संविधान र गणतन्त्र बचाउन निष्ठापूर्वक लागिरहने छु : राष्ट्रपति पौडेल – Nepal Press

संविधान र गणतन्त्र बचाउन निष्ठापूर्वक लागिरहने छु : राष्ट्रपति पौडेल

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पारेका छन् । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राजनीतिक अस्थिरताको श्रृङखलाले यो देश र व्यवस्थालाई अप्ठयारो नहोस भन्ने मेरो चिन्ता हो मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु,’ तपाइहरूको राजनीतिमा मेरो भन्नु केही छैन तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस भन्ने मेरो चिन्ता हो, प्रधानमन्त्रीले तपाई र म रहेसम्म केही हुँदैन भन्नुभएको छ’, उनले भने, ‘ तपाईहरुले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।’

उनले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्दै भने, ‘ एउटा जिपी कोइराला श्वास प्रश्साव केन्द्रलाई शिक्षण अस्पताल बनाउने र अर्को संसारमा कुनै पनि नेपालीले एक पटक नआई नहुने भानु साहित्य उद्यान, यसैले यो तनहुँलाई विशिष्ट जिल्ला बनाउँछ । ‘

उनले विकासको कुरा रोकेर कानुनको कुरा गर्न नहुनेतर्फ न्यायक्षेत्रको ध्यानाकर्षण गराए । उनले भने,’ विकासको काम रोकेर कानुनको कुरा नगरौं, न्याय पनि जनताको पक्षमा हुनुपर्छ यो मेरो सुझाव र सल्लाह हो ।’
राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले त्यसको लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी छ भने ।

‘त्यसैले सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ’, राष्ट्रपति पौडेलले भने। रोजगारी र शिक्षाको लागि शहर पस्ने र शहर हुँदै विदेशीने प्रवृत्ति बढीरहेका बेला स्थानीयस्तरमै विद्यालय हुँदै क्याम्पस तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदानगर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता नै आजको आवश्यकता हो भन्दै उहाँले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी हो जसले भौतिक विकास, संस्कार र सभ्यता निर्माणको जग बसाल्छ भने । ‘ज्ञानको शक्ति र सामथ्र्य व्यापक र विराट छ, भूमण्डलीकरण र विश्वव्यापीकरणको आधुनिक युगमा प्राविधिक, व्यावसायीक र प्रतिस्पर्धी शिक्षा दिन सरकार, नीति निर्माता र शिक्षासँग सरोकारवालाहरुले एक भएर सोच्नुपर्दछ’, राष्ट्रपति पौडेलले भने ।

उनले पठनपाठन र ज्ञानआर्जनको परम्परागत शैली र ढर्रालाई त्यागेर नीति निर्माण र योजनातहमा बस्नेले ग्लोबज भिलेजको जमानमा जहाँ कही बस्ने र जहाँसुकै पुग्नेलाई प्रतिस्पर्धी, योग्य, स्वरोजगार, स्वाबलम्बी र आत्मनिर्भर हुने खालको शिक्षा दिन सक्नुपर्दछ भने । राष्ट्रप्रेम र देशभक्ति त छदैछ देश निर्माण गर्ने एक अनुशासित, सीपवान र शीलवान नागरिक तयार गर्ने संस्कार र शिक्षा दिन जरुरी रहेको आफूलाई लागेको उनको भनाइ थियो ।

सामाजिक अगुवा एवं शिक्षानुरागीहरूको अथक प्रयासमा डेढ दशक अघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको प्रसंग उल्लेख गर्दै तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्र्थीहरूको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गरे ।

उनले भीमाद बजार र सेरोफेरो गुल्जार हुँदै गएपछि यहाँका शैक्षिक संस्थाको महत्व बढ्नु स्वभाविक भएको र यस क्षेत्र विस्तारै सडक, शिक्षा र सञ्चारसँगै विकासको बाटोमा अघि बढेको छ भने । भीमादबाट रिसिङ, भीरकोट हुँदै चितवन र रिसिङ राम्जाकोट, पिपलटार हुँदै नवलपरासीसम्मको फराकिलो सडक पूर्वाधार बनाएर उत्तर र दक्षिणका छिमेकी देशलाई जोड्ने संभावनातर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘निर्माणाधिन १४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाले बनाउने जलाशयले यस क्षेत्रको पर्यटकीय आकर्षण बढाउन योगदान दिनैछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *