कूटनीति पढिरहेकी एमाले सचेतक बराल भन्छिन्- समृद्धिको लागि पर्यटन कूटनीति अपरिहार्य – Nepal Press

कूटनीति पढिरहेकी एमाले सचेतक बराल भन्छिन्- समृद्धिको लागि पर्यटन कूटनीति अपरिहार्य

काठमाडौं । फागुन २२ गते संसद थिएन । सदन नभएपछि सदनका सवालमा चासो थिएन सांसद सुनिता बराललाई । उनी व्यक्तिगत काममा व्यस्त थिइन् । सदन नचलेको दिन भएकोले सदनबाट आएका कर्मचारीका फोनहरु उनले उठाइनन् । हत्तपत्त फोन नगर्ने संसदका अधिकृत केशव न्यौपानेले फोन गरेपछि भने उनले उठाइन् । फोनमा न्यौपानेले भने- पत्र बुझ्न आउनुहोला ?

सुनिताले सोधिन्- केको पत्र ? न्यौपानेले सचेतकको पत्रभन्दा सुनिता अचम्ममा परिन् । ‘अध्यक्षले आजै पत्र लिन भन्नुभएको छ’ भनेर न्यौपानेले भनेपछि उनले मोबाइल खोलिन् । इन्टरनेटमा जोडिइन् र देखिन् आफ्नो सचेतक नियुक्तिको खबर, त्यसमा शुभचिन्तकहरुले दिएको बधाईको लर्को । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सीधा कुराकानी हुने उनले त्यो सूचना भने सीधा पाइनन् । त्यसबारेमा चासो राख्न उनले फोन गरिन् । उठेन ।

‘त्यो दिन गरेको फोन उठाउनु भएन । किन उठाउनु भएन भनेर आजसम्म भन्नुभएको छैन’, बराल भन्छिन्, ‘किन भन्नुभएन भनेर सोधेको पनि छैन ।’

सांसदको त्यो स्वतन्त्रता र सचेतकको यो व्यस्तता

संसद बङ्क गर्ने सांसद त होइनन् बराल । तर, उनी संसदमा पुग्ने समय संसद चल्ने र आफ्नो बोल्ने पालो भएको दिन हुन्थ्यो । सचेतक भएपछि फरक छ । उनी एक घण्टा अगाडि पुग्छिन् । एमाले संसदीय दलको कार्यालयमा सचेतक कक्षमा पुग्छिन् । नेकपा एमालेको संघीय संसदीय दलको विधान २०७७ अगाडि राखेर त्यो विधानको दफा २१ मा लेखिएको ‘सचेतकको काम, कर्तव्य र अधिकार’ ध्यान दिन्छिन् र काममा खटिन्छिन् । संसद नचलेको दिनमा पनि उनी कार्यकक्षमै देखिन्छिन् । नेपाल प्रेससँग यो कुराकानी उनले आफ्नै कार्यकक्षबाट गरिन् ।

बराल संसद चलेको दिन संसदमा त्यो दिन शून्य र विशेष समय वा सैद्धान्तिक छलफल के छ छैन बुझ्छिन् । को को सांसद बोल्ने हो, रुजु गर्छिन् । प्रमुख सचेतकदेखि सभामुखसँग गर्नुपर्ने सचेतकको समन्वयमा व्यस्त हुन्छिन् ।

सांसदहरुको बोल्ने कुरामा सचेतक बराल र प्रमुख सचेतक महेश बर्तौलाको एकै मत छ । त्यो हो- संसदमा सैद्धान्तिक छलफल हुँदा बोल्न इच्छुक पदाधिकारीलाई आग्रह गरेर बोल्न दिने र अरु सांसदहरुले त्यही लयमा बोल्ने । एमालेका १५ पदाधिकारीमध्ये पाँच जनामात्रै संसदमा छन् । त्यही पाँच जनाको लय समातेर अरु सांसदहरुले सैद्धान्तिक छलफलमा बोल्ने गरेको बराल बताउँछिन् ।

उनी भन्छिन्, ‘शून्य समय र विशेष समयमा भन्ने आफ्ना कुरामा स्वतन्त्रता नै भयो । सैद्धान्तिक कुरा जस्तै बजेट वा अरु सवालमा भने पार्टी पदाधिकारीले बोलेको लयमा नै बोल्ने हो ।’

सांसद र सचेतक हुँदाको फरक के छ भन्ने सवालमा बराल भन्छिन्, ‘सांसद हुँदा र सचेतक हुँदा फरक छ । सांसद हुँदा स्वेच्छासहितको स्वतन्त्रता थियो । अहिले बढी अनुशासन छ । पहिले सांसदको मात्रै कामले हुन्थ्यो । अहिले प्रशासन जस्तो काम पनि हुन्छ ।’

पार्टी सरकारमा गएपछि पनि भूमिका फरक भएको भन्छिन् बराल । पहिले मुद्दा उठाए पुग्नेमा अब भने मन्त्रालयको काममा सहयोग गर्नेसमेत पर्ने उनी बताउँछन् । आफूसँगै अनेरास्ववियुमा काम गरेका देशभरका साथीहरु प्रदेश सांसद, पालिका प्रमुख तथा उपप्रमुख र विभिन्न ओहोदाका स्वकीयहरु भएका छन् । यसले बराललाई संसदीय र मन्त्रालय दुइटै काममा धाउनु आवश्यक छ ।

प्रमुख सचेतक बर्तौलासँग १८ वर्ष लामो राजनीतिक सहकार्य

हालसालै एमालेका प्रमुख सचेतक महेश बर्तौला युरोप उडे । विमानस्थलको धावनमार्गमा पुगेर उनले सचेतक सुनितालाई फोन गरेर उड्न लागेको जानकारी दिए । दुवैले नमस्कार आदानप्रदान गरेर बिदा भए । बर्तौलाले मकवानपुरबाट जित्दा सबैभन्दा सुरुमा फोन गरेर बधाई दिनेको अुनहारमा एक थिइन् बराल । बर्तौलाको चुनावी जीतको बधाईको सवाल आउँदा मुहार चम्किलो बनाउँदै बराल भन्छिन्, ‘खासमा उहाँले टिकट पाएदेखि नै बधाई दिएको हो । महेशजीको टिकट भनेको हाम्रो पुस्तालाई पार्टीले जिम्मेवारीमा पत्याएको एक उदाहरण हो ।’

झापाकी बराल र मकवानपुरका बर्तौलाको भूगोल फरक छ । तर, राजनीतिमा उनीहरुको मोर्चा झण्डै दुई दशकदेखि एकै छ । १८ वर्ष अगाडि हाल नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पोखराबाट अनेरास्ववियुको अध्यक्ष चयन भइन् । झाँक्रीको केन्द्रीय समितिमा सँगै समान हैसियतमा केन्द्रीय सदस्यको रुपमा पुगेका थिए बराल र बर्तौला । माधव ढुङ्गेल अनेरास्ववियु अध्यक्ष हुँदा बराल र बर्तौला सँगै सचिवालय सदस्य भए ।

ढुङ्गेलपछि किशोरविक्रम मल्ल अध्यक्ष भए । यहाँ चैँ बराललाई ब्रेक लाग्यो । उनी सचिवालय सदस्यको रुपमा चुनाव जितेर दोहोरिन् । बर्तौलाले भने सचिवमा चुनाव जिते । नवीना लामा अध्यक्ष कार्यकालमा भने दुवै उपाध्यक्षमा निर्वाचित भए । पछि सुनिता बराल अध्यक्ष बन्दा बर्तौला बिदा भएर भूगोलमा पुगे । उनी बागमती प्रदेशको उपसचिव भए । बराल अनेरास्ववियुबाट बिदा भएर अहिले पार्टी केन्द्रीय सदस्य छिन् ।

१८ वर्ष अगाडि अनेरास्ववियुको सदस्यमा सँगै भएका उनीहरु एकै कमिटीमा हुँदा एकै पद उपाध्यक्ष भएर छुट्टिएका थिए । अहिले दुवै सांसद भएर प्रतिनिधिसभामा पुगेका छन् । फागुनबाट बराल सचेतक भइन् । बर्तौला सचेतकबाट प्रमुख सचेतक भए । यति लामो विरासत र सहकार्य भएकोले बर्तौला बराललाई विश्वास गर्छन् । विश्वास गरेरै संसदमा बोल्न चाहने सांसदहरुलाई बरालसँग नाम लिएर बोल्न भन्छन् । तर, कतिपय सांसदहरु बर्तौलालाई भनेर मात्रै बरालकहाँ आइपुग्छन् । ‘म र महेश कमरेड व्याजी हौं । उहाँलाई मेरो विश्वास छ, मलाई उहाँको । तर, कतिपय सांसदहरुलाई मप्रति विश्वास छैन’, उनी भन्छिन्, ‘महिला भएकोले नपत्याउनु भएको हो कि ?’

महिला सांसदहरुमा भने त्यस्तो केही नभएको उनी बताउँछिन् । भन्छिन्, ‘महिला सचेतक भएकोमा महिलाहरु त खुशी हुनुहन्छ । अग्रज जुली महतो र भगवती चौधरी हुनुहन्छ । उहाँहरुको राम्रो साथ सहयोग छ ।’

प्रतिनिधिसभामा खास मुद्दामा समय कम

संसदभित्र र बाहिरको माहोल फरक लाग्छ बराललाई । संसदमा बोल्दा तारिफ गर्न नसक्नेहरुले बाहिर लबीमा भेट्दा वा अन्त जम्काभेट हुँदा तारिफ गर्ने चलन छ । संसदमा सबै दलको प्रतिनिधित्व गर्ने नाममा सबैभन्दा ठूलो दलदेखि स्वतन्त्र सबैलाई बोल्न दिँदा एकै कुरा पटक पटक र एकै कुरा फरक फरक कोणमा भनिनुमा बराललाई निको लागेको छैन । ‘दलीय प्रतिनिधित्व चाहिने नाममा राष्ट्रिय दल नभएकोलाई किन राख्ने । किन थ्रेसहोल्ड राखिएको त ?’, बराल भन्छिन्, ‘अभ्यासको निरन्तरतामै संसदको आधा दिन बित्छ । थकित हुने । आलस्य हुने । पारिवारिक कुरामा ध्यान जाने हुन्छ ।’

युरोपेली संसद, भारतीय संसदहरुको जीवन्त संसदीय बहस प्रत्यक्ष हेरेकी बराललाई नेपालमा पनि हुबहु गर्न नसके पनि केही सुधार हुनुपर्ने लाग्छ । नियमावलीमा पूरक प्रश्न गर्ने कुरा नेपालमा पनि भएको भन्दै उनले त्यसमा काम गर्न सकिने बताइन् ।

यस्तै प्रधानमन्त्री भइसकेका व्यक्तिबाहेकलाई बोल्न कडाइ हुनुपर्ने उनको धारणा छ । नेपालमा संसदमा ‘अभ्यासको निरन्तरताको कारण कर्मकाण्डी’ भएकोमा बराललाई चिन्ता छ । तर, सबै लागेमा सुधारको बाटो देख्छिन् उनी ।

अबको विदेश नीति: पर्यटन कूटनीति

सांसद भएपछि संसदीय समिति चयनमा पार्टीले सोचेको थियो बराल शिक्षा समितिमा बस्छिन् । बराल त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बसिन् । केपी शर्मा ओली, माधवकुमार नेपाल, शशांक कोइराला, शेखर कोइराला, नारायण खड्का, पशुपतिशमशेर जबरा हुँदै प्रेम सुवालसम्म भएको समितिमा छिन् उनी । यो संसदीय समिति चयनको पनि बरालको खास रुचि हो । उनी कारण खुलाउँछिन्, ‘अन्तर्राष्टिय सम्बन्ध र राष्ट्रिय सुरक्षाको चासो भएकोले समिति चयन गरेको हो । यो आफूले आफैंसँग गरेको कमिटमेन्ट हो ।’

कूटनीतिक मोर्चामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बसेरमात्रै उनको चित्त बुझेन । उनी विश्वविद्यालयमा पनि कूटनीतिक क्षेत्रमै जोडिइन् । उनी त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिको एमफिल कार्यक्रममा सहभागी भएकी छन् । कूटनीति जोडिएको संसदीय समितिको अनुभव, कूटनीतिशास्त्रकै उच्च औपचारिक अध्ययनको भर्ना, विभिन्न देशको घुमफिर र पर्यटनको चासो यी सबै कुराको लेखाजोखाले उनी एक निचोडमा पुगेकी छन् ।

त्यो हो- ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने हो भने सबैभन्दा पहिलो कूटनीतिक पहल पर्यटन कूटनीतिबाट गर्नुपर्छ । नेपालको अनुपम प्राकृतिक सौन्दर्यको तुलनात्मक रुपमा कम लगानीका पूर्वाधार र विश्वस्तरीय प्रचार गरेमा नेपालको पर्यटनको कमाइ धेरै हुने देख्छिन् बराल । नेपालले विश्वका धनी देशहरु तथा छिमेकी देशहरुलाई सौखिन र खर्चालु पर्यटकहरु ल्याउनमा कूटनीतिक मेहनत गर्नुपर्ने बराल बताउँछिन् । राजदूत बनाउँदा सम्बन्धित देशका नेपालीको हित गर्ने र नेपाली ब्राण्ड बढाउने अनुहार रोज्नुपने भन्दै उनी भन्छिन्, ‘पर्यटन कूटनीतिमा काबिललाई राजदूतमा प्राथमिकता दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर