सुनसरीको अवस्था सामान्य बन्दै, कर्फ्यु जारी – Nepal Press

सुनसरीको अवस्था सामान्य बन्दै, कर्फ्यु जारी

विराटनगर । सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा दुई समूहबीच भएको झडपपछि उत्पन्न भएको अवस्था सामान्य बन्दै गएको छ ।

दुई समूहका बीचमा हिजो बिहानैदेखि ठाउँ ठाउँमा झडप भएपछि जिल्ला प्रशासनले हिजो साँझबाट सुनसरीका ५ वटा पालिकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

कर्फ्युपछि सुनसरीको अवस्था सामान्य बन्दै गएको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदनिधी फुयाँलले जानकारी दिए । ‘साँझबाट कहीँकतै पनि झडप र प्रदर्शन भएको सूचना आएको छैन,’ उनले भने,‘अवस्था सामान्य बन्दै गएको छ । परिस्थिति नियन्त्रणभन्दा बाहिर छैन । ’

एसईई परीक्षा भएको स्थलमा एक जना युवामाथि कुटपिट भएपछि दुई समुदाय बीचमा झडप भएको थियो ।

यसैबीच सुनसरीका राजनीतिक दलहरूले अपिल जारी गर्दै सद्भाव कायम गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस सुनसरीले अपिल जारी गर्दै द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने भन्दै चिन्ता प्रकट गरेको छ ।

अपिलमा भनिएको छ, ‘परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासकालागी हातेमालो गर्दै आएकाछौं । नेपालीको भावना र चाहना विपरीत धार्मिक सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन । ’

यस्तै नेकपा एमाले सुनसरीले पनि धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेकाले दोषी उपर कारबाही हुने भन्दै सबैलाई शान्त रहन आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *