महानगरले ५ महिनामा नदीबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकाल्यो
काठमाडौं। ‘नदी सफाइ’ स्वर्णिम योजना अन्तर्गत काठमाडौँ महानगरपालिकाले गएको ५ महिना (कार्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको छ । यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको छ ।
वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो ।
कार्तिकदेखि फागुनसम्म क्रमशः १ हजार ४ सय, ३ हजार ७३१, १ हजार १२६, ७२५ र ७१२ जना जनशक्ति परिचालन भएका छन् । योजनाका फोकल पर्सन एवं महानगरपालिकाका उपनिर्देशक सानुमैया महर्जनका अनुसार यी महिनाहरूमा क्रमशः ८४६, ८४६, २७१, १४४, १७१ र १४१ मेट्रिक टन फोहोर निकालेर व्यवस्थापन गरिएको छ ।
योजना कार्यान्वयन गर्ने क्रममा असोज ३० गतेदेखि नदी किनाराको सरसफाइ थालिएको थियो । फागुन २० गतेदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको हो ।
गएको मंसिर १ गतेदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जना जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरूलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थलको सफाइमा खटाउने गरिएको छ ।
सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।
आज रुद्रमती र वागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको छ । श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।
सफाइ हरेक दिन बिहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म हुनेछ ।
काठमाडौंमा मुख्य ९ वटा नदी छन् । यीमध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।
यी ८ वटा नदीहरु, विष्णुमती, रुद्रमती (धोवीखोला), मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुशी, कर्खुशी (वाफल) र भचाखुशी (स्वयम्भू, शोभाभगवती) हुन् ।