रुपन्देही प्रादेशिक जनस्वास्थ्य प्रयोशालामा परीक्षण सेवा सुरु – Nepal Press

रुपन्देही प्रादेशिक जनस्वास्थ्य प्रयोशालामा परीक्षण सेवा सुरु

रुपन्देही । लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोशालामा बुटवल १२ तामनगरमा दैनिक प्रयोगशाला परीक्षण सेवा सुरु भएको छ । उक्त सेवाको लुम्बिनीका स्वास्थ्य मन्त्री राजु खनालले सेवाको शुभारम्भ गरे ।

अहिलेसम्म प्रयोगशालाबाट प्रदेशभित्रका प्रयोगशालाहरुको टि.बि., मलेरिया, एचआईभी साथै अन्य परीक्षणहरुको गुणस्तर नियन्त्रण, प्रयोगशाला सुदृढीकरण, प्रयोगशालाकर्मीहरुको क्षमता अभिवृद्धिका साथै स्थलगत अनुशिक्षण कार्यक्रमहरु संचालन गर्दै आइएको थियो । अबदेखि सर्वसाधारणको लागि रगत परीक्षण सेवा दिन लागेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि.निर्देशक राजेशकुमार गुप्ताले बताए ।

उनले अब केन्द्रीय जनस्वास्थ्य प्रयोशालाकोमा हुने धेरै परीक्षण यहाँ हुने जानकारी दिए । प्रदेश सरकार मन्त्रिपरिषदको निर्णयबाट तोकिएको शुल्कअनुसार सेवा दिइने गुप्ताको भनाइ थियो । उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशभित्र हुन नसकेका सम्पूर्ण परीक्षण अब यही प्रयोशालामा हुने जनाए ।

उनले अब प्रदेशबाट ल्याबको परीक्षण गर्न काठमाडौं तथा अन्य ठाउँमा जानुपर्ने अवस्थाको अत्यका लागि प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन गरी थप उपकरण खरिद गरी अत्याधुनिक सेवा दिइने व्यवस्था रहेको बताए ।

मानिस बिरामी भएपछि पहिलो परीक्षण भनेको रगतको रिपोर्ट चाहिने र त्यो विश्वसनीय भएपछि मात्र रोगको उपचार गर्न सहज हुने भएकोले प्रदेश सरकारले यहाँका जनतालाई सेवा दिने व्यवस्था मिलाएको खनालको भनाइ छ ।

बुटवलको देवीनगरमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा समेत कलेशन सेन्टर सुरु गरी बजारका बिरामीहरुलाई यहाँ आउनु नपर्ने र रिपोर्ट अनलाइनमा आउने व्यवस्था भएको समेत मन्त्री खनालको भनाइ थियो । मन्त्री खनालले प्रदेश गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको पनि १२ तले भवन तथा अन्य सेवाको लागि सरकारले काम गरिरहेको बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सरकारी सेवा सुरु भएपनि कोरोना महामारी तथा अन्य बेलामा पनि सहयोग गरिरहेका यसक्षेत्रका ल्याबहरुलाई पिपीपी मोडमा जाने गरी प्रदेश सरकारले नियम बनाउनुपर्ने बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका उपप्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुबेदीले ल्याबको सेवा, गुणस्तरलाई प्राथमिकता दिनुपर्ने जनाए ।

प्रदेशका पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले सामान्य रगत परीक्षण गर्न पनि काठमाडांै जानुपर्ने अवस्था अन्त्य भएको प्रदेशवासीलाई खुसीको कुरा भएको बताउँदै प्रदेश सरकारले जनताको स्वास्थ्यलाई ख्यालमा राखी यी र यस्ता सेवा बिस्तारमा ध्यान दिनुपर्ने जनाए ।

जनस्वास्थ्य प्रयोगशाका ल्याव टेक्निसियन हिमाल खनालका अनुसार ग्लोबल फन्ड तथा सेभ द चिल्ड्रेनको सहयोगमा बुटवल १२, तामनगरमा नवनिर्मित भवन २०८० साउनमा हस्तान्तरण भई उक्त भवनबाट प्रयोगशालाले आफ्ना सेवाहरु संचालन गर्दै आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोशालाको आगामी आर्थिक वर्षबाट प्रदेशमा हुन नसकेका विशिष्टीकृत परीक्षणहरु पनि थप गर्दै जाने जनाइएको छ ।

एचआईभी संक्रमित बिरामीहरुमा भाइरल लोड परीक्षण तथा सहसंक्रमणको परीक्षण सुरु गर्ने,आधुनिक प्रयोगशाला परीक्षण प्रविधिको विकास तथा बिस्तार गर्ने, प्रदेशभर गुणस्तरीय प्रयोगशाला प्रणालीको विकास गरी प्रयोगशाला सेवाहरुको संचालन तथा व्यवस्थापन गर्ने योजना मन्त्रालयले बनाएको छ ।

यस्तै जिल्लास्थित स्वास्थ्य कार्यालयहरुका प्रयोगशाला शाखालाई महामारीजन्य रोगहरुको नियमित सर्भिलेन्स गर्न सबलीकरण गर्ने, प्रादेशिक रक्त संचार केन्द्रको स्थापना गर्ने र प्रदेशभरका रक्तसंचार केन्द्रहरु बीच संजाल स्थापना गरी रगतको अभाव हुन नदिने, रोगको निदानमा प्रेषण प्रयोगशालाको रुपमा स्थानीय जनस्वास्थ्य प्रयोगशालाको स्थापना गर्ने योजना रहेको उपनिर्देशक राजेशकुमार गुप्ताले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई संक्रामक एवम् असंक्रामक रोगहरुको अध्ययन तथा अनुसन्धान गर्न प्रयोगशाला तथा प्रविधिको विकास गर्ने योजना रहेको गुप्ताको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर