भासिएको कमला पुलमा मन्त्री महासेठ, काम सक्न दिए असार १५ सम्मको सीमा – Nepal Press

भासिएको कमला पुलमा मन्त्री महासेठ, काम सक्न दिए असार १५ सम्मको सीमा

जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भासिएको कमला पुल असार १५ भित्र पुनःनिर्माण गर्न निर्देशन दिएका छन् ।

पुलको निरीक्षण गर्न गएका उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने, ‘असार १५ भित्र काम सकेर पुल सञ्चालनमा आउनुपर्छ । यदि सक्नुहुन्न भने विकल्प खोज्छौं ।’

धनुषा र सिरहालाई जोड्ने कमला पुल निर्माणका लागि ०६८ सालमा पप्पु कन्ट्रक्सन र लुम्बिनी बिल्डर्ससँग संयुक्त ठेक्का सम्झौता भएको थियो । ३ वर्षमा निर्माण सक्नुपर्ने पुल ६ वर्ष भइसक्दा पनि करिब ५० प्रतिशत काममात्र भयो । घाटा लाग्ने भनेर निर्माण कम्पनीले पुल अलपत्र छाड्यो । त्यसपछि हुलाकी सडक निर्देशनालयले पप्पु कन्ट्रक्सनलाई कारबाही गरी निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दियो ।

लुम्बिनी बिल्डर्सले लगभग काम सकेर ७८ असार १७ मा उद्घाटनको तयारीमा जुटेको बेला पुलको पिलर सामान्य बाढीमै भासियो । त्यसपछि अलपत्र पुल निर्माण छिटो सक्न दबाब दिँदै स्थानीयले आन्दोलनसमेत गरिरहेका छन् ।

भासिएको तीन वटा पिलरको दुवैतिर नयाँ पिलर खडा गरी पुल पुनःनिर्माण गर्नुपर्ने सम्झौता अनुसार निर्माण कम्पनीले काम गरिरहेको छ । तर, काम सुस्त गतिमा भइरहेको गुनासोपछि मन्त्री महासेठले अनुगमन गरेका हुन् ।

‘पुल समयमा निर्माण नभएकाले यस भेगका जनताले धेरै दुःख भोगेका छन्’, महासेठले भने, ‘अब जनतालाई दुःख काट्न दिन्नँ ।’

समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने मन्त्रीको चेतावनी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर