सम्बन्ध विच्छेदको मुद्दा चलिरहँदा एक्लै पत्नीको कोठामा जानु अस्वाभाविक: सर्वोच्च – Nepal Press

सम्बन्ध विच्छेदको मुद्दा चलिरहँदा एक्लै पत्नीको कोठामा जानु अस्वाभाविक: सर्वोच्च

अदालतको आदेशमा वादीसँगै प्रतिवादीको पनि नाम परिवर्तन

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका थुनामा पठाउने आदेश गरेको छ । उनले आफूमाथि वैवाहिक बलात्कार र बलात्कार गरेको भन्दै पत्नी आरती रावल गिरीले मुद्दा हालेकी थिइन् ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निलम्बित न्यायाधीश गिरीलाई मुद्दाको पुर्पक्षका लागि धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बेरितको देखिएको भन्दै बदर गर्यो । समग्र परिस्थिति र प्रमाणहरुलाई आधार मान्दा अहिले नै प्रतिवादी कसुरदार रहेनछन् भन्न सकिने अवस्था नभएको अदालतको भनाइ छ ।

आज अदालतमा सुनुवाइकै क्रममा गिरीकी पत्नी आरतीले विष सेवन गरेकी थिइन् । अदालतको आदेशलाई प्रभावित बनाउन उनले सो हत्कण्डा अपनाएको कतिपयको बुझाइ छ । के अदालतले साँच्चै न्यायाधीशद्वयले मनोवैज्ञानिक दबाबमा परेर आदेश गरेका हुन् त ?

अदालतले आरोपी न्यायाधीश पीडितको कोठामा एक्लै जानु र रात बिताउनुलाई आदेशको मुख्य आधार बनाएको देखिन्छ । आरोपीले इन्कारी बयान गरे पनि बारदात भएको भनिएको मितिमा उनी पीडितको कोठामा गएको स्वीकारोक्ति गरेको आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘त्यो रात १० बजेदेखि भोलिपल्ट दिउँदो ३ बजेसम्म पीडितकै कोठामा रहेको र त्यहीबाट पक्राउ परेको तथ्यलाई स्वीकार गरेको देखिन्छ ।’

पीडितले वारदातको दिन आफू समस्यामा परेको भनि दुईजनालाई मोबाइलमा म्यासेज गरेको व्यहोरालाई पनि अदालतले आधार बनाएको छ । यस्तै पीडित बस्ने गरेको घरबेटी सुमित्रा श्रेष्ठले गरिदिएको कागज व्यहोराबाट पीडितले मौकामा आफूलाई प्रतिवादीले जबरजस्ती करणी गरेको बताएको आदेशमा उल्लेख छ । आदेशअनुसार पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा हाइमन ओल्ड टियर भन्ने देखिएको छ ।

न्यायाधीशद्वयले प्रस्तुत गरेको दोस्रो आधार हो- वैवाहिक जबरजस्ती करणी र सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जानु । यसलाई अदालतले अस्वाभाविक ठहर्याएको छ ।

आजको आदेशको अर्को रोचक पक्ष भनेको वादी र प्रतिवादी दुवैको नाम परिवर्तन गरिएको छ । अहिलेसम्म प्रहरी र अदालतले यौनजन्य मुद्दामा जाहेरीकर्ताको नाम परिवर्तन गर्ने गरे पनि प्रतिवादी वा आरोपीको वास्तविक नाम नै उल्लेख गर्ने गरेका थिए । तर, आजको आदेशमा आरती र भुवन दुवैको नाम उल्लेख छैन । आरतीलाई २६ परिसर (२६) र भुवनलाई २६ परिसर २६ (क) नाम दिइएको छ । जबकि आजै आदेश भएका अन्य बलात्कारका मुद्दामा अदालतले प्रतिवादीको वास्तविक नाम नै उल्लेख गरेको देखिन्छ ।

के हो मुद्दा ?

३९ वर्षीय रावलले सुरुमा गिरीमाथि वैवाहिक बलात्कार तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको थियो ।

पक्राउ पुर्जी जारी भइसकेपछि पनि गिरीले आफ्नै कोठामा आएर रातभर बलात्कार गरेको भन्दै रावलले अर्को मुद्दा दिइन् । सुरुको मुद्दामा वैवाहिक बलात्कारको आरोप लगाएकी उनले पछिल्लो मुद्दामा ‘बलात्कार’ को आरोप लगाएकी छिन् । आजको आदेश दोस्रो मुद्दाको हो ।

डिभोर्सको मुद्दा चलिसकेको अवस्थामा यदि श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेको खण्डमा त्यसलाई ‘वैवाहिक बलात्कार’ नभएर सिधै ‘बलात्कार’ मान्ने कानूनी व्यवस्था छ । त्यसमै टेकेर रावलले श्रीमानविरुद्ध बलात्कारको अर्को मुद्दा हालेकी हुन् ।

रावलले जाहेरीमा उल्लेख गरेअनुसार पक्राउ पुर्जी जारी भएपछि गिरीले उनलाई फोन गरेर एक पटक जसरी पनि भेट्न आग्रह गरेका थिए । त्यसपछि उनीहरूको भेट सुन्धारास्थित काठमाडौं मलमा भएको थियो ।

भेटपश्चात आफ्नो मोबाइलसमेत कब्जामा लिएर गिरीले मुद्दा फिर्ता लिन दबाब दिएको रावलको आरोप छ । आफूले नमानेपछि पछ्याउँदै गोंगबुस्थित आफ्नो कोठामै आएको र रात बिताएको उनले बताएकी छन् । आफूलाई रातभर गिरीले बलात्कार गरेको रावलले जाहेरीमा उल्लेख गरेकी छन् । राति १० बजेदेखि बिहान ३ बजेसम्म ८ पटक बलात्कार गरेको उनको आरोप छ । भोलिपल्ट बिहान गोङ्गबु प्रहरीले कोठामै आएर गिरीलाई पक्राउ गरेको थियो ।

न्यायाधीश गिरीसँग आरती रावलको विवाह २०७५ सालमा भएको थियो । तर आफूलाई केवल यौनदासीका रूपमा व्यवहार गरेको रावलको आरोप छ । विवाहपश्चात् आफ्नो गर्भ बसेपछि श्रीमानले गर्भपतन गर्न दबाब दिएको तर नमानेपछि कुटपिट गरेको उनले बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *