वाइडबडी खरिद भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल पर्वतारोहण संघका अध्यक्ष शेर्पा राजीनामा दिन्छन् ? – Nepal Press

वाइडबडी खरिद भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल पर्वतारोहण संघका अध्यक्ष शेर्पा राजीनामा दिन्छन् ?

काठमाडौं । वाइडबडी जहाज खरिद भ्रष्टाचारमा नाम आएका नेपाल पर्वतारोहण संघको अध्यक्ष निमा नुरु शेर्पाले राजीनामा नदिने भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री जीवनबहादुर शाही र पूर्व सचिवहरू शंकर प्रसाद अधिकारी र शिशिर कुमार ढुंगानासहित ३२ जनाविरुद्ध वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेको छ । ३२ जनामा नेपाल पर्वतारोहण संघको अध्यक्ष निमा नुरु शेर्पाको पनि नाम रहेको छ ।

नेपाल पर्वतारोहण संघका सचिव धनबहादुर गुरुङले वाइडबडी जहाज खरिद भ्रष्टाचारमा नाम आएकै भरमा अध्यक्ष निमा नुरु शेर्पाले राजीनामा नदिने बताए । शेर्पा जहाज खरिदका बेला निगमको सन्चालक समितिका सदस्य थिए ।

गुरुङले भने, ‘वाइडबडी जहाज खरिद भ्रष्टाचारमा नाम आएकै भरमा अध्यक्ष निमा नुरु शेर्पाले राजीनामा दिने वा संघले कारबाही गर्ने भन्ने हुँदैन । भ्रष्टाचारमा दोषी भएको खण्डमा मात्रै राजीनामा दिने हो । संघमा यस विषयमा छलफल भएको छैन ।’

२०७९ जेठ २८ गते नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका थिए ।

मुद्दा दर्तापछि शेर्पा पर्वतारोहण संघको कार्यक्रम र कार्यालयमा भने गएका छैनन् । शुक्रवार जुगल हिमाल आरोहणबारे संघको पत्रकार सम्मेलन थियो तर शेर्पा भने अनुपस्थित रहे । सार्वजनिक सरोकारको संस्था भएकाले भ्रष्टाचार मुद्दा दर्ता भएपछि स्वतः निलम्बन हुने तर्क संघकै कतिपय पदाधिकारीले गरेका छन् ।

मुद्दृाको किनारा नलाग्दासम्म बरिष्ठ उपाध्यक्षलाई कार्यवाहक दिन उनीमाथि दबाब बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर