इलाममा सुहाङलाई सघाउन एमालेसँग माओवादीले माग्याे बझाङ – Nepal Press

इलाममा सुहाङलाई सघाउन एमालेसँग माओवादीले माग्याे बझाङ

काठमाडौं । सत्ता गठबन्धन आवद्ध नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख १५ गते हुने उपनिर्वाचनमा साझा उम्मेदवार बनाएर जाने विषयमा छलफल भइरहेको छ । तर, नेकपा माओवादी केन्द्रले इलाम २ मा एमालेलाई सहयोग गर्न बझाङ पाउनुपर्ने शर्त अघि सारेको हो ।

प्रतिनिधिसभाअन्तर्गत इलाम २ र प्रदेशसभाअन्तर्गत बझाङमा हुने उपनिर्वाचनका लागि दुवै दलले उम्मेदवार घोषणा गरिसकेका छन् । तर, एमाले र माओवादीबीच साझा उम्मेदवार बनाएर जाने विषयमा भएको छलफल टंगिनसकेको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले बताए ।

‘इलाममा एमालेलाई सघाउने भन्ने विषयमा औपचारिक निर्णय भइसकेको छैन’, उनले भने, ‘गठबन्धनमा छलफल भइरहेको छ । इलाममा हामीले एमालेलाई सहयोग गरेर उहाँहरुले बझाङमा हामीलाई सहयोग गर्ने सम्भावना छ । तर, अहिलेसम्म सबै विषयमा छलफल भइरहेको छ । कुनै औपचारिक निर्णय भइसकेको छैन ।’

एमालेले इलाम २ मा सुवास नेम्बाङका छोरा सुहाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।

माओवादीमा इलाम २ का लागि ४ जनाको नाम सिफारिस भएकोमा प्रदेश कमिटीले धिरेन शर्मा रमणको मात्रै नाम केन्द्रमा सिफारिस गरेको छ । बझाङमा सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि इलाममा माओवादीले आफूहरुलाई सहयोग गर्ने विश्वास राखेको बताए । इलाममा एमालेलाई सहयोग गर्न माओवादीले बझाङमा समर्थन खोजेको उनले बताए ।

उनले भने, ‘हामीलाई उहाँहरुले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ । तर, उहाँहरुले इलाममा सहयोग गर्न बझाङ पाउनुपर्ने माग गर्नुभएको छ । तर, त्यहाँ उहाँहरुको जित्ने आधार छैन ।’

उनले अहिलेसम्म कुनै सहमति नभए पनि छलफल चलिरहेको बताए । त्यसो त गत साता एक कार्यक्रममा बोल्दै ओलीले पनि उपनिर्वाचनमा माओवादीले एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीले पनि एमालेलाई इलाममा सहयोग गर्नुपरे बझाङ आफूहरुले पाउनुपर्ने अडान राखेको थियो । तर, एमालेबा दिने संकेत नपाएपछि उसले इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

इलाम एमालेको विरासत भएको क्षेत्र हो भने बझाङ गत निर्वाचनमा गठबन्धनको बलमा कांग्रेसले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर