नृत्यकार जेडीको चिन्ता- डाँडामा कलाकार नचाउनु मात्रै सांस्कृतिक नृत्य होइन, यस्तै रहे म्युजियममा खोज्नुपर्छ (भिडिओ) – Nepal Press

नृत्यकार जेडीको चिन्ता- डाँडामा कलाकार नचाउनु मात्रै सांस्कृतिक नृत्य होइन, यस्तै रहे म्युजियममा खोज्नुपर्छ (भिडिओ)

'नृत्यको नाममा स्कूलमा बच्चालाई स्टेपमात्रै सिकाउँदा भएको सम्भावना पनि मर्नसक्छ'

काठमाडौं । नृत्यकार, कोरियोग्राफर, कलाकार जेडी तमू एउटा कुरामा स्पष्ट छन्- हामीले जे चिजलाई सांस्कृतिक नृत्य भनेर म्युजिक भिडियोमार्फत् देखाइरहेका छौं, त्यो सांस्कृतिक नृत्य होइन ।

डाँडा वा चउरमा गुन्युचोलो र शीरफूल लगाएर कलाकारलाई नचाउनु सांस्कृतिक नृत्य होइन । गुराँसको फेदमा वा कोदोबारीमा लगेर कलाकारलाई डम्फु बजाउन लगाउनु सांस्कृतिक नृत्य होइन । संगीतको बिटअनुसार कलाकारहरु भेला गराएर एकै स्टेपमा नचाउनु सांस्कृतिक नृत्य होइन ।

जेडी भन्छन्, ‘सांस्कृतिक नृत्य त त्यो हो, जहाँ कुनै निश्चित समुदायको सिंगो सांस्कृतिक अनुहार आओस् । भाषा, लवज र पहिरन देखाएरमात्रै सांस्कृतिक नृत्य हुँदैन । उनीहरुको जीवनशैली, सोच्ने तरिका, उनीहरुको मनोविज्ञान र सभ्यताको छनक दिने गरी नृत्य प्रस्तुत गर्नु चाहिँ सांस्कृतिक नृत्य हो ।’

जस्तो छ, त्यस्तै अवस्थामा हामीले संस्कृतिलाई राख्यौं भने त्यो कुहिएर जाने भयो । म्युजियममा राख्न बाध्य भइन्छ । तर, हामीले परिमार्जन पनि ठिक्कले वैज्ञानिक तवरले गर्नुपर्छ । कुनै जाति विशेषको भेषभुषा, लवज र हाउभाउमात्रै संस्कृति होइन । सबैलाई समाहित गरेर अगाडि बढाउने काम भएको छैन ।

जेडी अर्को कुरामा पनि स्पष्ट छन्- ‘सांस्कृतिक नृत्य समयअनुसार परिमार्जन हुँदै जान सक्नुपर्छ । यदि परिमार्जन नगर्ने हो भने अन्ततोगत्वा हाम्रा नृत्यहरू म्युजियममा लगेर राख्नुपर्ने हुनसक्छ ।’

अहिलेको पुस्ताले बाजे पुर्खाले बाँचेको जीवनशैली बाँच्न सक्दैन । बाजे पुर्खाले लगाएका पहिरण लगाइरहन सक्दैन । एकाध घण्टाका लागि लगाउन सक्लान् । तर, त्यही पहिरन दैनन्दिन लगाइरहन सक्दैन । किनभने यो पुस्ताको जीवनशैली, दौडधुप, कामको प्रकृति र काम गर्ने तौरतरिका बाजे पुर्खाको भन्दा फरक भइसक्यो ।

त्यही भएर त जेडी भन्छन्, ‘हामीले सांस्कृतिक नृत्यहरुलाई पहिचान र सभ्यतासँगै जोडेर ल्याउने हो । तर, परिमार्जनसहित ल्याउनुपर्छ । परिमार्जनको नाममा समयभन्दा अगाडि गइहाल्ने पनि होइन । तर, अब आउने पुस्तासम्म पनि हामीले सांस्कृतिक नृत्यलाई अगाडि लैजाने हो भने पुस्ताअनुरुपको संशोधन आवश्यक छ ।’

जेडीको नृत्य : सौखदेखि पेशासम्म

जेडी केही समय पहिला ‘डान्सिङ विथ द स्टार’ नामक रियालिटी शोमा कोरियोग्राफर थिए अभिनेत्री/नृत्यंगना परमिता राज्यलक्ष्मी राणाका ।

भलै यस रियालिटी शो त जेडीको टीमले जितेन । तर, दर्शकको मन भने जितेको थियो ।

जेडी भारतबाट कन्टेम्पोररी नृत्यमा डिप्लोमा गर्ने पहिलो नेपाली हुन् । सम्भवतः एक्ला नेपाली । सौखले नृत्य सिक्न सुरु गरेका जेडीका लागि यो क्षेत्र कहिलेदेखि पेशाको रुपमा परिणत भयो, उनैलाई थाहा छैन । तर, थाहै नपाइ उनले यस क्षेत्रलाई पेशामा परिणत गरे ।

इलामबाट एसएलसी पास गरेर ११-१२ कक्षा पढ्न झापा झरेका उनले त्यही नृत्य सिक्न थाले । ६-७ महिना नृत्य सिकेपछि आफैंले सिकाउन थाले । जेडी भन्छन्, ‘तर, डान्स सिकाउन थालेपछि थाहा भयो, मैले आफैं सिक्न धेरै जरुरी रहेछ ।’

यसपछि जेडी अडिसनमा छानिएर कोलकाता गए अल डान्स इन्टरनेशनल एकेडेमीमा । उक्त एकेडेमीमा तीन वर्ष नृत्य सिके । अनि सीधै काठमाडौं हान्निए । अग्रज रंगकर्मी सुनिल पोखरेलसँग नाटक सिके ।

डाँडा वा चउरमा गुन्युचोलो र शीरफूल लगाएर कलाकारलाई नचाउनु सांस्कृतिक नृत्य होइन । गुराँसको फेदमा वा कोदोबारीमा लगेर कलाकारलाई डम्फु बजाउन लगाउनु सांस्कृतिक नृत्य होइन । संगीतको बिटअनुसार कलाकारहरु भेला गराएर एकै स्टेपमा नचाउनु सांस्कृतिक नृत्य होइन ।

तर, यतिले मात्रै जेडीलाई पुगेन ।

‘अनि म फेरि नृत्यमा डिप्लोमा गर्न मुम्बई हान्निएँ । डिप्लोमा सकाएपछि डिज्नी प्रोडक्सनको एउटा शोमा काम गरिरहेको थिएँ । बीचमा बिरामी परें, नेपाल फर्किएँ’, जेडी भन्छन्, ‘नेपाल फर्किएपछि भारत नजाने निधो गरें । भारतमा पनि काम त पाइरहेको थिएँ । सँगैका साथीहरु त्यहाँ स्थापित भएका छन् । तर, मलाई सांस्कृतिक रुपमा पनि नृत्यमाथि प्रयोगवादी काम गर्नु थियो । जो भारतमा सम्भव थिएन । त्यसैले नेपालमै अड्किएँ ।’

नृत्य पेशामा लाग्ने कलाकारहरुको पहिलो सवाल नै जीवन निर्वाहको हुन्छ । तर, आफूले नृत्यलाई सौखको रुपमा मात्रै लिएकाले काम गरिरहन सहज भएको जेडी बताउँछन् । भन्छन्, ‘डान्स गरेर जीविकोपार्जन नै गर्छु भनेर कहिल्यै सोचिनँ । त्यसले मलाई कम महत्वाकांक्षी बनायो । कम महत्वाकांक्षा भएपछि मैले मेरो सृजनशीलता भरपुर रुपमा प्रयोग गर्न पाएँ ।’

सौखमा सिकेको नृत्य अहिले जेडीको पेशा नै बनिसकेको छ ।

‘नृत्य मनोरञ्जनमात्रै होइन, अभिव्यक्ति पनि हो’

सामान्यतया नृत्य भन्नासाथ लय मिलाएर जिउ हल्लाउनु, हात र खुट्टाका चालहरु मिलाउनु हो । नृत्यमा मग्न हुनु हो ।

तर, नृत्य भन्नासाथ दर्शकलाई मनोरञ्जन प्रदान गर्नुमात्रै होइन, कलाकारले आफूलाई अभिव्यक्त गर्नु हो । सामाजिक मुद्दाहरुलाई सम्बोधन गर्नु हो, न्यायको वकालत गर्नु पनि हो ।

तर, कलाकारले नृत्यमार्फत् आफ्नो विचारलाई कसरी अभिव्यक्त गरिरहेको हुन्छ ?

‘कोही कतै नाचिरहँदा उसले आफूलाई अभिव्यक्त पनि गरिरहेको हुन्छ । सँगै उसले मनोरञ्जन दिइरहेको हुन्छ । त्योभन्दा ज्यादा उसले जीवनका महत्वपूर्ण कुराहरुलाई प्रस्तुत पनि गरिरहेको हुन्छ । नृत्य थेरापी त हुँदै हो । आफूभित्र कुण्ठा बनेर बसेको कुरालाई बाहिर रिलिज गर्न पनि नृत्यले साथ दिइरहेको हुन्छ’, जेडी भन्छन् ।

तर, नृत्यकारले यसरी प्रस्तुत गरिरहेको कुरा दर्शकसम्म कसरी पुगिरहेको हुन्छ ?

यदि नृत्यकारलाई आफूले नृत्यबाट भन्न खोजेको कुरा पूर्ण रुपमा थाहा छ र इमानदार भएर भनिरहेको छ भने दर्शकसँग सहजै रुपमा समाहित हुने जेडीको मत छ । सामान्य जीवनमा आफूलाई मनमा कतै खट्किरहेको तर, भन्न नसकिरहेको कुरा कसैले नृत्यमार्फत् देखाइदियो भने दर्शकसँग राम्रो सम्बन्ध स्थापित हुने भयो ।

अर्को चाहिँ दर्शकसँग नभएको कुरा देखाइदियो भने त्यसले पूरकको रुपमा काम गर्ने जेडी बताउँछन् ।

अनि नृत्यकारलाई चाहिँ के कुराले स्टेजमा प्रस्तुति दिन उत्प्रेरित गरिरहेको हुन्छ त ?

जेडी भन्छन्, ‘तपाईंले के भन्न खोजिरहनु भएको छ ? त्यो कुरा कति सत्यका साथ भन्न खोजिरहनु भएको छ ? भन्न चाहेको कुरा भनिरहनु भएको छ कि दर्शकलाई जे चाहिन्छ त्यही दिइरहनु भएको छ ? यो कुराले उत्प्रेरणाको मात्रामा असर गर्छ ।’

‘गलत नृत्य सिकाइले बच्चाभित्रको सम्भावनै मर्नसक्छ’

काठमाडौंका प्रायः विद्यालयहरुमा नृत्य प्रशिक्षक राखिएका हुन्छन् । नृत्यका लागि विद्यालयले अभिभावकसँग छुट्टै शुल्क असुलेका हुन्छन् । सातामा एकदुई पटक नृत्यसमेत सिकाइन्छ । तर, कसरी सिकाइने गरेको छ ? अभिभावकले गरेको लगानीअनुसार औपचारिकताका लागि मात्रै सिकाइन्छ कि साँच्चिकै नृत्य नै सिकाइन्छ ?

जेडी सीधै भन्छन्, ‘बच्चाबच्चीलाई सिकाउने त्यो अभिभारा मैले पनि लिएको छु । तर, स्कुलले नृत्यलाई कसरी प्रमोट गरिरहेको छ ? स्कुलको नियत गलत नहुनसक्छ । तर, जुन खालको अभ्यास गरिएको छ, त्यो गलत छ ।’

उनका अनुसार विद्यालयहरुले नृत्यलगायत अतिरिक्त क्रियाकलापको मेनु नै बनाएका हुन्छन् । मानौं कुनै होटेलको मेनु हो । जहाँ थरीथरीका खानेकुराका फरक फरक मूल्यसूची छन् । अभिभावकले पनि त्यही मेनु हेरेर विद्यालय छनोट गर्ने गर्छन् । अप्सनहरु धेरै भएपछि एउटा न एउटा अभिभावकले छनोट गर्ने नै भयो ।

यसो हुँदा बच्चाबच्चीको मानसिकतामै असर गर्ने जेडीको तर्क छ ।

उनी भन्छन्, ‘सबै बच्चाबच्चीले नृत्यमार्फत् आफूभित्रको उकुसमुकुस बाहिर निकाल्छ भन्ने छैन । केही बच्चाले मात्रै नृत्यमार्फत् आफूभित्रको कुरालाई रिलिज गर्छन् । तर, स्कुलहरुमा नृत्यको नाममा बच्चाहरुलाई स्टेपमात्रै सिकाउँदा बच्चा आफैं समस्यामा जाने खतरा हुन्छ । ऊभित्र भएको सम्भावना पनि मर्नसक्छ ।’

यो दुर्घटनाबाट बाहिर निस्कन पहिला बाल मनोविज्ञानसँग जोडिनुपर्ने जेडीको भनाइ छ । बच्चा जे चाहन्छ, सबै कुरा उपलब्ध गराउन असम्भव हुन्छ । कतिपय कुरामा बच्चाहरुलाई गाइडेन्स पनि दिनुपर्ने हुन्छ ।

जेडी भन्छन्, ‘ठूलो समस्या चाहिँ जसले डान्स सिकाउँछन्, जसले डान्स सिक्ने प्ल्याटफर्म बनाइदिएको छ र जसले आफ्नो बच्चाले सिकोस् भनेर त्यहाँ लैजाने गरेका छन्, उनीहरुले बच्चाहरुसँग राम्रो समन्वय नगरेको पाइन्छ । यो समस्या नियन्त्रण गर्न आवश्यक छ ।’

‘सांस्कृतिक नृत्यलाई परिमार्जन गर्दै लानुपर्छ’

नृत्यका धेरै विधा छन् । सँगै भूगोल र जाति विशेष लाखौं सयौंको संख्यामा सांस्कृतिक नृत्य छन् नेपालमा । जुन नृत्य कुनै निश्चित समुदायको पहिचान र सभ्यता सँगसँगै आइपुगेका हुन् ।

पछिल्लो समय सांस्कृतिक नृत्यलाई केन्द्रमा राखेर बनाइएका हजारौं भिडियो युट्युबमा भेटिन्छन् । ती भिडियोमा सांस्कृतिक नृत्यको नाममा कलाकारहरुलाई सांस्कृतिक पहिरन लगाइदिएर डाँडाकाँडा दौडाइएको छ । दर्शक त्यही नृत्यलाई सांस्कृतिक नृत्य मानेर हेर्न बाध्य छन् ।

के सांस्कृतिक नृत्य तिनै हुन् ?

‘सांस्कृतिक नृत्य भन्नासाथ कुनै जाति बसोबास गर्ने क्रममा कहाँबाट कहाँ पुग्यो, रहनसहन के थियो, कस्तो तरिकाले आफ्नो भावना अभिव्यक्त गर्थ्यो, तिनैको समरुप हो’, जेडी भन्छन्, ‘जाति एउटा भयो । त्यो जातिसँग भएको कला एउटा भयो । दुवैको समीश्रण हो सांस्कृतिक नृत्य । तर, हामीले कलालाई मात्रै बोकेर बाँकी कुरा उतैकतै छाडिदियौं । उसले जटिलता थपेको छ ।’

सांस्कृतिक नृत्यलाई एकातिर बिगारिँदै छ । अर्कातिर परिमार्जन गर्दै लगिएको छ । यही कारण संस्कृतिहरुमा विकृति आइरहेको जेडीको विश्लेषण छ । संस्कृतिलाई आधुनिकीकरण गर्ने प्रक्रिया नबुझिकन बाह्य संस्कृतिको कपीको आधारमा प्रभावित भएर परिमार्जन गर्ने कोसिस गरिएकाले खास संस्कृति लोपोन्मुख अवस्थामा पुगेको जेडीको तर्क छ ।

उनी भन्छन्, ‘जस्तो छ, त्यस्तै अवस्थामा हामीले संस्कृतिलाई राख्यौं भने त्यो कुहिएर जाने भयो । म्युजियममा राख्न बाध्य भइन्छ । तर, हामीले परिमार्जन पनि ठिक्कले वैज्ञानिक तवरले गर्नुपर्छ । कुनै जाति विशेषको भेषभुषा, लवज र हाउभाउमात्रै संस्कृति होइन । सबैलाई समाहित गरेर अगाडि बढाउने काम भएको छैन । अहिले जति पनि काम भएका छन्, ती अगाडिबाट हेर्दा मात्रै झकिझकाउ छन्, पछाडिबाट खोक्रा छन् ।’

बच्चाबच्चीलाई सिकाउने त्यो अभिभारा मैले पनि लिएको छु । तर, स्कुलले नृत्यलाई कसरी प्रमोट गरिरहेको छ ? स्कुलको नियत गलत नहुनसक्छ । तर, जुन खालको अभ्यास गरिएको छ, त्यो गलत छ ।

कस्तो छ नेपालको कोरियोग्राफी ?

दैनिक दर्जनौं म्युजिक भिडियो सार्वजनिक भएका छन् । उक्त भिडियोको विवरणमा नियालेर हेर्ने हो भने त्यहाँ एक पदवी पनि हुन्छ– कोरियोग्राफर !

सामान्य बुझाइ के हो भने कोरियोग्राफी भनेको कलाकारलाई ड्रेस मिलाएर लगाइदिने, कोरसमा नाच्नेहरुलाई मिलाएर नचाइदिने, स्टेपहरुको टाइमिङ मिलाइदिने । कोरियोग्रापर भएका म्युजिक भिडियोमा यिनै कुरामात्रै देखिन्छन् ।

के यति नै हो कोरियोग्राफी ?

जेडी उदाहरण दिन्छन्, ‘गाउँघरतिर धान रोपिन्छ । कोदो रोपिन्छ । कोदो रोप्दा कस्तो मज्जाले मिलाएर रोपिएको हुन्छ ? एउटा कोदोको विरुवा यता फर्केको, अर्को विरुवा उता फर्केको हुँदैन । तल्लो गह्रामा कति रोप्ने, माथ्लो गह्रामा कति रोप्ने मिलाएर रोपिएको हुन्छ । कति दूरीमा रोप्ने, तय गरिएको हुन्छ ।’

डान्स गरेर जीविकोपार्जन नै गर्छु भनेर कहिल्यै सोचिनँ । त्यसले मलाई कम महत्वाकांक्षी बनायो । कम महत्वाकांक्षा भएपछि मैले मेरो सृजनशीलता भरपुर रुपमा प्रयोग गर्न पाएँ ।

कोदो रोप्दा बाउसे र रोपाहार हुन्छन् । बाउसेहरु तीनचार जना हुन्छन् । उनीहरुको साथमा कुटो, कोदालो हुन्छ । बाउसेहरु अलि हत्ताकट्टा पनि हुन्छन् । उनीहरु बारी खन्छन् । अब कोदाली, कुटोलगायत कुरालाई प्रप्सको रुपमा लिन सकियो ।

अर्कातिर रोपाहारको लुगा अलि फरक हुन्छ । बाउसेले मज्जाले खन्नुपर्ने भएकाले त्यहीअनुसारको सहज कपडा हुन्छ । रोपाहारको बसेर रोप्नुपर्ने भएकाले त्यहीअनुसारको । बाउसेहरु थोरै हुन्छन्, रोपाहारहरु धेरै ।

जेडी भन्छन्, ‘हामीले कोरियोग्राफीलाई ठ्याक्कै यहाँबाट ल्याएर उदाहरण दिन सक्छौं । हाम्रा कोरियोग्राफरहरुसँग ज्ञान नभएको होइन । तर, ज्ञानलाई पनि व्यवस्थापन गर्नुपर्ला । भइरहेको कुरालाई समायोजन गरेर भिडियोमा ल्याउने कसरी हो ? यसमा चाहिँ ज्ञानको व्यवस्थापन आवश्यक पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर