेको किन हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *