सुनसरीको कर्फ्यू हटाउन सर्वदलीय बैठक बस्दै
सुनसरी । सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यु हटाउनेबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दै छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाउनेबारे निर्णय लिन आज बिहान साढे १० बजे बस्ने गरी सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको सहायक प्रमुख जिल्ला अधिकारी बेद राज फुयाँलले जानकारी दिए ।
‘हामीले साढे दश बजेका लागि सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएका छौँ । बैठकपछि कर्फ्यु हटाउनेबारे उपयुक्त निर्णय लिइने छ’ फुयाँलले भने ।
शुक्रबार दिउँसो इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा कर्फ्यु लगाएको स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि ती स्थानीय तहमा कर्फ्यु अनिश्चित कालीन लगाएको हो ।
फुयाँलका अनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ । बिहीबार माध्यमिक शिक्षा परीक्षाको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवकलाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद बढेको थियो ।
शुक्रबार दिनभरजसो तनावग्रस्त बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका छन् ।