पुनः मुख्यमन्त्री बन्ने दाउमा राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे – Nepal Press

पुनः मुख्यमन्त्री बन्ने दाउमा राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशमा अल्पमतमा रहेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको विश्वासमा मत लिने समय सकिँदै छ । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

त्यसमा पनि मुख्यमन्त्री पाण्डेले विश्वासमा मत लिने जानकारी २ दिनअघि अर्थात् चैत २० गते दिउँसो २ बजेभित्र प्रदेश सभालाई दिइसक्नुपर्ने हुन्छ । मुख्यमन्त्री पाण्डेले भने विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेका छन् ।

सोही विषयमा छलफलका लागि आज दिउँसो ३ बजे काँग्रेस सांसदहरूसँग छलफल गर्न बैठक आह्वान गरिएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । प्रदेश सभामा काँग्रेसका २७ सांसद छन् । बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक हुन्छ ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार छलफलपछि मुख्यमन्त्री पाण्डे आजै साँझ नभए बुधवारसम्ममा राजीनामा दिनेछन् । हालको परिस्थितिमा विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्ने योजनामा छन् ।

बहुमत पुर्‍याउन मुख्यमन्त्री पाण्डेले सांसद राजीव गुरुङ (दीपक मनाङेले) भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । माओवादी केन्द्रको चुनाव चिन्ह्रबाट चुनाव जितेको नेपाल समाजवादीका सांसद फणीन्द्र देवकोटाको मत पनि आफूले पाउनेमा मुख्यमन्त्रीले आशावादी छन् । त्यसो हुँदा मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन राप्रपाका साथ भए पुग्छ ।

मुख्यमन्त्री पाण्डेले दुई सांसद रहेको राप्रपालाई फकाउन दुवैलाई मन्त्री बनाउने प्रस्तावसमेत गरेका थिए । तर, राप्रपाले त्यसलाई अस्वीकार गरेको राप्रपाका नेताहरु बताउँछन् । राप्रपाले चैत २७ गते आन्दोलनअघि सरकारमा जाने नजाने कुनै निर्णय नलिने देखेपछि मुख्यमन्त्री पाण्डे त्यस अगावै पुनः मुख्यमन्त्री बन्ने दाउका साथ राजीनामा दिन तयार भएका हुन् ।

के हो मुख्यमन्त्रीको योजनाको ?

संविधानको धारामा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका पाण्डेले राजीनामा दिए प्रदेश प्रमुख डिल्लीराज भट्टले उपधारा २ बमोजिम बहुमतसहित सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन्। यसअघिका भएका आह्वानहरु हेर्दा सरकार गठनका लागि प्रदेश प्रमुखले ७ दिनभन्दा धेरै समय दिएको देखिँदैन ।

मुख्यमन्त्री पाण्डेले आजै राजीनामा दिएमा प्रदेश प्रमुखले अधिकतम ७ दिएमा पनि चैत २७ गतेसम्म बहुमत जुटाइसक्नुपर्ने हुन्छ । यसो त सत्ता साझेदार एमाले–माओवादी गठबन्धनलाई पनि बहुमत पुर्‍याउन राप्रपा नभई हुँदैन। प्रदेश सभामा एमालेको २२, माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । संसद् अभिलेखमा माओवादी रहेको जसपाका सांसद देवकोटा पनि विश्वासको मत दिने नदिने अन्योल छ ।

राप्रपा अनिर्णीत हुँदा दुवैतर्फ बहुमत पुग्दैन । संविधानको धारा १६८ उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बन्न नसकेमा उपधारा ३ अनुसार सरकार बन्ने छ । उपधारा ३ मा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । सोही प्रावधानअनुसार आफ्नो सत्ता लम्ब्याउने योजनामा मुख्यमन्त्री पाण्डे छन् ।

के भन्छन् एमाले-माओवादी गठबन्धनका नेता ?

बहुमतको टुङ्गो नहुँदै एमाले र माओवादी संसदीय दलका नेताहरू आफ्नो नेतृत्वमा सरकार बनाउन लबिङ गर्न उनीहरू दौडधुप गरिरहेका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारी र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अहिले काठमाडौँमा छन् । उनीहरूले आआफ्नो नेतृत्वमा सरकारमा बनाउनु पर्ने भन्दै पार्टी नेतृत्वसँग लबिङ गरिरहेका छन् ।

एमाले गण्डकी संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली राप्रपाले सत्ता गठबन्धनलाई साथ दिने विश्वास व्यक्त गरे । ‘प्रदेश प्रमुखले उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुहुन्छ । हामीले प्रदेश प्रमुखलाई बहुमतका आधार पेस गर्छौँ । राप्रपाले साथ दिन्छ भन्नेमा हामीलाई विश्वास छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर