नलेखिने प्रेमकथा- २
समासँग पछिल्लो पटक भेट भएको आज पर्सिपल्ट हो । साँझ पर्न लागेको थियो । म यात्रुलाइ सीटमा गएर बस्न र ढोकामा भीड नगरी दिन अनुरोध गर्दै थिएँ, समा हतारहतार गर्दै गाडीमा चढी र केही नबोली पछाडिको सीटमा गएर बसी ।
आजकी समा फेरि अर्कै थिई । उसको साडीसहितको फर्मल पहिरन देख्दा लाग्थ्यो- ऊ कुनै पार्टी वा फर्मल कार्यक्रममा भाग लिएर फर्कंदै थिई । साडीले नेपाली महिलाको व्यक्तित्वलाई थप निखार्छ जस्तो लाग्छ मलाई । कस्तो मानिस सुन्दरमा गनिन्छ ? अझ सीधै केटीकै कुरा गरौं न ! धेरै किताब, मुभी वा मानिसका कुरा सुन्ने हो भने अग्ली, गोरी, शारीरिक सुगठन मिलेकी (झर्रो नेपालीमा भन्नु पर्दा बान्की परेकी) आदि आदि ।
एउटा हिन्दी सिनेमामा नायकले डाइलग बोल्छ, ‘कित्नी अच्छी लम्बी लड्की निकल गइ यार !’ यसैले अग्ली हुनु पनि सुन्दरतामा पर्ने रहेछ भन्ने बुझ्नुप¥यो । फेरि अहिलेको पश्चिमा देशका मानिसहरुको कुरा सुन्ने हो भने उनीहरु तुलानात्मक रुपमा काला र दुब्ला केटीहरुलाई बढी सुन्दर देख्छन रे ! तर, मानिसले यो सब लेखाजोखा गरेरमात्र प्रेम गर्ने होइन रहेछ नि ! यदि त्यस्तो हुन्थ्यो भने त संसारमा कति नै केटा र केटीको प्रेम सम्बन्ध हुन्थ्यो होला र ?
त्यसो त समा पनि विशेष त केहीमा पनि थिइन नि ! न अग्ली, न गोरी न त त्यस्तो जिउडाल सारै मिलेकी नै ? तर, के गर्ने आफ्नु ऐश्वर्या राय उही थिई ! म त कसम खाएर भन्न सक्छु कि मैले आजसम्म देखेको संसारका सबै केटीभन्दा र आजसम्म देखेकी ऊ आफैंभन्दा पनि आज बढी राम्री देखिएकी थिई समा उर्फ रिपू । म विस्तारै ऊ भएको ठाउँमा गएँ र उसको हालचाल सोध्न लागें ।
हालखबरभन्दा पनि हतार भएकोले गाडी छिटो कुदाउन उसले अनुरोध गरी ।
यो तिम्रो गाडीलाई अलि छिटो गुडाउन मिल्दैन, अप्ठेरो बेलामा काम नआउने साथी के साथी ?
मैले गएर ढोका बन्द गरें र गुरुजीलाई भनें, ‘गुरुजी, अब मान्छे ओराल्नेमात्र तर नचढाउने । तपाईं गाडी हुइँकाउनुहोस् ।’
गाडीको सहमालिकले भनेको नमान्ने कुरै थिएन । त्यसैले गाडी हुइँकियो ।
म समासँगै गएर बसें र जिस्काउँदै भनें, ‘यो साडी किन यति राम्रो देखिएको के तिमीले लाउँदा ?’
समाले हल्का लजाएको पाराले भनी, ‘सोध न उसैलाई सीधै, मलाई बीचमा मध्यस्थता किन राख्छौ ?’
मैले समालाई जिस्काउँदै अझै दुईचार कुरा केही भनें । खासमा म विस्तारै मदहोस हुँदै गएको थिएँ र अनायासै मैले समालाई गालामा किस गर्न पुगेछु ।
एकै पटक मेरो गालामा चड्कन लाग्दा पो मैले थाहा पाएँ, म पशु झैं भैसकेको रहेछु भन्ने कुरा । त्यसपछि गाडीका मानिसहरु पनि ममाथि खनिए । एउटी अबला नारी देखेर ढोका बन्द गर्ने, गाडी नरोक्नु भन्ने र हातपात गर्न खोज्ने ! यो बलात्कारी हो, यसलाई छोड्नुहुँदैन भनेर सबले ममाथि मुक्का र लात्ती बर्षाए ।
समाले यो हेर्न सकिरहेकी थिइन । ‘हामी साथी हो, उसले केही गरेको छैन, उसलाई नपिट्नुहोस्’ भनेर उसले बिन्ती गरी । तर, भीड बौलाइसकेको थियो ।
मेरो नाक, गाला र ओठ फुटेर रगत आइरहेको थियो । अब मेरो दिमागमा आफ्नो टाउको बचाउनेमात्र ख्याल आएको थियो । आफूले मुटु झैं मन पराएकी समा कता कस्तो हालतमा थिई, मलाई मतलब थिएन । सायद ऊ कतै रुँदै थिई कि ? भीडबाट केही महिलाले समाको चरित्रमा पनि प्रश्न उठाएर कुरा गरेको पनि सुनें, जसले मलाई अझै विक्षिप्त बनायो । तर, म केही गर्न वा बोल्नसक्ने हालतमा थिइनँ ।
एकैछिनमा गाडी रोकियो । मलाई प्रहरीले भ्यानमा राखेर अस्पताल लग्यो र त्यहाँबाट प्राथमिक उपचार गरेर थानामा । समा कता गई, मलाई थाहा भएन ।
त्यो रात न मलाई भेट्न कोही आयो न त कसैले मलाई केही खानेकुरा वा सुत्न एउटा ब्लाङ्केट दियो । चिसो छिंडीमा एउटा किताब पनि त थिएन मन भुलाउन । म किताबको एडिक्ट भैसकेछु भन्ने मलाई लाग्यो । किनकि किताब भयो भने भित्री–बाहीरी सबै पीडा भुल्नसक्छु भन्ने लागिरहेको थियो त्यसबखत मलाई ।
राति १० बजेतिर मलाई राखिएको सेलको ढोका खुल्यो र एक हुल प्रहरी भित्र छिरे ।
आँखामा लागेका चोटहरुको कारणले मलाई मानिसको अनुहार चिन्न समस्या भैरहेको थियो । यद्यपि इन्स्पेक्टर हुनुपर्छ, अगाडि बढ्यो र सोध्न लाग्यो- ‘ल भन्नुहोस् सर, के के भएको थियो गाडीमा ?’
प्रहरीको यस्तो शिष्ट र मर्यादित भाषाले मलाई केही भरोसा दियो । मैले सीधा कुरा गरें । उनी मेरी साथी हुन् र मैले उनीलाई किस गरेको हो गालामा । तर, उनी एक्कासि रिसाइन् र मलाई एक चड्कन हानिन्, त्यत्तिकैमा सबै यात्रु ममाथि खनिए ।’
‘साले खाते ! खलाँसी भएर गाडीमा चढेका केटीमाथि हातपात गर्ने’ भन्दै त्यो इन्स्पेक्टरले मलाई गालामा एक झापड हान्यो । उसको झापडले भन्दा मलाई उसको व्यवहारमा यु-टर्न आएको देख्दा चट्याङले लागे झैं भयो ।
त्यसपछि उनीहरुले मलाई एउटा कागजमा हस्ताक्षर गर्न भने । कागजमा के लेखिएको थियो, न सोध्न सक्ने आँट थियो न त पढ्न र बुझ्न सक्ने आँखा र मन नै । त्यसैले गरिदिएँ साइन, चाहे डेथ वारेन्ट नै होस् न मलाई मतलब थिएन । मतलब थियो त, तिनीहरु चाँडै त्यहाँबाट जाऊन् भन्ने ।
इन्स्पेक्टरले हिँड्ने बेलामा फेरि थप्यो, ‘बलात्कार केसमा पर्छ साले, गयो अब २० वर्षको लागि मामाघर ! कडा जाहेरी (दरखास्त) बनाओ है केटा हो । यसको गुरुजीलाई पनि भोलि ल्याउनुपर्छ है खुरमु¥याएर ।’
हस साहब !
जब सुनसान भयो तब टाढाबाट छरिएको फिलामेन्ट बल्बको उज्यालो नै मेरो साथी भयो । अघिदेखि पिसाबले च्यापेको कुरा बल्ल दिमागले सूचना दियो । कसलाई सोध्ने ट्वाइलेट कता छ भनेर । फेरि को नै थियो त्यो अँध्यारोमा त्यहाँ मलाई लिएर जाने । त्यसैले म अँधेरोमा छामछाम छुमछुम गर्दै पिसाब गन्हाएको ठाउँतिर लागें । एकैछिनमा बुझ्न कठिन भएन कि अट्याच-ओपन ट्वाइलेट कोठाकै एक कुनामा मलाई स्वागत गर्न बसिराखेको छ भन्ने कुरा ।
फर्केर आएपछि मलाई आफ्नो मोबाइलको याद आयो र बल्ल पो हेक्का भयो कि मोबाइल फोन त्यही दंगामा खसेछ भन्ने । नत्र २–४ फोन त पक्कै आइसक्ने थियो । मलाई अब भने जीवन निकै अत्यासपूर्ण लाग्यो । रोउँ वा चिच्याउँ झैं लाग्यो । कता कता समा नै मेरो यो अवस्थाकी कारक हो भन्ने पनि लाग्यो र उसँग रिस पनि उठ्यो । तर, फेरि गल्ती त आफैंबाट भएको थियो भन्ने कुरा महसुस भैहाल्यो ।
वास्तवमा आफ्ना गल्तीहरु आत्मसात गर्नसक्ने हो भने यो संसारमा घटित हुने अधिकांश झै-झगडा र द्वन्द्व आफैं समाधान हुने थिए होलान् । तर, आफूलाई सबैभन्दा बुद्धिमान सम्झने मानिसले आफू कम बुद्धि भएको वा आफूले गल्ती गरेको भनेर के स्वीकार गर्न सक्थ्यो र ? त्यसैले दुवै पक्षमा मपाईंत्वको दम्भ सवार हुनपुग्छ र लड्न तयार हुन्छन् आफैंलाई मेटाउने गरी ।
मानिसको ‘इगो’को अगाडि अरु सबै कुरा गौण हुने रहेछ, चाहे त्यसमा आफ्नो सबैभन्दा महत्वपूर्ण सम्बन्ध नै दाउमा लागोस् वा चाहे आफूले जीवनभरको मेहनत र पूँजी लगाएर आर्जन गरेको चिज नै गुमाउन किन नपरोस् । मलाई आफूभित्र आफैं हारे जस्तो, आफैं टुटे जस्तो महसुस हुन लाग्यो । हैन यो जीन्दगी के हो ? फेरि माया चाहिँ के हो नि ? ‘के यो माया हो ?’ बोलको गीत सुनेको थिएँ कतै । त्यो गीतको गहिराइ कति रहेछ, आज हेक्का भए झैं लाग्यो ।
तर, केही छिनमा मनमा अनौठा विचारहरु आउन लागे । विस्तारै मलाई त जीवन रोमाञ्चक पो लाग्न थाल्यो । जीवनका रंगीबिरंगी अवयव देख्दा त जीवनलाई आफैं टुलुटुलु नियाल्न पो लागें म त । आज पहिलो पटक धेरै वर्षपछि जीवनलाई यति धेरै आयामिक बनाइदिएकोमा भगवानलाई धन्यवाद दिन मनलाग्यो । तर, अफसोस भगवानसँग मेरो खासै जम्दैन्थ्यो ।
अचानक फेरि समाको याद आयो । खासमा प्रेमिका समाभन्दा पनि गुरु रिपुको याद आएको थियो मलाई । जीवनको यति सघन मोडमा पनि रमाउन सिकाउने प्रेरणाकी स्रोत त उही नै थिई, म विश्वस्त भएँ । रिपु देवी म तिमीलाई कहिल्यै बिर्सने छैन, जसले जीवनलाई जिउने कला दियौ ।
मलाई एकपटक फेरि प्रेमको बारेमा बहस गर्न मनलाग्यो आफैसँग । के हो प्रेम ? आज मलाई के लाग्नथाल्यो भने मानिस मनलाई होइन भूमिकालाई प्रेम गर्छ । साँचो प्रेम भन्ने हुँदैन भन्ने त पहिल्यै लाग्ने गरेको थियो । प्रेम कुनै न कुनै आशक्तिबाट शुरु हुन्छ र बानीमा बदलिन्छ भन्ने विचार राख्थें म । तर, आज भने आफ्नै परिभाषालाई अझै परिष्कृत गरेर प्रेम भूमिकामा हुने रहेछ भन्ने निष्कर्षमा पुगें ।
प्रेम शारीरिक सुन्दरतामा हुन्छ भनेर कसैले भन्छ भने पनि के रुपवान केटीले लामो समयसम्म दुश्चर व्यवहार देखाइरही भने उसको साँचो प्रेम कता गायब हुन्छ ? के कुनै केटीलाई आफ्नो बुबालाई प्रेम गर्छे भन्नुको अर्थ के ऊ त्यही उमेर र रुपको मानिसलाई प्रेमीको भूमिकामा स्वीकार गर्ली ? वा कुनै केटीले आफ्नै बहिनीलाई आफ्नी सौता वा देवरानीको रुपमा उत्तिकै माया दिन सक्ली ? के एउटा केटोले आफ्नी प्रेमिकालाई साथीकी प्रेमिका भई भने उस्तै माया गर्न सक्ला ? अहँ सक्दैन ।
किन ब्रेक अप भएपछि आफ्नो प्रेमी वा प्रेमिका मन पर्न छाड्छ । आखिर उसको मन र शरीर त उही हो । किनकि उसको भूमिका परिवर्तन भयो । उसले पहिले प्रेमीको भूमिका निभाउँथ्यो भने अब साथीको मात्र वा नबोल्ने साथीको मात्र वा कतै कतै त शत्रु झैं पनि भूमिका निभाउन लाग्यो । भूमिका बदलिनासाथ बदलिने प्रेमलाई कसरी भन्ने कि आत्मा आत्माको मिलन वा मनको पवित्र मिलन भनेर ?
तर, कति मानिसहरु सच्चा र इमानदार भूमिका निभाउने खालका भने हुनसक्छन् । खासमा ममा भावनाको बाढी नै खनिएको थियो र यदि साथमा कपीकलम हुन्थ्यो भने आजबाटै मेरो साहित्यिक उडानको शुरुवात हुनसक्थ्यो । जेलमा भित्रिएका धेरै मानिसहरु किन महान लेखक भएर बाहिरिंदा रहेछन् भन्ने थाहा भए झैं लाग्यो मलाई ।
याे पनि पढ्नुस् : नलेखिने प्रेमकथा