बझाङमा आफ्नो उम्मेदवार जिताउन जुट्यो एमाले, प्रदेश इन्चार्जले हस्तान्तरण गरे झन्डा र टिकट
कैलाली । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि नेकपा एमालेले आफ्नो उम्मेदवार दमन भण्डारीलाई जिताउने गरी अभियान सुरु गरेको छ ।
एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीको झन्डा र टिकट बझाङ इन्चार्ज लगायतका नेताहरूलाई हस्तान्तरण गर्दे बझाङमा आम नागरिकले आफ्नो अभिमत मार्फत एमालेलाई रोज्ने बताए ।
प्रदेश इन्चार्ज विश्वकर्माले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिट ब्युरो सदस्य समेत रहेका बझाङ इन्चार्ज राजेन्द्र रावल, पूर्व इन्चार्ज भैरवबहादुर सिंह र प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीलाई टिकट र झन्डा हस्तान्तरण गरेका थिए ।
बझाङ १ बाट प्रदेश सभामा निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । शुक्रवार टिकट र झन्डा बुझ्दै स्थायी कमिटी सदस्य थापाले बझाङ निर्वाचन जित्दै एमालेले सुदूरपश्चिममा १ सिट थप गर्ने बताए ।
पोलिट ब्युरो सदस्य समेत रहेका जिल्ला इन्चार्ज रावलले बझाङका जनताले योग्य उम्मेदवार छनोट गर्ने र त्यहाँको लागि सबै भन्दा उपयुक्त उम्मेदवार एमालेले उठाएकाले निर्वाचन जित्नेमा विश्वस्त रहेको बताए ।
प्रदेश अध्यक्ष जैशीले बझाङमा एमालेको बढ्दो लोकप्रियताका कारण जित निश्चित भएको बताए । बझाङमा एमालेले दमन भण्डारीलाई उम्मेदवार बनाएको छ ।
आज एमाले नेता कार्यकर्ताहरूको उपस्थितिमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष जैशीले बताए ।