लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर – Nepal Press

लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

रुपन्देही । लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासका लागि गैरआवासीय नेपाली संघ एनआरएनए र बुद्व परिपथका ४ नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसी, एनआरएनएका पर्यटन प्रवद्र्धन समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देवदह नगरपालिकाका मेयर ध्रुव खरेल र रामग्राम नगरपालिकाका मेयर धनपत यादवले समझ्दारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा गैरआवासीय नेपाली संघले लुम्बिनी र बुद्धपरिपथको विकासको लागि नगरपालिकाहरुसँग एक भएर अघि बढ्ने, गैरआवसीय नेपाली भएका देशमा त्यहाँका नागरिकलाई लुम्बिनी भ्रमणको लागि उत्प्रेरित गर्ने उल्लेख छ ।

त्यस्तै बुद्ध धर्मको बारेमा विभिन्न देशमा प्रचारप्रसार गर्ने, बुद्ध दर्शनबारे अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्ने, बुद्ध दर्शन सम्बन्धि संघसंस्था तथा कुटनीतिक नियोगसँग पनि समन्वय गरेर लुम्बिनीलाई संसारसँग जोड्न पुलको रुपमा एनआरएनएले काम गर्ने उल्लेख छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले पर्यटकको वातावरण तयार गर्न तथा नेपालको संस्कृति तथा सम्पदा विश्वमा चिनाउन आफुहरुले बुद्धपरिपथका नगरपालिकाहरुसँग सहकार्य गरेको बताए ।

‘हामी ७० लाख नेपाली बाहिर छौं। त्यतीले एक एक जना मान्छे भित्राउन सकेपनि असंख्य पर्यटक भित्राउन सक्छौं भन्ने अवधारणा हो ।’ उनले भने ‘लुम्बिनीमा गएर आधा घण्टामा फर्किने चलन छ । बुद्ध परिपथका चार पालिकामा पर्याप्त सम्पदाहरु छन् । तिनिहरुको इतिहास बुझाउन सक्ने हो भने पर्यटकहरु एक हप्ता लुम्बिनी बस्छन् ।’ बुद्ध र शान्तिको सन्देशसँगै आफूहरुले नेपालको सम्पदा र संस्कृतिको प्रचार प्रसार गर्ने केसीको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमानले एनआरएनएसँगको समझ्दारीले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा ठूलो सघाउ पुग्ने बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले स्थानीय तहबाट बुद्धस्थलको विकासको लागि सक्दो प्रयास गरेको त्यसमा एनआएनएले काँध थापेको उल्लेख गरे । समझ्दारी पत्रमा नभई आफ्नो सपना र विश्वासमा हस्ताक्षर गरेको अनुभव भएको उनले सुनाए ।

रामग्राम नगरपालिकाका मेयर धनपत यादवले विदेशमा बसेका नेपालीहरुले लुम्बिनीसँगै अन्य बुद्धस्थलहरुकोे पर्यटनमा चासो राखेको भन्दै निकै खुशी लागेको बताए । देवदह नगरपालिकाका मेयर ध्रुव खरेलले स्थानीय नगरपालिकालाई पनि एकैठाउँमा राखेर सञ्चालन गरिने यो कार्यक्रमले पर्यटन क्षेत्रमा ठूलो फाइदा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा कोशी प्रदेश सभाकी सांसद मिना श्रेष्ठले बुद्धको प्रचारमा यसअघि धेरै कुरा छुटेको भन्दै समझ्दारी पत्रमा हस्ताक्षर कार्यक्रमले छुटेका कुरा पुरा हुदै जाने बताइन् । उनले कोशीमा पनि यस्ता कार्यक्रम ल्याउन एनआएनएसँग आग्रह गरिन् ।

गैरआवसीय नेपाली संघका उपमहाचिव तथा पर्यटन प्रवद्र्धन समितिका संयोजक सोम सापकाटाले बुद्ध परिपथको संस्थागत रुपमा विकासका लागि आफूहरुले श्रोत प्रयोग गर्ने उद्देश्यले नगरपालिकाहरुसँगको सहकार्यमा अभियान अगाडि बढाएको बताए । हस्ताक्षरपछि अब आफूहरुले पर्यटन प्रवद्र्धनमा व्यवस्थित रुपमा काम गर्ने उल्लेख गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत लक्ष्मण गौतम, एनआएनएका कार्यालयका सिइओ राजेन्द्रकुमार राउतलगायतले गैरआवासीय नेपाली संघले पर्यटन क्षेत्रमा नौलो कार्यको सुरुवात गरेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर