लगानी सम्मेलनका लागि बंगलादेशमा प्रिइभेन्ट इन्भेष्टमेन्ट, प्रधानमन्त्री र अर्थमन्त्रीको भिडियो सन्देश – Nepal Press

लगानी सम्मेलनका लागि बंगलादेशमा प्रिइभेन्ट इन्भेष्टमेन्ट, प्रधानमन्त्री र अर्थमन्त्रीको भिडियो सन्देश

काठमाडौँ । नेपालको लगानी सम्मेलनमा लगानीकर्तालाई आकर्षण गर्न बंगलादेशमा प्रिइभेन्ट इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट सेमिनार भएको छ ।

बंगलादेशको ढाकास्थित नेपाली दूतावाससँगले प्रिइभेन्ट इन्भेष्टमेन्ट सेमिनार आयोजना गरेको हो । सो आयोजनामा लगानी बोर्डले सहभागिता जनाएको छ ।

उक्त सेमिनारमा आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनको विषयवस्तु तथा अपेक्षाका सम्बन्धमा सम्भावित लगानीकर्ताहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपालमा गरिने लगानीका लाभहरूबारे चर्चा गरेका थिए ।

बंगलादेशी लगानीकर्तालाई नेपालमा जलविद्युत, पूर्वाधार, होटल तथा हस्पिट्यालिटी, फर्मास्युटिकल्स, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसर पहिल्याउन आग्रह गरे ।

सेमिनारका प्रमुख अतिथि बंगलादेशका ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदमाननीयले नेपालमा रहेको लगानीको सम्भावनाबारे उल्लेख गर्दै नेपाल र बंगलादेशबीच द्विपक्षीय लगानी सम्बन्धलाई मजबुत पार्न बंगलादेश सकारात्मक रहेको बताए ।

नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई विशेष महत्त्व दिँदै बंगलादेशको उच्च माग र नेपालको उत्पादन क्षमताबीच तादम्यता मिलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनको तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।

लगानी सम्मेलनले सम्भावित लगानीकर्ता, नीति निर्माता, निजी क्षेत्र, विज्ञ, विकास साझेदार, डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसनहरू र बैंक तथा वित्तीय संस्थालाई एक ठाउँमा ल्याउने र विदेशी लगानीकर्ताहरूले स्थानीय व्यवसायीहरूसँग साझेदारी गर्न सक्ने बताए ।

उनले सहभागी लगानीकर्तालाई सम्मेलनमा सहभागी हुन आह्वान समेत गरे । साथै बोर्डका प्रमुख कार्यकारी अधिकृतले बंगलादेशका ऊर्जामन्त्री र सम्बन्धित पक्षसँग साइडलाइन बैठक गर्दै द्विपक्षीय हितका विषयमा समेत छलफल गरे ।

सेमिनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आह्वान गरेको भिडियो सन्देश प्रसारण गरिएको थियो ।

सेमिनारमा बंगलादेशको संसदका सदस्यहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू, थिंक ट्यांक, प्रतिष्ठित व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरू, नेपाली दूतावासका अधिकारीहरू लगायत ८० भन्दा धेरैको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर