धनगढीले जित्यो छैटौं खड्गप्रसाद गौचन स्मृति यू-१९ क्रिकेटको उपाधि – Nepal Press

धनगढीले जित्यो छैटौं खड्गप्रसाद गौचन स्मृति यू-१९ क्रिकेटको उपाधि

रुपन्देही । क्रिकेटका पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनले आफ्ना बुवाको स्मृतिमा आयोजना गरेको छैटौं खड्गप्रसाद गौचन मेमोरियल यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले जितेको छ ।

प्रतियोगिताको फाइनलमा पल्सर सीईसी काठमाडाैंलाई १७ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो ।

रुपन्देहीको तिलोत्तमामा निमार्णाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगितामा धनगढीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । जसमा धनगढीले ३२.५ ओभरमा सबै विकेट गुमाउँदै अशोक धामीको अर्धशतकको मद्दतमा १५० रन बनाएको थियो ।

धनगढीलाई १५० रनमा रोक्ने क्रममा सीईसी काठमाडौंका दयानन्द मण्डलले ३, करण घर्तीमगर र स्मित बुढाले २-२ विकेट लिएका थिए ।

जीतका लागि १५१ रनको लक्ष्य पाएको सीईसी काठमाडौं ३५ ओभरमा अलआउट हुँदै १३८ रनमा सीमित हुन पुगेको थियो । सीईसीका लागि सुमितसिंह बुढाले ४१ र स्मित बुढाले ४० रनको योगदान गरेका थिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ धनगढीका निशान रेग्मीले ४ र सौर्य श्रेष्ठले २ विकेट लिए ।

प्रतियोगिताको विजेता धनगढीले उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता काठमाडौंले २५ हजार र कप, मेडल तथा प्रमाणपत्र पायो ।

फाइनल खेलमा सीईसीका निशान रेग्मी प्लेयर अफ द म्याच र समीर विष्ट प्लेयर अफ द सिरिज बन्न सफल भए । सीईसीकै दयानन्द मण्डल बेस्ट बलर, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका विजय प्रजापति बेस्ट ब्याटर घोषित भए ।

विजेता तथा उपविजेता टीमलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकेट संघका निर्वतमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ, जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारीलगायतले कप तथा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा रुपन्देहीमा क्रिकेट विकासमा २५ वर्षदेखि योगदान दिएका क्रिकेट प्रशिक्षक जंगबहादुर थापालाई लाइभ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

प्रतियोगितामा समूह ‘ए’मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बीएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह ‘बी’मा पल्सर सीईसी काठमाडौं, डिस्ट्रिक एसोसियसन अफ कास्की, डीसीए धनगढी र न्यु होराइजन स्पोर्ट्स क्लब गरी आठ टीम सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर