न्यायाधीश भुवन गिरी सर्वोच्चबाटै गिरफ्तार, भोलि जिल्ला अदालतले फैसला सुनाउने
इजलासमै विष सेवन गरेकी आरती रावलको अवस्था सामान्य
काठमाडौं । सर्वोच्चले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएसँगै न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । उनी मुद्दाको सुनवाइका लागि सर्वोच्च अदालतमा उपस्थित थिए ।
श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई सर्वोच्चले थुनामा राख्न आदेश गरेको हो । जिल्ला अदालतले उनलाई धरौटीमा छोडेको थियो भने उच्चले जिल्लाको निर्णय सदर गरेको थियो । त्यसलाई उल्टाएर सर्वोच्चले गिरीलाई फेरि थुनामा पठाएको छ ।
कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दिएकी आरतीले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन् । सम्वन्धविच्छेदको मुद्दा चलिरहेको अवस्थामा गिरीले आफूलाई कोठामै आएर रातभर बलात्कार गरेको उनको आरोप छ । उक्त मुद्दाको अन्तिम फैसला भोलि जिल्ला अदालतले सुनाउने भएको छ ।
सर्वोच्च अदालतमा आज मुद्दाको सुनवाइ हुँदै गर्दा आरतीले विष सेवन गरेकी थिइन् । उनलाई तत्काल वीर अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य परिक्षणबाट विष खाएको पुष्टि भएको छ । तर, शरीरमा कुनै असर नगरिसकेको स्रोतले बतायो ।
‘उहाँले थोरै मात्रामा खाएको देखिन्छ । ल्याउँदा अर्धचेत हुनुहुन्थ्यो । हामीले अहिले अब्जर्भेसनमा राखेका छौं,’ वीरका एक चिकित्सकले भने । ती चिकित्सकका अनुसार विष सेवन गरेको केसमा ४ घन्टापछि असर देखिन सक्ने भएकाले आरतीलाई डिस्चार्ज नगरिएको हो । उनको अवस्था भने अहिले सामान्य छ ।