सञ्चय कोष र लगानी कोषको महंगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौं : निगम अध्यक्ष अधिकारी
काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् । उनले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनको लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको बताए ।
उनले आफू नेतृत्वमा आएपछि जहाजहरुको सदुपयोग गर्नुको विकल्प भएको बताए । निमगले महँगो ब्याजदर घटाउनको लागि अन्तर्राष्ट्रिय निकायहरुसँग १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको बताए । उनले उक्त लोन २ वा ४ प्रतिशतमा पाइयो भने मँहगो ब्याजदरको पैसा र्फिता गर्ने बताए ।
अध्यक्ष अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौंको न्युरोडमा १४ रोपनी ७ आना, सिनामंगलमा ३४ रोपना १३ आना जग्गा तथा अन्य १३ जिल्लामा पनि जग्गा रहेको बताए । उनले न्युरोड र सिनामंगलका जग्गाहरुमा निगमको आधुनिक भवनहरु बनाउने योजना रहेको बताए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले आइका र आइकाओको मापदण्डअनुसार निगमले अत्याधुनिक प्रविधिको आफ्नै ह्याङ्गर बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेश गरेर आर्थिक सहयोग जुटाईदिन माग समेत गरेको बताए । उनले यो विषयमा लगानीबोर्ड पनि चासो राखेको पनि बताए । उनले दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्ने अनुमान रहेको बताए । उनले निमगको ह्याङ्गर बनाउनको लागि मात्र ५ अर्ब बढी रकम लाग्ने अनुमान रहेको बताए ।
उनले निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारलाई र सरकारले निगमलाई आरोप प्रत्यारोप गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखापरेको बताए ।
उनले निगम सुधारको लागि व्यवसायिक योजनाहरु बनाउने चरण रहेको भन्दै बुद्धिष्ट सर्किटको लागि जहाजहरु लिजमा लिएर भए पनि काठमाडौं–ब्याङ्गलोर,कोल्बो–काठमाडौं उडान गर्ने योजना रहेको बताए । उनले जहाज लिजमा आएपछि भैरहवा—कोलम्बो उडानको लागि पनि योजना बनाएको दाबी गरे ।
यस्तो छ अधिकारीको भनाइः
नेपाल वायुसेवा निगमको १३ जिल्लाका २३ ठाउँमा जग्गा रहेको छ । जसमा काठमाडौंको न्युरोडमा १४ रोपनी ७ आना, सिनामंगलमा ३४ रोपना १३ आना जग्गा छ ।
ती जग्गाहरुमा निगमको भवनहरु बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले अहिलेको आइका, आइकाओको मापदण्ड पुर्याउन नसक्ने हुनाले निगमले ह्याङ्गर आफ्नै अत्याधुनिक प्रविधिको बनाउनुपर्छ ।
त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेश गरेका छौं । सरकारले आर्थिक सहयोग जुटाईदिनुपर्यो । काम गर्न सहजिकरण गर्नुपर्यो । यो विषयमा लगानीबोर्ड पनि चासो राखेको छ । दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्छ । जसमा ह्याङ्गरको लागि ५ अर्ब बढी लाग्छ । विमानस्थलको उत्तरपश्चिम साइडमा नागरिक उड्डयन प्राधिकरणले दिएको जग्गामा ह्याङ्गर बनाउने भनेर डिपीआर बनाएका छौं ।
निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारले गरिदिएन भन्ने सरकारले निगमले भन्ने आरोप प्रत्यारोप गरेर जिम्मेवारी पन्छाउने प्रवृति देखा परेको छ । निगम सुधारको चरणमा छौं । बुद्धिष्ट सर्किटको लागि जहाजहरु लिजमा लिएर भएपनि सुरुमा काठमाडौं ब्याङलोर,कोलम्बो,काठमाडौं उडान गर्छौं ।
पछि यात्रु वृद्धि हुन थाल्ने र जहाज लिजमा आएपछि भैरहवा कोल्बोको लागि योजना बनाएका छौं । यसले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि टेवा पुग्छ । गौतम बुद्धको प्रचारप्रसारमा पनि टेवा पुग्छ । हवाईट र न्यारोबडी जहाज खरिद गर्दा अत्यन्त महँगो ब्याजदरमा सञ्चय र लगानी कोषबाट जहाज खरिद गरिएको थियो ।
हामी नेतृत्वमा आएपछि जहाजहरुको सदुपयोग गर्नुको विकल्प भएन । महँगो ब्याजदर घटाउनको लागि अन्तराष्ट्रिय स्फ्ट लोनको लागि आग्रह गरेका छौं । २ वा ४ प्रतिशतमा ऋण पाइयो भने मँहगो ब्याजदरको पैसा फिर्ता गर्छौं । १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेका छौं । विभिन्न ठाउँबाट चासो राखेका छन् ।